Home » आजबाट जनगणना, मंसिर ९ सम्म चल्ने

आजबाट जनगणना, मंसिर ९ सम्म चल्ने

by newnagarikdiary
0 comment

आजबाट जनगणना सुरु हुँदै छ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।यसका लागि गणकहरु आज बिहान ९ : ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा पुग्ने छन् ।

त्यसपछि बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन कहाँ गणक पुग्ने समय तालिका बनाइएको छ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर आजबाट व्यक्तिहरुको विस्तृत विवरण संकलन गर्ने छन् । विवरण संकलन गर्न देशभर करिब ४० हजार गणक र साढे आठ हजार सुपरीवेक्षक परिचालित भएका छन् । काठमाडौं जिल्लामा डिजिटल पद्दतिमा आधारित क्यापविधि प्रयोग गरी ट्याबलेटबाट र अन्य जिल्लाहरुमा कागजी प्रश्नावली प्रयोग गरी विवरण संकलन गरिने छ ।

भारतीय सेनाको नियन्त्रणमा रहेको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न कूटनीतिक पहल भइरहेको र भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने केन्द्रीय तथ्यांक विभागले बताएको छ ।

Related Articles

Leave a Comment