Home » किन बन्दैन समयमा सडक ?

किन बन्दैन समयमा सडक ?

by newnagarikdiary
0 comment

दुई जिल्ला अर्थात् प्रदेश राजधानी पोखरासँग जोड्ने कास्कीको पुम्दीभुम्दी र स्याङ्जाको फेदीखोला सडक ६ वर्षदेखि अलपत्र छ ।निर्माण कम्पनीले तोकिएको समयमै काम गरिदिएको भए उक्त सडक २०७५ असार ३० मा नै सम्पन्न हुने थियो । तर, ठेकेदारका लापारबाहीका कारण अहिलेसम्म अलपत्र छ । सडकको प्रत्यक्ष रेखदेख पूर्वाधार विकास कार्यालय कास्कीले गर्दै आएको छ ।

दुई जिल्लाकै महत्त्वपूर्ण मानिएको यो सडक लामो समयसम्म अलपत्र परेपछि संघीय सरकारले २०७५ मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । प्रदेशमा हस्तान्तरण भएपनि पर्याप्त बजेट नदिने र ठेकेदारले नै वेवास्ता गर्दा सडक अलपत्र परेको पूर्वाधार विकास कार्यालयका प्रमुख डा.महेन्द्र बानियाँले बताए । ‘हामीले सडक निर्माणको विषयमा ठेकेदारसँग बारम्बार वार्ता गर्‍यौं,’ उनले भने, ‘जहिले हुन्छ–हुन्छ मात्र भन्ने तर काम नगर्ने । अहिले निर्माण कम्पनी सम्पर्कविहीन छ । अब बैंक धरौटी नै फिर्ता गर्छौं ।’

यस योजनाको लागि पहिलोपटक संघीय सरकारले २०७३ मा ठेक्का लगाएको थियो । तर समयमै काम नगरेपछि २०७७ जेठ ३० मा सम्पन्न गर्ने गरि दोस्रोपटक म्याद थप भयो । तर पनि सडक बनेन । कार्यालयले पुनः २०७७ मंसिर २९ मा सम्पन्न हुने गरि म्याद थप गरिएको जनाएको छ । ६ करोड २२ लाख १३ हजार ५ सय ९० ठेक्का सम्झौता रकम रहेको यस योजनाको लागि चालु आर्थिक वर्षमा २ करोड ३५ लाख रुपैयाँ विनियोजन भएको बानियाँले बताए । शंकरमाली निर्माण सेवाले निर्माणको जिम्मा लिएको हो । यस्तै, २०७४ वैशाख २६ मा सम्झौता भई २०७५ फागुन ३० मा सम्पन्न हुनुपर्ने फुलबारी–भलाम–बाटुलेचौर सडकलाई दुईपटकसम्म म्याद थप गरिएको छ । तोकिएको समयमै निर्माण नभए पनि २०७६ चैत १५ र २०७७ असोज १५ सा सम्पन्न गर्ने गरि पटकपटक म्याद थप गरिएको कार्यालयका इन्जिनियर अनुप थापाले बताए । उनका अनुसार ४ करोड ४१ लाख २ हजार ५ सय ५३ ठेक्का सम्झौता रकम रहेको यस योजनाको लागि चालु आवमा ५ लाख रुपैयाँ मात्र विनियोजन भएको छ ।

‘संघबाट हस्तान्तरण भई आएका योजनाको लागि बजेट संघले नै उपलब्ध गराउने हो’ उनले भने, ‘आवश्यक बजेट आउँदैन, योजना यसै हराउँछन् । निर्माण कम्पनीको पनि लापारबाही उस्तै छ । एक वर्ष बजेट परेको छ भने अर्को वर्ष काटिन्छ । बजेटले निरन्तरता नपाउँदा पनि फिल्डमा काम गर्न गाह्रो छ ।’ उनले निर्माण कम्पनीलाई कारबाही गर्ने भन्दै काम गर्न अनुरोध गर्दा पनि वेवास्ता गर्ने गरेको बताए । यो सडकको निर्माणको जिम्मा रसुवा क्रेटिभ जेभीले लिएको हो । फुर्सेखोला–रायोदी–मट्टीखान पनि दुई जिल्ला जोड्ने सडक हो । २०७४ असार २८ मा सम्झौता भएको यस सडकको सम्पन्न हुनुपर्ने मिति २०७६ पुस २५ रहेको छ । तर, तोकिएको समयमै काम नभएपछि कार्यालयले २०७७ फागुन १ सम्मलाई म्याद थप गरेको थियो । निर्माण कार्यको जिम्मा एसबीए एसपी सिरुवा जेभीले लिएको छ ।

Related Articles

Leave a Comment