Home » बेनी–जोमसोम सडकमा अब ‘टाइमकार्ड’

बेनी–जोमसोम सडकमा अब ‘टाइमकार्ड’

by newnagarikdiary
0 comment

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ ।
म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिर–घाँसा खण्डमा विस्फोटक पदार्थको प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्न २०७९ वैशाख ७ देखि २० गतेसम्म दैनिक चार घण्टा सवारी साधन आवतजावत बन्द गर्न लागिएको हो ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले घाँसा–काभ्रेभिर खण्डमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरेर सडक विस्तारको काम गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसअघि गत माघ १० गतेदेखि बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको ‘टाइमकार्ड’ चैतै दसँैमा मुस्ताङ जाने आउने तीर्थयात्री र पर्यटकको चाप बढेपछि चैत १५ गतेदेखि हटाइएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक निर्माणको कामलाई तीव्रता दिन र सुरक्षालाई ध्यानमा राखेर सवारी साधन र काम गर्ने समयतालिका बनाइएको बताए ।

विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ ।

हालसम्म मुस्ताङको छवटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ । ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये छवटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन् । ७६ किलोमिटर दूरीको बेनी–जोमसोमको चारवटामध्ये एकवटा प्याकेजको कालोपत्र सकिन लागेको र अर्को प्याकेज कालोपत्रको तयारीमा छ ।

आठवटा मोटर चल्ने पुल निर्माण सकिएका छन् । थप एकवटा निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधीन रहेका छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाअन्तर्गत बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि वैशाख ३ गतेदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । २०७९ साल वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिनेछ । बिहान ११ देखि दिउँसो ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ ।

Related Articles

Leave a Comment