Home » रुग्ण आयोजनामा भौतिक मन्त्री श्रेष्ठको पहलकदमी

रुग्ण आयोजनामा भौतिक मन्त्री श्रेष्ठको पहलकदमी

by newnagarikdiary
0 comment

शिर्षक: रुग्ण आयोजनामा भौतिक मन्त्री श्रेष्ठको पहलकदमी

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशभरीका रुग्ण आयोजनाबारे चासो व्यक्त गरेका छन् ।

उत्तर–दक्षिण व्यापारीक मार्ग विस्तार आयोजना निर्देशनालय, पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्देशनालय, मध्यपहाडी (पुष्पलाल) राजमार्ग निर्देशनालय र सडक सुधार तथा विकास आयोजना निर्देशनालय अन्तर्गतका कतिपय खण्डहरू रुग्ण आयोजनामा परेको भन्दै श्रेष्ठले सम्बन्धित निर्माण व्यवसायीहरूलाई मन्त्रालयमै बोलाएर चासो व्यक्त गरेका हुन् ।

सोमबार व्यवसायीहरूसँग भएको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले तोकिएको समयमै र गुणस्तरमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएको र व्यवसायीहरूले पनि समयमै गुणस्तरीय कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलमा उपप्रधानमन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, निवर्तमान महानिर्देशक अर्जुनजंग थापा तथा हुलाकी सडक निर्देशनालय, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र उत्तर दक्षिण तथा व्यापारिक मार्ग निर्देशनालयका प्रमुखहरू समेत सहभागी थिए ।

त्यसक्रममा निर्माण व्यवासायीले विविध समस्या देखाउँदै अब भने निर्धारित समय र गुणस्तरमै काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

लमही–घोराही–तुल्सीपुर चारलेन सडक खण्ड बनाउने जिम्मा पाएको तथ्य इन्जिनियरिङ कम्पनीले ८ मार्चसम्म उल्लेख्य प्रगति नगरे ठेक्का तोडिने भएको छ ।
हरेक १५–१५ दिनमा निर्देशनालय प्रमुखबाट रुग्ण आयोजनाको प्रगति विवरण लिइने उपप्रधानमन्त्री श्रेष्ठले बताए । केही साता अघिमात्रै उपत्यका केन्द्रित केही रुग्ण आयोजनाबारे यस्तै छलफल भएको थियो ।

हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत ७ वटा आयोजना रुग्ण रहेको र मोहना खेला, डोकेबजार, बेलौरी, धाइजी, कञ्चनपुर सडकमार्गको जिम्मा पाएको शर्मा राजेन्द्र जेभीले असार मसान्तसम्म निर्माण सक्ने प्रतिबद्धता गरेको छ ।

यसैगरी धाँधर खोला पुल र पतरी खोला पुल निर्माणको जिम्मा पाएको लोहनी ब्रदर्सले १० दिनमा कामलाई गति दिने बताएको छ । नत्र ठेक्का नै तोडिने सहमति भएको छ ।

हुलाकी अन्तर्गत नै गोपीगञ्ज, नारायणचोक, परासीचोक सडकखण्ड निर्माणको जिम्मा पाएको कञ्चनजंघा बिरुवा शिवशक्ति जेभीले २५ दिनमा काम सक्ने बताउँदा कमला नदी पुल बनाउने जिम्मा लिएको पप्पु–लुम्बिनी जेभीले नयाँ डिजाइन प्राप्त भएपछि काम थाल्ने प्रतिबद्धता गरेको छ ।

हुलाकी राजमार्ग अन्तर्गतको मनमत, कलैया, मतिरर्वा सडक बनाउने ठेक्का लिएको सप्तकोशी जलाधार ओमसाही जेभी र मोहना, डोकेबजार, बेलौरी धाइजी कतिपय खण्ड निर्माणको जिम्मा पाएको बाबाहंश सिद्धिशाही कम्पनी सम्पर्कमा आएको छैन ।

यसैगरी सडक सुधार तथा विकास आयोजना अन्तर्गत भेडेटार, राँके सडक निर्माणको जिम्मा पाएको आप्को इन्फ्रा इन्डियाले चालु आवमा २५ किलोमिटर र आगामी वर्षको अन्त्यसम्म सम्पुर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता गरेको छ ।

लमही–घोराही–तुल्सीपुर चारलेन सडक खण्ड बनाउने जिम्मा पाएको तथ्य इन्जिनियरिङ कम्पनीले ८ मार्चसम्म उल्लेख्य प्रगति नगरे ठेक्का तोडिने भएको छ । यसअघि दाङ २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएलगत्तै माओवादी नेता रेखा शर्माले सडक विभाग र ठेकेदारका प्रतिनिधिहरुको संयुक्त बैठक बसालेर ठेक्का तोड्ने चेतावनी दिएकी थिइन् ।

मुडे, चरिकोट सडक बनाउने काम चैतसम्म सक्ने निर्माण कम्पनी सुनौला खिम्तीले जनाएको छ ।

यसैगरी एआईपीएल शैलुङ जेभीले बनाइरहेको भक्तपुर नगरकोट सडकको निर्माण कार्य चैतसम्म सकिने छ । दिनेशचन्द्र शंकर माली जेभीले बसन्तपुर, पपरादी सडकको काम असार मसान्तसम्म ४५ प्रतिशत सक्ने बताएको छ ।

यता मध्यपहाडी (पुष्पलाल) राजमार्ग अन्तर्गत आरुघाट, ओख्ले सडक असार मसान्तसम्म सकिने रसुवा इलाइट सूर्य जेभीले जनाएको छ । जोरसाल, तमोर, संक्रान्ति, म्याङलुङ सडकका विभिन्न खण्ड सम्बन्धित निर्माण कम्पनीहरूले आउने असार मसान्तसम्म सक्ने जनाएका छन् ।

यो खण्डमा भरत, मैनाचुली, सिद्धिशाही, कन्टेक, गौरीपार्वती, कोशी लगायत निर्माण कम्पनीले काम गरिरहेका छन् । मध्यपहाडी अन्तर्गतनै हिले, लेगुवा सडक निर्माणको जिम्मा पाएको रौतामाई सन्तोषी बिरुवा जेभीले जेठसम्म काम सक्ने जनाएको छ ।

यसैगरी खण्डुवा खोलामा पुल निर्माण कार्य वैशाख १५ मा सकिने बिरुवा गल्वा जेभीले जनाएको छ । भोजपुर, दिक्तेल सडकको काम असारभित्र सकिने भरत मैनाचुली सिद्धिशाही जेभीको प्रतिबद्धता छ ।

सिरुवा कन्स्ट्रक्सनले बनाइरहेको पंखु खोला पुल जेठसम्म निर्माण सम्पन्न हुनेछ । यसैगरी देउरी, सामरी भञ्ज्याङ, कटुञ्जे सडकको जिम्मा पाएको लुम्बीनी मृत सञ्जीवनी जेभीले असारसम्म काम सक्ने प्रतिबद्धता गरेको छ ।

यसैगरी पाटीहाल्ने, रुकुमकोट सडकको काम असारसम्म सकिनेछ । सो कामको जिम्मा मरत महादेव खिम्ति जेभीले पाएको छ । रुकुम पूर्वको काँक्री मैकोट खण्डको ३८ किलोमिटर सडक चौडा गरी ग्राभेल स्तरमा उन्नती गर्ने कामको जिम्मा पाएको पप्पु कोशी न्यौपाने जेभीको ठेक्का तोडिएको छ ।

ओख्ले, घ्याम्पेसाल, खहरे सडक बनाउँदै गरेको एमपी एसपी एफईसीसी जेभीले असारसम्म र पिपलटार देउडी सडकको जिम्मा पाएको गौरीपार्वती महालक्ष्मी नागार्जुन् जेभीले पनि असारभित्रै काम सक्ने बताएका छन् ।

उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय अन्तगर्तत खहरे खोला पुल र रुप्से खोला पुल रुग्ण छन् । यी पुल बनाइरहेका सिरुवा कन्स्ट्रक्सन र गजुरमुखीसँगको ठेक्का तोडिसकिएको छ । झैते, कोरोला सडक बनाइरहेको तामाङ गौरीपार्वती कोशी न्यौपाने जेभी, घासा, जोमसोम, कोरोला बनाइरहेको पप्पु गौरी पार्वती कोशी न्यौपाने जेभी, मिर्मी फलेबास कुस्मा सडकखण्ड निर्माण गरिरहेको सूर्य कन्स्ट्रक्सनले असार मसान्तसम्म काम सक्ने बताएका छ ।

हिल्सा सिमिकोट सल्लीसल्ला रोड र सिमिकोट खर्बु हुम्ला बनाइरहेका अनक कविन्द्र माउन्टेन जेभीले जग्गा विवाद समाधान भए काम सक्ने प्रतिबद्धता गरेका छन् । धुलिखेल निशान जेभीले यांगर खोलाको पुलका लागि चीनबाट सामान आइसकेको र असारभित्र काम सक्ने बताएको छ ।

कञ्चनजंघा बिरुवा जेभीले बुटवल बेलहिया सडकको काम असारसम्म सक्ने बताएको छ । जोमसोम कागबेनी बनाइरहेको रौता आत्रेय सारस जेभी भने सम्पर्कमा आएको छैन ।

Related Articles

Leave a Comment