Home » आज श्रावण शुक्ल पक्षको पञ्चमी- नागपञ्चमी

आज श्रावण शुक्ल पक्षको पञ्चमी- नागपञ्चमी

by newnagarikdiary
0 comment

शिर्षक: आज श्रावण शुक्ल पक्षको पञ्चमी- नागपञ्चमी

श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवता का लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ ।

नागपञ्चमी श्रावण शुक्लपक्षको पञ्चमीका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको दैलामा अष्ट नाग (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख) साथै गँगटो, बिच्छी जस्ता विषालु जीवको मूर्ति अङ्कित तस्वीर विशेष पूजासहित टाँस्ने चलन छ। यसरी विधिपूर्वक नागपूजा गरेर घरको दैलोमा टाँस्दा सर्पले नडस्ने, घरमा आगो र चट्याङको डर नहुने जनविश्वास पनि रहँदै आएको छ ।

विशेष गरेर यस दिनदेखि वर्षायामको समाप्ति हुने जनविश्वास रहँदै आएको छ । नागपञ्चमीको प्रचलन कहिलेबाट भयो भन्ने सम्बन्धमा विभिन्न खालका किंवदन्तीहरू पाइन्छ। विशेषत: वैदिक कालदेखि नै नागलाई सर्पका राजाको रूपमा पूजा गर्दै आएको हो भन्ने विश्वास रहेको छ ।

महाभारतमा परीक्षित नामका राजालाई नागले डसेर मृत्यु भएपछि उनका छोरा जनमेजयले संसारका सम्पूर्ण सर्प मार्न यज्ञ लगाएर यज्ञमा भष्म बनाउन खोजेको अवस्थामा इन्द्रसँगै आएका अस्तिकाले माफी मागेपछि यज्ञमा हवन हुन लागेका सम्पूर्ण सर्पहरू बाँचेकाले श्रावण शुक्लपक्षको पञ्चमीका दिन विशेष पूजापाठ गरिएको भन्ने विश्वास रहेको छ।

कसै–कसैले यसलाई पानीसँग जोडेका छन्। नाग रिसाए भने पानीको अभाव हुने हुँदा सम्पूर्ण जीव, जगत अप्ठ्यारोमा परेको बेला नागले पानी पारेर सबैको रक्षा गरेको कुरा किंवदन्तीमा पाइन्छ। बहुमूल्य मणिलाई शिरमा धारण गरेको नागलाई शिव, विष्णु, गणेश, गोरखनाथ, कृष्ण मत्स्येन्द्र नाथका कथामा समेत प्रसङ्ग जोडिएको कारण नाग र नागपञ्चमीको महत्त्व बढेको बताइन्छ।

काठमाडौं उपत्यकामा भने नाग रिसाए भने चोभारमा पहिरो जाने र पहिले जस्तै उपत्यकामा पानी जम्ने र समस्या आउन सक्छ भनेर नागलाई विधिपूर्वक पूजाआजा गर्ने गरेको किंवदन्ती छ ।

यिनै विश्वासले गर्दा घरको जग हाल्दा, घर निर्माण गर्दा पहिला नागलाई पूजा गर्ने र नागको शिरलाई विशेष ख्याल गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ। विष्णु भगवान, शिव र देवीदेवतासँग समेत नागको सम्बन्ध रहेको जनविश्वास छ त्यसैले नागलाई शक्ति र देवताको रूपमा लिने र पूजापाठ गर्ने गरेको पाइन्छ।

Related Articles

Leave a Comment