Home » काठमाडौँको शुन्यतालाई नियालिरहेछु । 

काठमाडौँको शुन्यतालाई नियालिरहेछु । 

by newnagarikdiary
0 comment

श्रृजना शर्मा

आफू बसेको डेराको छतमा गएर हेर्दैछु देखिने जति घरका ढोका र झ्यालहरु सबै बन्द छन् । सडक सुनसान हुँदैछन् । केही दिन अघिसम्म व्यस्त भएका चिया पसल चोकका फुटकर पसलका अघिल्तिर देखिदैन त्यो रौनक । जो रौनकताले हरेक बिहान बेलुका ती चोक र चिया पसलमा म चिया खान पुगेकै हुन्थेँ । चिया खान आएका ग्राहकहरु बालेनको तारिफ र नेताहरुलाई गाली गरेको सुन्न पाइन्थ्यो । आज कोही भेटिएन त्यही चिया पसलमा । के हेर्नु यो सुनसान शहर । एक कप चिया खानु प¥यो भन्ने सुर कसेर पस्छु म आफ्नै कोठामा । हरेक दिन चिया खाजा खाना भाउजुकै हातको खाने बानी परेछ । चिया पकाउन पनि मन लागेन ।

असोज १४ गते बिहानै ३ बजे दाजु भाउजु र ठूल्दाजुकी छोरी कृष्टिना गाउँ जानुभयो । मेरो जिद्दि र ढिपिका अगाडि भगवानले पनि केही गर्न सक्दैनन् दाजुहरु हार खाएर जानुभयो । घरका सदस्यहरुले हरेक मिनेट मिनेटमा फोन गरेर घर आउन दबाब दिइरहनु भएकै छ । चुपचाप म सुनेर पनि नसुनेको नाटक गरिरहेछु । साँच्चिकै जान्छु घर झोलामा कपडा गुटुमुटु पार्छु फेरि होस् जान्न यस पटक काठमाडौँमै बस्छु भनेर एक महिना अघिदेखि नै योजनामा थिएँ । तर यति अत्यास यति पट्यार यहाँको बसाई होला भन्ने कल्पना पनि गरेकी थिइन । दाइले बारम्बार यहाँ एक्लै बस्न सकिदैन भन्नु भएकै थियो । अझ कृष्टिनाले त कसम नै खुवाएकी छ । मैले काठमाडौँमा बसेर घरमा दशैँ मनाउन जान नपाएको दुःख फेसबुक लगायत सामाजिक सञ्जालमा पोस्ट गर्न पाइने छैन यहाँ बसेर रुन पाइने छैन हामीलाई घरी घरी फोन गरेर हाम्रो दशैँ नमज्जा बनाउन पाइने छैन । सबै सर्तहरु मञ्जुर छ कृष्टिना म यस पटक घर जाँदिन यही बाचा गरेकी थिएँ । सरी है कृष्टु पूरा गर्न सकिन ।

काठमाडौँ पसेको धेरै वर्ष त भएको छैन । पाँच वर्ष अघि झोलामा दुईजोर लुगा पोको पारेर मंसिरको २९ गते छिरेकी थिएँ ठूला सपना बोकेर । आज बोकेर ल्याएका आफ्नै सपनाहरु पनि मलाई नै नचिन्ने भएका छन् । तिनैलाई भेट्याउन मेरो दौडधुप चलिरहेको छ । तर आफ्नै रोजीरोटी टार्न पनि सकेकी छैन । बाध्यता विवशता पोख्ने मेरो आजको ध्येय होइन । मनमा उकुसमुकुस बनाइरहेको यो सुनसान काठमाडौँ मेरो अघिल्तिर छ । मेरो चञ्चल स्वभावलाई मुठ्ठीभित्र राखिदिएको छ । वरपर छरछिमेक कोही छैन बोल्नका लागि । घरको तीन तलामाथि घरबेटीका तीन जना परिवार छन् । दुईजना जन्मजात नबोल्ने इशाराले आफ्ना कुराहरु अभिव्यक्त गर्छन् म उनीहरुको ईशारा पनि बुझ्दिन । बुढी आमा नेवारी भाषामा मात्र कुरा गर्नुहुन्छ नेवारीको ने पनि मलाई आउदैन । संवाद सुनसान छ । जति बोल्ने हो आफैसँग । तपाईँलाई लाग्न सक्ला फेसबुक म्यासेन्जरमा बोले भयो नि ? अहँ सकभर त्यसबाटै टाढै रहौँ भन्ने लागेको छ । नियमित जसो कुराकानी हुने दुई तीन जना मित्र छन् । दशैँको बेला छ उनीहरु आफ्ना परिवारसँग खुसी छन् मैले लेखेको म्यासेजको रिप्लाई दिन पनि फुर्सद छैन उनीहरुलाई ।

युटुब हेर्नु न भन्ने तर्क पक्कै तपाईँको मनमा आउन सक्छ । चौध गते देखि नै मेरो कोठाको नेट बिग्रेको छ सम्बन्धित मान्छे दशैँपछि आएर बनाइदिने भन्दैछ । पुस्तक पढ्नु भन्ने केही मित्रहरुको सुझाव छ । मसँग किताबहरु थिए । यो भन्दा अगाडि पढ्ने फुर्सद थिएन मेरो साथी फुर्सदमा भएकोले भएका नयाँ पुस्तकहरु पढ्नु समयको सदुपयोग गर्नु भनेर उसको कोठामा पु¥याएर आएँ । आज उनी गाउँमा छन् । कोठामा भएका किताबले मेरो मन तानिरहेकै छैनन् । लेख्नुपर्ने गर्नुपर्ने काम नभएको होइन यथेस्ट छ त्यही काम सक्नका लागि त मैले यही बस्न चाहेकी हूँ । तर त्यो वातावरण तयार गर्न सकिरहेकै छैन ।

आज दशैँको महाअष्टमी, भोलि नवमी, त्यसपछि दशमी । दशैँ सकिन अझैँ केही दिन बाँकी नै छ । त्यसपछि फर्कन्छन् कि छिमेकीहरु । हुन त तिहार मानेर आउनेहरु पनि प्रशस्त छन् किनभने म पनि सधैँजसो दशैँमा गएर तिहार मनाएर काठमाडौँ फर्कन्थेँ । सोह्र श्राद्ध सकिएपछि हामी माटो र कमेरो लिन रगाले जान्थ्यौँ । करिब एक घण्टाको उकालोपछि घर आएर त्यही माटोले घर सिंगाथ्र्याैँ । रातो माटोले चिटिक्क घरको पेटी लगाउथ्यौँ । घर वरपर सरसफाई गथ्र्याैँ । यसमा बिशेष सहभागीता स्यान्दाइको हुन्थ्यो । यसपटक कसले ग¥यो सोध्न पनि पाएकी छैन । महाअष्टमीको दिन घर घरमा बली दिने चलन गाउँभरीको भान्साको मासु चाख्न पाइन्छ । सिर्जनशील युवा क्लव र दियो साँस्कृतिक युवा क्लवले आयोजना गरेका दशैँ विशेष कार्यक्रम हेर्न भाग लिन जान्थ्यौँ । लोकगीत लोकनृत्यमा मैले धेरैचोटि पुरस्कार जितेको छु । गाउँका अधिंकांश मानिसहरु गाउँ छोडेर विदेश गएका सहर पसेकाहरु कर्मचारीहरु सबैको भेट हुने थलो हो त्यो कार्यक्रम । यसपटक भयो भएन थाहा छैन । माछिमी ज्यूला बाद्दे ज्यूलामा लहलह पहेला धान झुलेका हेर्न पाइने बेला हो यो । मयुर नाच सिंगारु नाच टप्पा नाच पैसेरु नाच हेर्न पाइने बेला हो यो । साँच्चै ती सम्झनाहरुले मन चिमोटिरहेका छन् ।

उता साथीहरु भन्छन् चाडबाडमा पनि छुट्टि नपाइने कस्तो अफिस ? कुन अफिस हो ? पैसामाथि सुत्ने होइन क्या जिन्दगी रमाइलो गर्ने हो । घरमा भन्छन् कति कठोर मन हो दशैँ जस्तो ठूलो चाँडमा पनि घर नआउने ? पैसा कमाएपछि घर किन सम्झनु पर्यो र ? कहाँ छ र मेरो अफिस ? केको कर्मचारी हो र म ? म निरिह प्राणी आफ्नै मनलाई ढुङ्गो बनाएर काठमाडौँको शुन्यता नियालिरहेको छु ।

दशैंको शुभकामना!

Related Articles

Leave a Comment