Home » प्रधानन्यायाधीशको राजीनामा माग्दै पोखराका कानुन व्यवसायीहरुले दिए धर्ना

प्रधानन्यायाधीशको राजीनामा माग्दै पोखराका कानुन व्यवसायीहरुले दिए धर्ना

by newnagarikdiary
0 comment

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै पोखराका कानुन व्यवसायीहरुले धर्ना दिएका छन् । उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतमा परिसरमा कानुन व्यवसायीहरुले राजीनामा माग्दै धर्ना दिएका हुन् । न्यायपालिकाको विकृति विसंगति भ्रष्टाचार विरुद्ध नेपाल बार एशोसिएशनले अभियानमा नै चलाएको छ । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधान न्ययाधीश जबराले राजीनामा देउ भन्दै हातमा कालो पट्टी, मुखमा कालो माक्स लगाएर जिल्ला अदालत र उच्च अदालतमा धर्ना दिएका हुन् ।

नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीले आइतबार बिहान ११ देखि १२ बजेसम्म धर्ना दिएर बारको आन्दोलनमा समर्थन जनाएका हुन् । उच्च अदालत पोखराका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा अदालत मूल गेटमा कानुन व्यवसायीहरूले धर्ना दिएका हुन् । आइतबारबाट आन्दोलनलाई देशव्यापी बनाउँदै जाने बारको निर्णयअनुसार धर्ना थालिएको अधिवक्ता पौडेलले जानकारी दिए । जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन चर्काउँदै लगेको हो ।

पोखरामै रहेको कास्की अदालतमा पनि आइतबार कानुन व्यवसायीले धर्ना दिएका छन् । कास्की अदालत बारका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा जिल्ला अदालतमा धर्ना भएको हो । पछिल्लो समय न्यायपालिकाले गरेको विवादास्पद फैसला र संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशले भागबन्डामा भाग लिएकाले राजीनामा माग्दै धर्ना दिनुपरेको शर्माले बताए । उनले धर्ना कार्यक्रम ३ दिनसम्म जारी रहने बताए । जबराले राजीनामा नदिए थप आन्दोलन कार्याक्रम गरिने गरिने शर्मा बताउँछन् ।

बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको, बिचौलियासँग साँठगाँठ गरेको लगायत गम्भीर आरोप लागेका छन् ।

Related Articles

Leave a Comment