Home » सुन्तलामा ‘औंसा किरा’ देखिँदा स्याङ्जाका कृषक चिन्तित

सुन्तलामा ‘औंसा किरा’ देखिँदा स्याङ्जाका कृषक चिन्तित

by newnagarikdiary
0 comment

स्याङ्जा । स्याङ्जामा उत्पादित सुन्तलामा औंसा किराको आक्रमण तिव्र देखिएको छ । सुन्तला र सुन्तलाजातका फल पाकेर टिप्ने बेलाका सुन्तलामा औंसाको प्रकोप देखिएपछि स्थानीय सुन्तला उत्पादक कृषक चिन्तित बनेका छन् ।

सुन्तला पाक्ने समयभन्दा अगावै सुन्तला पाकेको जस्तो देखिने र झर्ने क्रम बढेकाले सुन्तला परिक्षण गर्दा औंसाको प्रभाव देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए । “झरेका सुन्तलालाई खाडलमा पुर्नु वा प्लाष्टिकका थैलामा जम्मा पारेर हावा नछिर्नेगरी त्यसको मुख राम्ररी बाँधेर एकसाता घाममा राख्नुपर्छ ।” उनले भने, “किरालाई जमिनभित्र जाने वातावरण दिनु हुँदैन, अनि मात्र औंसा किरा नियन्त्रणमा ल्याउन सकिन्छ ।”

प्रयोग नगरिने पानीको ट्यान्की र गोबर ग्याँसको खाडलमा झरेका सुन्तला डुबाएर किरा नियन्त्रण गर्न सकिनेमा हमालले जोड दिए । औंसा किरा व्यवस्थापन लागि सबै कृषकहरुले अभियान सुरु गर्न जरुरी छ, एक÷दुई जनाले वेवास्ता गरे यो समस्या नहट्ने उनले सुनाए ।

एउटा औंसा किराले ५० देखि २ सय वटासम्म किरा उत्पादन गर्ने हुँदा यसको प्रभाव तिव्र फैलिने प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन कार्यालय प्रमुख माधवप्रसाद लम्सालको भनाई छ । औंसा किरा सुन्तला लगायत मौसम, निबुवा, जुनार लगायतका फलमा पनि देखिएका छन् । एउटा दाना फलमा १० देखि १५ वटासम्म औंसा किरा भेटिएको प्रमुख लम्सालले बताए ।

फल झर्ने क्रम तिव्र देखिएपछि कृषकका बगैंचामा पुगेका ज्ञान केन्द्र र सुपरजोनले किरा नियन्त्रण गर्ने विधि सिकाएको छ । केन्द्र र सुपरजोनले कृषकलाई झरेका सुन्तला संकलनका लागि प्लाष्टिकका थैला समेत प्रदान गरेको छ ।

केन्द्र र सुपरजोन कार्यालयका प्रमुखसहितका प्राविधिक टोलीले पुतलीबजार, भीरकोट र अर्जुनचौपारीका क्लष्टरमा पुगेर बगैंचा अनुगमनसहित सुन्तला कृषकसँग अन्र्तक्रिया गरेका छन् । उनीहरुले बगैंचा व्यवस्थापन, मलजल र समयमै प्रोटिन बेट लगायतका आवश्यक तत्व उपलब्ध गराउन सुझाव दिए ।

सुन्तला कृषकका लागि कोरोनाभन्दा बढी खतरनाक देखिएको छ, औंसा किरा’ सुन्तला सुपरजोन सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद अर्याल भने, “यसको तत्काल नियन्त्रण र उचित व्यवस्थापन गर्न सकेनौं भने बिक्रीका लागि तयार भएका स्याङ्जाका सुन्तला सबै सखाप हुनेछन् ।”

गतवर्ष ५१ करोडको सुन्तला उत्पादन गरेको स्याङ्जामा चालुवर्ष निकै कम आम्दानी हुने अनुमान गरिएको छ । गतवर्ष सुन्तलाबाट २५ लाख आम्दानी गरेको बताउने अर्जुनचौपारी गाउँपालिका १ का फणीनारयाण् अर्यालले चालुवर्ष १०/ १२ लाखको पनि सुन्तला नहुने हो की भन्ने शंका जनाए ।

Related Articles

Leave a Comment