Home » उपत्यकाका सडक व्यवस्थित बनाउने उच्च स्तरिय संयन्त्रको नियमित बैठक

उपत्यकाका सडक व्यवस्थित बनाउने उच्च स्तरिय संयन्त्रको नियमित बैठक

by newnagarikdiary
0 comment

काठमाडौँ उपत्यकाका सडकसँग सम्बन्धित निकायहरू सम्मिलित समितिको नियमित बैठक बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न भएको छ ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेतको उपस्थितिमा भएको उच्चस्तरीय समन्वयात्मक बैठकले यसबीचका कामहरूको प्रगति समीक्षा गर्दै थप आवश्यक निर्णयहरू समेत गरेको छ ।

बैठकमा सरोकारवाला निकायका सडक केन्द्रित निर्माण वा विकासका कामलाई आपसमा समन्वय गरेर मात्र अगाडि बढाउने अनि छिटोभन्दा छिटो सडकलाई ‘क्लियर’ गर्ने समितिको उद्देश्यमा सुरुवाती सफलता हासिल भएको समीक्षा बैठकमा गरिएको छ ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सम्बन्धित सबै निकायबाट सडक सुधारमा सराहनीय पहल भएको र त्यसबाट समस्या समाधानको प्रभावकारी सुरुवात भएकोमा बताए । श्रेष्ठले यो पहललाई अझ तीव्र बनाएर ‘समस्याको पहिचान र समस्याको समाधान’मा सबै जुट्नुपर्ने उनले बताए ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले समन्वयले राम्रो प्रभाव देखाएको तर मेलम्ची खानेपानी आयोजनाले बनाएको हिलाम्मे र धुलाम्मे सडकको समस्या हल हुन नसकेको बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले सडक पुनर्स्थापना गर्दा गुणस्तरीय सामाग्री प्रयोग गर्न सुझाव दिए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमाल घिसिङले तार भूमिगत गरेपछि सडकलाई तत्कालै पुनर्स्थापना गर्ने कामलाई प्राधिकरणले उच्च महत्त्व दिएको बताए ।

त्यस्तै काठमाडौँ उपत्यका विकास प्राधिकरणकी जानुका ढकालले कामको ठेक्का लगाउँदा देखिनै निकायगत समन्वय हुनुपर्ने बताइन् । मेलम्ची खानेपानी योजनाका राजेन्द्र सापकोटाले टाल्न बाँकी ‘लिकेजुहर’ तीनचार दिन भित्रै टालिसकिने बताए । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका रमेश केसीले खानेपानी र बिजुलीका तार एकै ठाउँमा भूमिगत गर्न नहुने बताए । नेपाल टेलिकमका झलक उपाध्यायले समन्वयले कामको प्रभावकारिता र गुणस्तरमा समेत चुस्तता थपेको बताए ।

बैठकमा समितिका सदस्य सचिव डा विजय जैशीले समन्वयात्मक क्रियाशीलताको प्रगति र प्राथमिकताबारे बुँदागत प्रस्तुति दिएपछि सहभागीहरूले अनुभव, सुधार प्रगति र अबका प्राथमिकताबारे उल्लेखित धारणा राखेका हुन् ।

Related Articles

Leave a Comment