Home » बिबादका कारण रोकिएको पर्वतको फलेबास नगरपालिकाको प्रशासकीय भवन निर्माण शुरु

बिबादका कारण रोकिएको पर्वतको फलेबास नगरपालिकाको प्रशासकीय भवन निर्माण शुरु

by newnagarikdiary
0 comment

पर्वत/भवन निर्माणस्थलका बिषयमा भएको बिबादका कारण लामो समय देखि रोकिएको पर्वतको फलेवास नगरपालिकाको प्रशासनिक भवन निर्माण शुरु भएको छ ।
फलेवास ५ खानीगाउँमा अस्थायी रुपमा रहेको कार्यापालिका कार्यालय झकलक सार्ने निर्णय भएपछि सर्वोच्च अदालतमा परेको रिट निवदेनका कारण रोकिएको भवन निर्माण कार्यको बिहीबार शिलन्यास भएको हो । नगरपालिकाका प्रमुख पदमपाणी शर्माले भब्य समारोहका बिच भवन निर्माण कार्यको शिलन्यास गर्नुभयो ।

फलेवासको खानीगाउँ झकलक चौरमा निर्माण शुरु भएको भवन ४२ कोठे हुनेछ । जुम्ले थान एण्ड आचार्य विल्डर्स प्रा.लि बागलुङले लिएको छ । भवन निर्माणका लागि २०७८ भदौमा सम्झौता भएको थियो । ९ करोड २ लाख रुपैंयाको लागतमा डेढ बर्षमा भवन सम्पन्न गर्ने गरि सम्झौता भएको नगरपालिकाका इन्जिनियर सुवास पोखरेलले जानकारी दिनुभयो ।

स्थापनाकाल देखि भाडाको भवनमा बस्दै आएको नगरपालिका केही समय देखि फलेबास सिंचाई आयोजनाको कार्यालयमा बस्दै आएको थियो । सिंचाई कार्यालय परिसर साँघुरो भएका कारण भवन निर्माणका लागि फराकिलो ठाउँ खोजिएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो । ‘हाम्रो आफ्नो भवन नहुँदा जनताका काम गर्नमा समस्या भएको थियो, अहिले फराकिलो ठाउँमा आफ्नो भवन निर्माण गर्नतिर लागेका छौँ, सबैलाई सहज हुने छ ।’ नगरपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले ६० रोपनी ८ आना जग्गा निःशुल्क नगरपालिकाको कार्यालयको नाममा पास गरिदिएका थिए । त्यस स्थानमा झण्डै ४० रोपनी सरकारी जमिन समेत भएकाले दिर्घकालिन रुपमा सेवा बिस्तारका लागि समेत सहज हुने प्रमुख शर्माको भनाई छ ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवीपाण्डे खत्री, नगरपालिकाका प्रमुख अधिकृत कृष्णप्रसाद सापकोटा, फलेवास नगरपालिकाका प्रवक्ता एवम् वडा नम्वर ४ मुडिकुवाका वडा अध्यक्ष टिकाराम सापकोटा, वडा नं ३ का अध्यक्ष अर्जुनबहादुर कार्की, वडा नं ८ का अध्यक्ष मनबहादुर कुवँर, कार्यपालिका सदस्य निर्मलाकुमारी भुषाल, , नेकपा एकिकृत समाजवादी पर्वतका अध्यक्ष मोतीप्रसाद पौडेल,नेकपा एमाले फलेवास नगर कमिटि अध्यक्ष पितम्वर घिमिरे, नेपाली काँग्रेस फलेवास नगर कार्य समितिका सभापति हिरामणि सापकोटा, नेकपा माओवादी केन्द्रका नेता रुपक भट्ट, राप्रपा केन्द्रिय सदस्य ठाकुर भुषाल, राजमोका बृद्धिप्रसाद गौडेल, भरत श्रेष्ठ, जग्गादाता नारायण सुबेदी लगायतले नगरपालिकाको कार्यालय भवन समयमा सम्पन्न गर्दै सेवा सुचारु गराउनुपर्नेमा जोड दिनुभयो । फलेवास नगरपालिका–५ खानीगाउँका वडा अध्यक्ष दिपक पौडेलको स्वागत रहेको कार्यक्रमको संचालन कार्यक्रम व्यवस्थापक देवीप्रसाद तिमिल्सीनाले गर्नुभएको थियो ।

यता शिलन्यास कार्यक्रम भने नगरउपप्रमुख मञ्जु अधिकारीले बहिष्कार गर्नुभएको छ । नगर उपप्रमुख मञ्जु अधिकारीले भने भवन निर्माणस्थलको बिषयमा शुरु देखि नै असहमति राख्दै आउनुभएको छ । कार्यपालिकाले गरेको निर्णयमा असहमति राख्दै उपप्रमुख अधिकारीले सर्वोच्च अदालतमा भवन निर्माण कार्य रोक्न रिट निवेदन समेत दिनु भएको थियो । पछि सर्वोच्चले अन्तिरम आदेश खारेज गरेपछि भवन निर्माण प्रकृया शुरु भएको थियो । शिलन्यास समारोहमा कार्यपालिकाका सबै सदस्य र नगरपरिषदका दुई तिहाई भन्दा बढी सदस्यको समर्थन र सहभागिता रहेको थियो ।

 

Related Articles

Leave a Comment