Home » मन्त्रीबाट राजीनामा दिएका गजेन्द्रका भाइ प्रदेशमा वन मन्त्री नियुक्त

मन्त्रीबाट राजीनामा दिएका गजेन्द्रका भाइ प्रदेशमा वन मन्त्री नियुक्त

by newnagarikdiary
0 comment

बुटवल । दुई दिनअघि संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका गजेन्द्रबहादुर हमालले आइतबार पदबाट राजीनामा दिएकै दिन आइतबार लुम्बिनी प्रदेश सरकारको वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा उनका भाइ सुरेन्द्रबहादुर हमालले शपथ लिएका छन्।

 

गजेन्द्रबहादुरलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्री नियुक्त गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशम्शर जबरासँग जोडर आलोचना भएपछि उनले आइतबार बिहान राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृत भइसकेको छ।

 

उनका भाइ सुरेन्द्रबहादुरलाई लुम्बिनीका मुख्यमन्त्री कुलबहादुर केसीले मन्त्री नियुक्त गरेका हुन्। आइतबार साँझ आयोजित विशेष समारोहमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छन्। उनी बाँके २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए।

उनीसँगै लुम्बिनीमा आठ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ नियुक्त मन्त्रीका कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री हमाल, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँ, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विक छन्।

नेकपा (माओवादी केन्द्र)बाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले शपथ लिएका छन्।

Related Articles

Leave a Comment