Home » पहिलो संसद अधिवेशन आह्वान – के छ संसद सचिवालयको तयारी

पहिलो संसद अधिवेशन आह्वान – के छ संसद सचिवालयको तयारी

by newnagarikdiary
0 comment

राष्ट्रपति विद्यादेवी भण्डारीले पुष २५ गते दिउँसो १ बजेका लागि पहिलो संसद अधिवेशन आह्वान गर्नुभएको छ भने नवनियुक्त प्रधानमन्त्रीका लागि पुष २९ गते विश्वासको मत लिने समय तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुष २५ गते दिउँसो १ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २९ गते विश्वासको मत लिनुहुने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नवनियुक्त प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयमा सहमती भएको छ ।

संवैधानिक व्यवस्था
संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ । नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने प्रावधान अनुरुप मन्त्रीपरिपषद गठन भएको छ । प्रतिनिधिसभाको कूल दुई सय ७५ सिटमध्ये बहुमत पुर्याउन एक सय ३८ सिट ल्याउनुपर्छ । कुनै एक दलले यो मत पुर्याउन नसकेका कारण सोही धाराको उपधारा २ मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेका अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाका सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । त्यस्तै उपधारा ३ मा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ९४० बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यो अनुसार ७६ को २ बमोजिम सात दलको समीकरणमा सरकार गठन भई पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । यसै प्रावधान अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले पुष २५ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको छ भने नवनियुक्त प्रधानमन्त्रीका लागि पुष २९ गते विश्वासको मत लिने समय तोकिएको छ ।

संघिय संसद सचिवालयको तयारी पुरा
संघीय संसद सचिवालयले संसद अधिवेशनका लागि तयार रहेको बताएको छ । संघीय संसद सचिवालयका अनुसार सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी समेत पूरा भइसकेको छ ।

१५ दिनभित्र हुने सभामुख र उपसभामुखको चुनाव
निर्वाचनपछिको पहिलो संसद् बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुनेछ । संविधानको धारा ९५ को उपधारा २ मा राष्ट्रिपतिले प्रतिनिधिसभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने उल्लेख छ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्नेछ । सभामुख र उपसभामुखमध्ये एकजना महिला हुने गरी निर्वाचन गर्नुपर्ने तथा सभामुख र उपसभामुख फरक दलबाट प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

Related Articles

Leave a Comment