Home » ११ देशका राजदुतको पोखरा भ्रमणले होलात पर्यटन उत्थान ?

११ देशका राजदुतको पोखरा भ्रमणले होलात पर्यटन उत्थान ?

by newnagarikdiary
0 comment

माधव पराजुली
आज विश्व पर्यटन दिवस । सन् १९८० देखि यस दिनलाई विश्व पर्यटन दिवसको रुपमा मनाइँदै आइएको छ । विश्व पर्यटन संगठनलाई संयुक्त राष्ट्रसंघले सन् १९७० मा यसै दिन अपनाएको दिनलाई मानेर सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसको रपमा मनाउदै आईएको छ । विश्वको सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक मूल्यका साथै दिगो विकासका लक्ष्य प्राप्त गर्न पर्यटन क्षेत्रले गर्न सक्ने योगदान र यस विषयमा जागरूकता बढाउन विश्वव्यापी रुपमा पर्यटन दिवस मनाइन्छ । ‘समावेशी विकासको लागी पर्यटन’ भन्ने मूल नाराकासाथ यसपालिको विश्व पर्यटन दिवस मनाइँदैछ । विश्व पर्यटन दिवसका अवसरमा यतिबेला ११ देशका राजदुत गण्डकी प्रदेशको राजधानी पोखरा भ्रमणमा हुनुहुन्छ । विश्व पर्यटन दिवसको अवसर पारेर यहाँ आउनुभएका विदेशी कूटनीतिक पाहुनाहरु यतिबेला पर्यटकीय शहर पोखरामा घुम्नमा व्यस्त हुनुहुन्छ । कोरोनाले थलिएको पर्यटन क्षेत्रमा अब कुनै त्रास नरहेको र निर्धक्क घुम्न जान सकिन्छ भन्ने सन्देश दिन गण्डकी प्रदेश सरकारले विभिन्न दर्जन मुलुकका नेपालस्थित दूतावासका राजदूत सहित विकास साझेदारका उच्च पदस्थ पदाधिकारी पोखरा निम्त्याएको हो ।
आइतबार दिउँसो पोखरा आउनुभएका उहाँहरुले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सँग छुट्टा छुट्टै शिष्टाचार भेट गरी मुख्यमन्त्रीले आयोजना गरेको रात्रीकालिन भोजमा सहभागी हुनुभयो । भोलिभल्ट अर्थात सोमबार छोटो दूरीको हाइकिङ समेत गर्नुभएका उहाँहरु दिनभर पर्यटन दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागीता जनाउनुभयो ।
दक्षिण एसियाकै पहिलो अपाङ्गमैत्री पदयात्रा मार्गमा हाइकिङ गरेको उक्त टोलीलाई स्थानीयवासीले पञ्चेबाजा सहित भव्य स्वागत गरे । राजदुतको टोलीले यहाँको आतिथ्यता,संस्कृती र प्रकृतिको खुलेर प्रशंसा गर्नुभयो । यहाँ बाट देखिने हिमाल र प्राकृतिक छटा,डाँडाकाडाँ अनि तालले सबैको मन लोभ्यायो । मनोरम हिम श्रृङखलाहरुको दृश्य देख्दा विदेशी पाहुनाहरु छक्क पर्दै नेपाल साँच्चिकै स्वर्ग रहेको प्रतिक्रिया जनाउदै एक पटक नेपाल भ्रमण गर्न सबैमा आव्हान समेत गर्नुभयो । पोखरा बसाईको क्रममा विभिन्न पर्यटकीय गतिविधिमा रमाउनुभएका उहाँहरुलाई पोखराले मोहनी नै लाग्यो ।
यति बेला यहाँ यूएइ, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्ट लगायतका मुलुकका राजदूत पोखराको भ्रमणमा हुनुहुन्छ भने दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव पनि यही टिममा हुनुहुन्छ । त्यस्तै यूएनका नेपालस्थित प्रतिनिधि , विकास साझेदार इसिमोड, यूनेस्को, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) लगायतका निकायका पदाधिकारी बाहेक सरकारका केही उच्च पदस्थ पदाधिकारी यहाँ हुनुहुन्छ । ११ देशका राजदुत सहितको विदेशी कुटनितिज्ञको पोखरा भ्रमणले पर्यटन उत्थान हुने ठुलो आशा गरिएको छ ।
विदेशी कुटनीतिक पदाधिकारी पोखरा आउँदा पर्यटनमा सकारात्मक सन्देश पुग्ने भन्दै पोखराका पर्यटन व्यवसायी निकै उत्साही छन् ् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले विदेशी कुटनीतिक पदाधिकारीहरको भ्रमणले कोभिड १९ ले थलिएको पर्यटन क्षेत्रलाई पुनःउत्थानमा ठुलो टेवा पुग्नुका साथै यस क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमै चिनाउन मद्दत पुग्ने बताउनुहुन्छ ।
पर्यटनको इतिहासमा सबैभन्दा ठूलो संकट बनेर आएको कोभिड–१९ ले विश्वको पर्यटन क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । यसले विश्वको अर्थतन्त्रमा करीब चार खर्ब अमेरिकी डलर बराबरको नोक्सान गरेको संयुक्त राष्ट्र संघको प्रतिवेदनले देखाएको छ । कोरोनाले थलिएको पर्यटन क्षेत्रमा विदेशी कूटनीतिज्ञको भ्रमणले गर्भिलो गण्डकी प्रदेश बारे अन्तर्राष्ट्रिय बजारमा सकरात्मक सन्देश फैलिने र पर्यटन क्षेत्रले गति लिने आशा गरिएको छ ।

Related Articles

Leave a Comment