Home » डोजरे विकासले वातावरणमा चरम असर, वातावरणमैत्री विकास नहुँदा विपत्ति

डोजरे विकासले वातावरणमा चरम असर, वातावरणमैत्री विकास नहुँदा विपत्ति

by newnagarikdiary
0 comment

कात्तिकमा आएको बाढीपहिरोले सुदूरपश्चिममा ३७ जनाले ज्यान गुमाए भने २५ जना बेपत्ता भए। तीन हजार विस्थापित भए। जता प्राविधिक सर्भे नै नगरिएर डोजर प्रयोग भए उतै पहिरो जाँदा ठूलो क्षति भएको हो। डोजरे विकासले यस वर्ष बाजुरामा मात्रै १ हजार ७४ घर परिवार बिस्थापित भएका छन्। गत वर्षभन्दा छिटो अविरल वर्षा भएपछि यति ठूलो संख्यामा परिवारहरू विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सुदूरपश्चिममा असार १ गतेदेखि नै वर्ष सुरु भयो। कमजोर भूू–बनोट र स्टिमेट बिनाका सडकहरूमा डोजर चलाउँदा पहिरो गयो।

सर्भे विनाका सडकमा मात्र लगानी गरेपछि यस्तो विपत्ति आएको सुदूरपश्चिम पूर्वाधार विकास निर्देशनालयका प्रमुख प्रेमदत्त भट्टको भनाइ छ। ‘स्थानीय नेताहरूको इच्छा अनुसारका सडक बने, त्यसले विपत् निम्त्यायो’, उनले भने। लामो समय सडक डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर महेन्द्रप्रसाद पन्त भन्छन्, ‘डोजरले चट्टान खुकुलो पार्छ, अनी सामान्य वर्ष हुँदा पनि हल्लिएको जमिन भासिन्छ, त्यसले पहिरो गएको हो।’ सडक खन्दा डोजरको प्रयोग रोकिनुपर्ने उनको भनाइ छ।

सडकले उठिबास
मकवानपुरको राक्सिराङ गाउँपालिका–७ काङ्बाङमा पहिरोले चिरैचिरा पारेको छ। यो पहिरो आफंै आएको होइन, निम्त्याइएको हो। यहाँका केही परिवार सडक खनेपछि आएको पहिरोका कारण बिस्थापित भइसकेका छन्। वातावरणीय प्रभाव मूल्याङ्कन नगरी डोजर चालकको सीमित सीपमा खनिएको सडकका कारण क्षति हुने क्रम रोकिएको छैन।

पहिरोले माइली चेपाङको परिवार घरबारविहीन बनेको छ। वर्षौंसम्म स्थिर रहेको काङ्बाङ पाखो झरीसँगै बग्न थालेपछि माइलीको परिवारले गाउँ छाड्न बाध्य भयो। काङबाङ गाउँमा दर्जन परिवार सडकले निम्त्याएको पहिरोको जोखिमा छन्। सबैलाई घर–घरमा सडक चाहिने हुँदा पहाडी भूगोलमा पहिरोको जोखिम बढेको वडाध्यक्ष कुलबहादुर चेपाङले बताए। देशमै पहिरोको जोखिममा दोस्रो स्थानमा रहेको मकवानपुरको पश्चिमी क्षेत्रका गाउँ पहिरोबाट बढी प्रभावित छन्। पश्चिमी मकवानपुरको साविक १२ गाविसमा हजार बढी परिवार पहिरोका कारण भएका छन्।

जोखिममा बस्ती
प्राविधिक अध्ययन बिना डोजरले खनेका सडकले सिन्धुलीमा जनधनको क्षति गर्न थालेको छ। अधिकांश जोडर नेताका आफन्त, कार्यकर्ता र स्थानीय तहका जनप्रतिनिधिका छन्। यसरी करोडौं लागतमा खनिएका सडकहरू प्रकोपको कारणमा परिणत भएका छन्।

पर्वतीय भूसतह ज्यादै कमजोर भएको र त्यहाँ बुल डोजर लगाएर पहाड फोर्दा बारम्बार बाढी र पहिरोको प्रकोप आइरहेको जिल्ला दैविक प्रकोप व्यवस्थापन समितिको निष्कर्ष छ।

समितिले हालै मात्र बनाएको जिल्ला विपद् प्रतिकार्य योजना २०७७ मा समेत सडक, ठूला भवन तथा सिँचाइका कुलोहरू वातावरणीय प्रभाव मूल्यांकन बिनै निर्माण गर्दा पहाड र चुरेमा पहिरोको जोखिम बढेको उल्लेख छ।  प्रायः सडक खन्न नेता र जनप्रतिनिधिहरू जोडिएको मेसिन प्रयोग भएको स्थानीयवासीको भनाइ छ।

चुरे विनाश गरेर खनिएको सडकले बाढी र डुवान हुने गरेको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठको भनाइ छ। चुरे विनाशले तराईका खेतीयोग्य जमिन बर्सेनि पुरिँदै गएको छ। ‘त्यसको बेवास्था गर्दै जिल्लामा ठूला–ठूला मेसिन प्रयोग गर्नु गम्भीर कमजोरी हो। यसले ठूलो विपत्ति निम्त्याउन सक्छ’, श्रेष्ठले भने।

विकासले विनाश
धादिङको धुनीबेंसी नगरपालिका–६ नौबिसे खत्रीगाउँका सन्तोष खत्रीको घरमा पहिरोले क्षति पुर्‍यायो। त्यसपछि उनको परिवार विस्थापित भयो। विद्युत् प्रशारण लाइन बनाउँदा स्काभेटरले खनेर जमिन क्षतविक्षत बनाइदिएपछि पहिरो गएको थियो। थाभावी डोजरको प्रयोग गरेर गरिएको अवैज्ञानिक विकासका कारण सामान्य पानी पर्दासमेत पहाडी क्षेत्रहरूमा ठूलो क्षति निम्तने गरेको छ। वातावरणीय असरको

मूल्याङ्कन नगरी वडाध्यक्षले बजेट छुट्ट्याउने र उपझोक्ताले डोजर लगाएर बाटो खनिहाल्ने परिपाटी बढ्दो छ।

डोजर आतंक
स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि सबैभन्दा धेरै बजेट सडक निर्माणमा खर्च भयो। त्यसअघिको सात दलीय संयन्त्रले कर्मचारीमार्फत बाटो खन्नमै बजेट खर्चिए। तिनै दलीय संयन्त्रका प्रतिनिधिहरू जनताबाट चुनिएपछि बाटो खन्ने वैधानिक अधिकार पाए। तर, सडक निर्माणमा वातावरणीय मूल्यांकन गरिएन। प्रत्येक वडामा सडक पुर्‍याउने योजनाले थुप्रै खानेपानी आयोजनाहरू मासिएका छन्। मुहान नै सुकेपछि गाउँमा खानेपानीको संकट देखिएको छ।

सडक खन्दा बगेको माटोले मुहान पुरिएपछि रैनादेवीको मुजुङको छेउफानमा खानेपानीको समस्या भएको छ। स्थानीय नुरबहादुर बुढाथोकीले बाटो बनेपछि मुहानबाट पानी आउनै छाडेको बताए। ‘६० घरधुरीले पानी खाँदै आएका थियौं, अहिले मुहान नै सुकेपछि पानीको हाहाकार भएको छ,’ उनले भने। सडक विस्तारले पाल्पाकै ज्यामिरेमा पनि पानीको हाहाकार छ। स्थानीय रनबहादुर थापाले बाटो खनेपछि पानी आउनै छाडेको बताए। अर्घाखाँचीका प्रत्येक गाउँमा मोटरबाटो पुगेको छ। बाटो पुग्यो । पानीका मुहान सुके। तर, जिल्लामा बनेका ९५ प्रतिशत सडक निर्माणमा प्राविधिक मूल्यांकन भने छैन। स्थानीय नेताको निर्देशन र डोजर चालकको इन्जिनियरिङमै सडक बनेका हुन्।

अधिवक्ता जगन्नाथ भुसालले भने, ‘एक वर्ष एकातर्फबाट बाटो खन्यो अर्को वर्ष फेरि परिवर्तन गर्यो। जसका कारणले निकट भविष्यमा गम्भीर खतराको सम्भावना छ।’

लुम्बिनीका गुल्मी, पाल्पा, रोल्पा, प्युठान, अर्घाखाँचीमा डोजरे विकास अत्याधिक छ। जसले विकासभन्दा विनाश भएको वातावरण विज्ञ युवराज कँडेल बताउँछन्।

रोल्पामा डोजरको संख्या करिब १ सय पुगेको छ। असार सुरु भएपछि सबै वडामा सग्ला पहाड भत्काउन डोजर पुग्छन्। ती सडक न प्रयोग भएका छन् न त अन्य कुनै उपलब्धि नै। नागरिक समाजका अगुवा घनश्याम आचार्य डोजर बन्देज लगाएर मानव श्रममा सडक निर्माण गर्नुपर्ने बताउँछन्। १ करोडभन्दा कमको योजनामा डोजर प्रयोग गर्न नपाइने नियम कार्यान्वयन गरिएको छैन। लुंग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का मानिसबाट सडक खन्ने कार्य अव्यवहारिक रहेको बताउँछन्।

डोजरे विकासले वातावरणमा असर
चुरे क्षेत्रको बढ्दो दोहोन र डोजरे विकासले उदयपुरमा ३ हजार घरपरिवार बाढीपहिरोको उच्च जोखिममा परेका छन्। २ करोड बढीको क्षति पुगेको छ। विकासका नाममा मापदण्डविपरीत डोजर लगाएर खनिएका सडक र चुरे क्षेत्रअन्तर्गतका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रको बढ्दो दोहोनले आसपासका बस्तीहरू जोखिमा परेका हुन्।

सबैभन्दा बढी त्रियुगा र चौदण्डीगढी नगरक्षेत्रमा करिब २ हजार बढी घर जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकमा छ। स्थानीय तहले आफूखुशी डोजर लगाएर पहाडहरू फुटाउँदा चर्किएर पहिरो जाने गरेको छ।

अधिकांश भू–भाग वन क्षेत्र रहेको हुँदा जंगल मासेर सडक बनाउने जनप्रतिनिधिको होडबाजीले बस्तीहरू जोखिममा पर्ने गरेको अधिकारकर्मी सुमन परियार बताउँछन्।

ठेकेदारले जथाभावी स्वीकृतभन्दा नदीजन्य उत्खनन गरी लैजाने गरेको स्थानीयको भनाइ छ। जसले गर्दा चुरे आसपासका बस्ती जोखिममा पर्ने गरेको चौदण्डीगढीका शम्भु पौडेल बताउँछन्।

पौडेलका अनुसार नदीजन्य ढुंगा, गिटी, बालुको जथाभावी उत्खनन, चोरी निकासी, नीति नियमविपरीत बनाइएका सडक नै जलवायु परिवर्तनको मुख्य आधार हुन्। जताततै सडक खन्दा र बोटविरुवा नष्ट गर्दा पानीको स्रोतसमेत सुक्दै गएको उनी बताउँछन्। यसका साथै राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा रूख कटान तथा फडानी र चोरी निकासी बढ्दा चुरे क्षेत्र नजिकका खेतबारी तथा बस्तीहरू भू–क्षयको उच्च जोखिममा रहेको स्थानीय बताउँछन्।

चुरे दोहनले भू–क्षयसँगै खोला खहरेमा बग्ने बालुवा र लेदोले जमिन पुरिँदै गएको छ। त्यसैले चुरे खोँचमा रहेका बस्तीहरू विस्थापित हुने गरेको त्रियुगा नगरपालिका–२ का वडाध्यक्ष घमानसिंह खत्री बताउँछन्।

डोजरे विकासले सुक्दै मुहान
डोजरे विकासका कारण पहाडमा जस्तै मधेसमा पानीको मुहान सुक्दै गएको छ। विराटनगरमा केही वर्षअघि ३० देखि ३५ फिट जमिनमुनिबाट पानी सहजै आउँथ्यो। तर, अहिले ७० देखि ८० फिट खन्दा पनि निकाल्न मुस्किल छ।

कल र ट्युबेलको पानी तान्दा अत्यधिक आइरन आउनुका साथै हिउँदमा पानी सुक्ने गरेको छ । वतावरणका जानकार रामचन्द्र अधिकारी भन्छन्, ‘विकासका लागि डोजर प्रयोगको विकल्प नरहे पनि मानव जीवनमा गम्भीर संकट ल्याउन लागेको छ।’

पहाडमा यसको प्रयोगले पानीको मूल फुटाउने, बनाएको बाटोमा पहिरो आउने, जनावर भाग्ने वन्यजन्तुलाई  धेरै असर पुर्‍याउने भएकाले मानव क्षतिसमेत हुने गरेको उनले बताए।

वातावरणमैत्री विकास नहुँदा विपत्ति
असार १८ गते राती सडक पहिरिएर घर पुर्दा सिरानचोक गाउँपालिका ७ उपल्लो गोहोरे निबासी ८० बर्षका रमन पाण्डे र उनकी श्रीमती नन्दुकुमारी पाण्डेको घटनास्थलमै मृत्यू भयो।

अर्कुल चिप्लेटी सडक खण्डमा पर्ने उनको घर सडक खन्दा थुपरिएको माटो बगेर घर पुरिएको स्थानीय विनोद पाण्डे बताउँछन्। ‘सडक सफा गर्दा डोजरले उनीहरूको घरभन्दा माथिपट्टि माटो थुपाथ्र्यो। सँधै डोजरले खन्ने र माटो थुपार्ने गर्दा निकै जोखिम भइसकेको थियो।

असार १ गते बूढीगण्डकीले चुमनुब्री गाउँपालिका ३ सल्लेरीको छ घर बगायो। अन्य १० घर जोखिममा पार्‍यो। बेनिघाट, आरुघाट,  लार्के सडक खन्दा थुप्रिएको माटो बर्षाका बेला पहिरिएर बूढीगण्डकीमा खस्दा त्यहाँ क्षति पुगेको स्थानीय गणेश कार्कीको भनाइ छ।

अन्नपूर्णपोष्ट बाट

Related Articles

Leave a Comment