Home » देउवा र पौडेलबीच स्थानीय तहबाटै कडा प्रतिस्पर्धा

देउवा र पौडेलबीच स्थानीय तहबाटै कडा प्रतिस्पर्धा

by newnagarikdiary
0 comment

काठमाडौं : प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच स्थानीय तहबाटै कडा प्रतिस्पर्धा देखिएको छ। ६४ जिल्लामा पार्टीका गाउँ/नगरपालिका अधिवेशन भइरहेका छन्। ती जिल्लामा भएका वडा र गाउँ÷नगरसमितिका निर्वाचनमा दुवै पक्षबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

क्रियाशील सदस्यता नटुंगिएका कारण ४ जिल्लामा भने वडा अधिवेशन अझै सुरु भएको छैन।

बागमती प्रदेशमा अधिवेशन भएका स्थानीय तहमा पौडेल पक्ष बलियो देखिएको छ। काठमाडौं जिल्लामा पौडेल पक्ष बलियो देखिएको छ। काठमाडांै महानगरपालिका सभापतिमा संस्थापनइत्तर समूहका नीलकाजी शाक्य निर्वाचित भएका छन्। काठमाडौंका सात तहमा पौडेल पक्षले जितेको छ भने देउवा पक्षका सभापतिले एउटा पालिकामा मात्र जितेका छन्। काठमाडौंमा संस्थापनइतर पक्षका उपसभापति प्रकाशमान सिंह–गगन थापा तथा कृष्ण सिटौला समूह बलियो देखिएको छ।

बूढानीलकण्ठ नगर समितिको सभापतिमा राजाराम बुढाथोकी विजयी भए। बुढाथोकी गगन थापा निकटका मानिन्छन्। तारकेश्वरको नगर सभापतिमा निर्वाचित कृष्णहरि महर्जन र टोखा नगरपालिकाको नगर सभापतिमा निर्वाचित ओमकृष्ण विमली सिटौला समूहका हुन्। कागेश्वरी–मनहराको नगर अधिवेशनबाट उद्धव दाहाल सभापतिमा निर्वाचित भए। उनी देउवानिकट हुन्।

त्यस्तै, शंखरापुर नगरपालिकामा निर्वाचित दिलीपकुमार श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका कुमार लामा र नागार्जुन नगरपालिका सभापतिमा निर्वाचित दुर्गा गौतम उपसभापति सिंह निकट मानिन्छन्। कीर्तिपुर नगरपालिका र चन्द्रागिरीमा सहमतिको नेतृत्व चयनका लागि छलफल चलिरहेको नेताहरूले बताए। दक्षिणकालीमा एउटा वडामा विवाद देखिएपछि नगरसभापतिकै निर्वाचन रोकिएको छ।

चार नगरपालिका रहेको भक्तपुरमा संस्थापन र पौडेल समूहले २÷२ वटा नगर सभापति जितेका छन्। ६ पालिका रहेको ललितपुरमा तीनवटामा सर्वसम्मत र  ललितपुर महानगरसहित तीनवटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो। ललितपुरको गोदावरी नगरपालिकामा प्रदीप जोशी, बागमती गाउँपालिकामा वीरबहादुर लोप्चन र महांकाल गाउँपालिका सभापतिमा खोमप्रसाद दाहाल सर्वसम्मत सभापतिमा चयन भए। तीनै जना देउवा पक्षका हुन्। कोञ्जोस्योम गाउँपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको छ। त्यस्तै, महालक्ष्मी नगरपालिका सभापतिमा निर्वाचित दिवाकर सिलवाल संस्थापन पक्षका हुन्। कोञ्ज्योसोममा सरोज घलान सभापति पदमा विजयी भएका छन्। उनी पौडेल समूह निकट हुन्।

धादिङका १३ पालिकामध्ये ३ पालिकामात्रै संस्थापन पक्षले जितेको छ भने अर्को पक्षले ९ पालिकामा सभापति पाएको छ। नुवाकोटमा दुवै नगरपालिकामा संस्थापनइतर पक्षका उम्मेदवारले जित हाँसिल गरेका छन्।
काभ्रेका १३ पालिकामध्ये संस्थापन पक्षले ९ पालिकामा सभापति जितेको छ। त्यस्तै, संस्थापनइतर पक्षले ३ स्थानमा जित हासिल गरेको छ। काभ्रेमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्ण सिटौला पक्षबीच सहकार्य भएको थियो भने पौडेल पक्ष प्रतिस्पर्धामा थियो।

सिन्धुलीका ९ पालिकामध्ये संस्थापनइतर भनेर चिनिएका ७ जना र संस्थापन पक्षका २ जना निर्वाचित भएका छन्। रामेछापका ८ स्थानीय तहमध्ये ५ मा संस्थापनइतर समूह विजयी भएको छ। संस्थापन पक्षले एक पालिकामा सभापति जितेको छ।

Related Articles

Leave a Comment