Home » पोखरामा युवतीको ‘रहस्यमय’ मृत्यु, शवको नजिकै भेटियो चिट

पोखरामा युवतीको ‘रहस्यमय’ मृत्यु, शवको नजिकै भेटियो चिट

by newnagarikdiary
0 comment

पोखरा — बन्द कोठाबाट दुर्गन्ध आउन थालेपछि मंगलबार पोखरा–१ अधिकारी टोलका छिमेकीले प्रहरीलाई खबर गरे । प्रहरीले ताला फोरेर हेर्दा किशोरीको शव खाटमा लडिरहेको अवस्थामा भेटियो । ताला फोरेपछि प्रहरीले खानतलासी गर्दा बाजुराको जगन्नाथ गाउँपालिका–१ बस्केनाकी १८ वर्षीया निरुता शाहको शव भएको पत्ता लगायो । शव छेउमा उनका श्रीमान् गणेश विष्टले लेखेर छाडेको चिट थियो ।

प्रहरीका अनुसार चिटमा गणेशले आफू ठेकेदारकोमा काम गरेको पैसा मागेर फर्किंदा श्रीमती कोठाभित्रै झुन्डिरहेको अवस्थामा फेला परेको उल्लेख गरेका छन् ।चिटमा भनिएको छ, ‘उनकै लागि घरपरिवार त्यागेर आएँ । उनले मलाई छाडेर गइन् । म पनि बाँचेर अर्थ छैन । म गण्डकीमा हाम फाल्छु । लास भेटियो भने हामी दुवैलाई सँगै जलाइदिनू ।’

निरुता र गणेश उक्त कोठामा भाडामा बस्दै आएका थिए । निरुताको परिवारले भने उनको आत्महत्या नभई हत्या नै भएको दाबी गरेको छ । घटनाबारे जानकारी पाएपछि निरुताका बुबा नन्दबहादुरले बिहीबार पोखरा आएर गणेशविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका छन् । २७ वर्षीय गणेश भने हालसम्म भेटिएका छैनन् । उनले प्रयोग गर्ने फोन ‘स्विच्ड अफ’ छ ।

नन्दबहादुरका अनुसार उनले निरुतालाई पढाउनका लागि कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुख्खड बजारस्थित आफ्नो काकाको घरमा राखेका थिए । त्यतिबेलै कालीकोटको नरहरिनाथ नगरपालिका–१ घर भई सुख्खडमा आफ्नो दाइसँग बस्दै आएका गणेशसँग निरुताको चिनजान भयो । दुवैबीच माया बस्यो । कक्षा ११ को परीक्षा सकेपछि २०७७ भदौमा दुवैले भागेर विवाह गरे । गणेशले कालीकोटकै घरमा निरुतालाई लगे । गत वैशाखमा निरुता माइत फर्किइन् । उनको शरीरभरि नीलडाम थियो । ‘केटो आबारा रहेछ,’ नन्दबहादुरले भने, ‘सानैमा विवाह गर्नु हुँदैन, भविष्य बिग्रन्छ भन्दा नमानेपछि हाम्रो त्यति धेरै बोलचाल पनि थिएन । फर्केर आइसकेपछि जे भयो भयो भनेर घरमै राखेका थियौं ।’

गत भदौ २ मा निरुता घरबाट भागिन् । उनले गणेशसँगै भागेको सूचना आमा र दिदीलाई दिइन् । भदौ २४ मा साथीहरूलाई फोन गरेर आफूहरू पोखरामा बसिरहेको निरुताले बताएकी थिइन् । मंगलबार एक्कासि छोरीको मृत्युको खबर सुनेपछि नन्दबहादुर बुधबार बिहान बाजुराको कोल्टी विमानस्थलबाट नेपालगन्जसम्म जहाजमा आए । नेपालगन्जबाट बस चढेर बिहीबार बिहान पोखरा आइपुगेका हुन् । उनी आफ्नी छोरीको हत्या नै भएकोमा विश्वस्त छन् । ‘आत्महत्या भएको भए भित्रबाट चुकुल लगाएको हुनुपर्ने,’ उनले भने, ‘बाहिरबाट चाबी लगाइएको छ । यो नियोजित रूपमा भएको हत्या हो ।’ गणेशले निरुतालाई मार्ने उद्देश्यले नै फकाइफुल्याई कोही आफन्त नभएको ठाउँ ल्याएर राखेको उनको दाबी छ ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमाल पोस्टमार्टम रिपोर्टपछि मात्रै हत्या वा आत्महत्या भन्ने खुल्ने बताउँछन् । ‘घाँटीमा नीलडाम देखिएको छ, अन्यत्र चोटपटक छैन,’ उनले भने, ‘झुन्डिएको हो कि अरूले नै थिचेको भन्ने पोस्टमार्टमपछि नै खुल्छ ।’ उनका अनुसार निरुताको शवनजिकै ‘राधेराधे’ लेखिएको सल भेटिएको थियो । निरुताको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । पोस्टमार्टमको रिपोर्ट शुक्रबार आउने जनाइएको छ ।

Related Articles

Leave a Comment