Home » नेपालको मतदान युक्रेनको पक्षमा

नेपालको मतदान युक्रेनको पक्षमा

by newnagarikdiary
0 comment

नेपालसहित १४३ मुलुकले गरे रुसको विपक्षमा मतदान ।

काठमाडौँ — संयुक्त राष्ट्र संघ महासभाले युक्रेनका ४ क्षेत्र गाभ्ने रुसी प्रयासको आलोचना गरेको छ । बुधबार महासभामा भएको मतदानमा नेपालसहित १४३ देशले रुसी कदमको निन्दा गर्ने संकल्प प्रस्तावमा मतदान गरेका हुन् । चीन, भारतलगायतका ३५ देश भने मतदानमा अनुपस्थित रहेका थिए ।

रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले भने प्रस्तावको विपक्षमा मतदान गरेका थिए । दक्षिण एसियाली मुलुकमध्ये अफगानिस्तान, बांग्लादेश, मालदिभ्स र भुटानले रुसी कदमको भर्त्सना गरेका छन् भने श्रीलंका र पाकिस्तान पनि मतदानमा अनुपस्थित भएका थिए ।

मतदान सांकेतिक भए पनि युक्रेनमाथि आक्रमण सुरु भएयता रुसविरुद्ध सबैभन्दा बढी मत परेको बीबीसीले जनाएको छ । गत हप्ता राजधानी मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गरेका थिए ।

राष्ट्र संघको ११ औं विशेष सत्रलाई लागि सम्बोधन गर्दै नेपालका स्थायी प्रतिनिधि अमृत राईले राष्ट्र संघको बडापत्रले स्थापना गरेको सिद्धान्तहरु सार्वभौमिकता, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र अनाक्रमता उल्लंघन हुननसक्ने बताएका छन् ।

‘युक्रेनमा भएको हिंसात्मक घटना र द्वन्द्वले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि गम्भीर जोखिम सिर्जना गरेको छ । युक्रेनको सन्दर्भमा नेपालको धारणा स्पष्ट छ राष्ट्र संघको बडापत्रले सुनिश्चित गरेको सार्वभौमिकता, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता, अनाक्रमता उल्लंघन हुनसक्दैन र सबै देशले त्यसलाई सधै सम्मान गर्नुपर्छ । त्यसमा कुनै यदि, तर लागू हुँदैन’ राईले मतदान अघि भने ‘राष्ट्रसंघीय बडापत्रले सबै सदस्यहरुले सबै अन्तर्राष्ट्रिय विवादको मामिलाहरु शान्तिपूर्ण माध्यमबाट र अन्तर्राष्ट्रिय शान्ति तथा न्यायलाई कुनै खतरामा नपर्ने तौरतरिकाबाट समाधान गर्नुपर्ने तोकिदिएको छ । ’

राईले शान्तिपूर्ण सहअस्तित्व, अनाक्रमता, अहस्तक्षेप, सार्वभौमिताको सम्मान, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता नेपालको विदेश नीतिको आधारभूत सिद्धान्तहरु भएको बताए ।

‘यी सिद्धान्तहरु शान्ति, सुरक्षा र विश्व शान्तिका आधारभूत विषय हुन् । नेपाल युक्रेनको विषयमा संवाद तथा कूटनीति अवस्था सिर्जना गर्नका लागि आह्वान दोहोर्‍याउँछ । त्यो नै द्वन्द्व समाधान गर्ने र दीर्घकालीन राजनीतिक समाधान खोज्ने एउटा मात्रै बाटो हो । ’

रुसी आक्रमणको बारेमा दक्षिण एसिया भने विभाजित देखिएको छ । भारत, पाकिस्तान र श्रीलंका मतदानमा अनुपस्थित भएका छन् भने नेपालसहित बांग्लादेश, भुटान, माल्दिभ्स र अफगानिस्तानले भर्त्सना गर्ने प्रस्तावको पक्षमा मतदानमा गरेका छन् ।

Related Articles

Leave a Comment