Home » नवरात्र छैठौं दिन: रोग, शोक, सन्ताप र भय नष्ट गर्ने देवी कात्यायनीकाे पुजा गर्ने दिन

नवरात्र छैठौं दिन: रोग, शोक, सन्ताप र भय नष्ट गर्ने देवी कात्यायनीकाे पुजा गर्ने दिन

by newnagarikdiary
0 comment

शीर्षक: नवरात्र छैठौं दिन: रोग, शोक, सन्ताप र भय नष्ट गर्ने देवी कात्यायनीकाे पुजा गर्ने दिन

वडा दशै अन्तर्गत नवरात्रको षष्ठी तिथिमा माता कात्यायनी देवीको पूजा आराधना गरिन्छ ।

नेपालीको महान् पर्व वडा दशैँको सोमबार छैठौं दिन देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा माता कात्यायनी देवीको पूजा आराधना गरिँदैछ । माता कात्यायनी देवीको पूजा अर्चना गर्नाले रोग, शोक, सन्ताप र भय नष्ट हुनुको साथै जन्मको समस्त पाप पनि नष्ट हुन्छ भन्ने मान्यता छ । माता कात्यायनीको कृपाले नै सबै कार्य पूरा हुन्छ भन्ने धार्मिक विश्वासका साथ कात्यायनी देवीको पूजा आराधना गरिन्छ । पौराणिक किम्वदन्ती अनुसार कात्य गोत्रमा विश्वप्रसिद्ध महर्षि कात्यायनले भगवती पराम्बाको उपासना गरे र उनले कठोर तपस्या गरी पुत्री प्राप्तिका लागि माता पराम्बाको उपासना गर्दा माता पराम्बा उनको भक्ति देखेर खुशी भएर छोरीको रुप लिएर उनको घरमा जन्म लिइन यसकै कारण यी देवीको नाम कात्यायनी रहन गएको भनिन्छ ।

कात्यायनीको उपासना र आराधनाले भक्तहरुले सजिलै धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्न सक्छन् । संस्कृतिविदको अनुसार यी देवीको उपासना गर्नाले परम पदको प्राप्ति हुन्छ ।

चार हात भएका यी देवीका दायाँतर्फको माथिल्लो हात अभयमुद्रा रहेको छ तथा तल्लोतर्फको हात वरमुद्रामा छ । माताको बायाँतिरको माथिल्लो हातमा तलवार र तल्लो हातमा कमलको फूल छ । त्यसैले मन, वचन, कर्मले विधिविधानपूर्वक शुद्ध भई मन्दिर र शक्तिपीठहरुमा माता कात्यायनी देवीको पूजा आराधना गर्नुपर्दछ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ ।महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा समेत रहीआएको छ ।

Related Articles

Leave a Comment