Home » टुङ्गायो गठबन्धनले सीट बाडफाँटको काम

टुङ्गायो गठबन्धनले सीट बाडफाँटको काम

by newnagarikdiary
0 comment

कांग्रेसलाई ८४, माओवादीलाई ४७, एकीकृत समाजवादीलाई १९ र जनमोर्चालाई २ सिटमा सहमती,१३ सिटमा लोसपासँग थप छलफल गरी टुंग्याउन  कांग्रेसलाई जिम्मा

काठमाडौँ — सत्तारूढ गठबन्धन दलले दुई महिनाको प्रयासपछि प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी बाँडफाँट गरेका छन् । गठबन्धनबाट जसपा बाहिरिएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाँट गरेका हुन् । मधेसको अर्को शक्ति लोसपालाई समेत गठबन्धनमा सामेल गर्ने गरी दलहरूले १३ सिटको टुंगो लगाउन बाँकी राखेका छन् ।

शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले गरेको सहमतिअनुसार कांग्रेसले ८४ सिट लिएको छ । त्यस्तै माओवादीले ४७, एकीकृत समाजवादीले १९ र जनमोर्चाले २ सिट पाउने भएका छन् । सप्तरी १ र २, सिरहा ४, धनुषा २ र ३, महोत्तरी ३ र ४, सर्लाही १, बारा २ र ३, पर्सा १ र ३ तथा बाँके १ मा सिट बाँडफाँट गरिएको छैन ।

त्यस्तै, प्रदेशसभातर्फ प्रदेश १ मा कांग्रेस २८, माओवादी १६ र एकीकृत समाजवादीले ११ सिट लिने सहमति बनेको छ । मधेसमा २४ सिटको बाँडफाँट भएको छैन भने कांग्रेसले १७, माओवादीले १२ र एकीकृत समाजवादीले ११ सिटमा उम्मेदवारी दिने सहमति भएको छ । वाग्मतीमा कांग्रेसले ३५, माओवादीले २० र एकीकृत समाजवादीले ९ सिटमा उम्मेदवारी दिने तयारी छ ।

गण्डकीमा कांग्रेसले २३, माओवादीले ११ र एकीकृत समाजवादीले २ सिटमा उम्मेदवारी दिने भएका छन् । त्यस्तै, लुम्बिनीमा कांग्रेसले २८, माओवादीले १८, कर्णालीमा कांग्रेसले ११, माओवादीले ९ र एकीकृत समाजवादीले ३ तथा सुदूरपश्चिममा कांग्रेसले १३ र माओवादीले १३ सिटमा उम्मेदवारी दिने सहमति बनेको छ । शनिबार बस्ने गठबन्धन बैठकले सहमतिलाई अन्तिम रूप दिने तयारी रहेको नेताहरूले जनाएका छन् ।

लोसपासँग समझदारी बनाउन माओवादी र एसले प्रधानमन्त्री शेरबहादुर देउवालाई अख्तियारी दिएको माओवादी नेता देव गुरुङले बताए ।

देउवाले लोसपालाई प्रतिनिधिसभामा १० र प्रदेशसभामा १९ सिट दिने प्रस्ताव गरेका छन् । लोसपा नेता शरतसिंह भण्डारीले प्रधानमन्त्रीको प्रस्तावमा आफूहरू सकारात्मक भएको बताए । ‘केन्द्रीयस्तरकै नेता विशेषको हकमा गठबन्धन लचिलो हुनुपर्छ भन्ने हाम्रो प्रस्ताव छ,’ उनले भने ।

लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताले भने जसपा बाहिरिइसकेपछि आफ्नो पार्टीलाई मधेस प्रदेशमा यसअघि जितेको निर्वाचन क्षेत्रसहित १५ र प्रदेशमा ३० सिट दिनुपर्ने प्रस्ताव गरेका थिए ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट संख्यामा समझदारी बनेको बताए । ‘सत्ता गठबन्धन दलबीच सिट संख्याका बारेमा समझदारी बनेको छ, लोसपासँग कुरा मिलेपछि संख्या र निर्वाचन क्षेत्रमा भएको सहमतिलाई औपचारिकता दिइनेछ,’ उनले भने । सिट संख्या र निर्वाचन क्षेत्रको विषय नमिल्दा जसपा शुक्रबारदेखि नै सत्ता गठबन्धनबाट बाहिरिएको थियो । सरकारमा रहने कि नरहने भन्ने नैतिक संकट उत्पन्न भएकाले गठबन्धनमा नरहने औपचारिक घोषणा भने गरिनसकेको जसपा नेताहरू बताउँछन् । यसअघि सत्ता गठबन्धनमा स्थान नपाएपछि लोसपाले एमालेसँगको समीकरणका लागि राजेन्द्र महतोको नेतृत्वमा कार्यदल बनाएरै गृहकार्य गरिरहेको थियो ।

सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै आएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपाको बहिर्गमनसँगै आफ्नो पार्टीका लागि केही सिट संख्या बढाउन सफल भएका छन् । यसअघि एकीकृत समाजवादीलाई १७ सिट दिन लागिएको थियो ।

जसपा अध्यक्ष उपेन्द्र यादव शुक्रबारको बैठकमा आफ्नो पार्टी गठबन्धनमा नरहने जनाउ दिएर बाहिरिएका थिए । आफ्नो दलका लागि मधेस प्रदेश नै चुनाव जित्ने मूल आधार क्षेत्र रहेको र त्यसमै कुरा नमिलेपछि गठबन्धनबाट बाहिरिनुपरेको ब्रिफिङ यादवले पार्टीको आन्तरिक बैठकमा राखेका थिए ।

Related Articles

Leave a Comment