Home » अब देखि पोखरामा कुकुर पाल्नेहरुले एक सय तिरेर दर्ता गर्नुपर्ने

अब देखि पोखरामा कुकुर पाल्नेहरुले एक सय तिरेर दर्ता गर्नुपर्ने

by newnagarikdiary
0 comment

कुकुर पाल्न पनि दर्ता गर्नुपर्ने, त्यो पनि शुल्क तिरेर! पोखरा महानगरपालिकाले यो अभियान थालेको छ।

महानगरले आ–आफ्नो घरमा भएका कुकुर नजिकको वडा कार्यालयमा गएर दर्ता गर्न सकिने सुविधा दिएको छ। कुकुर दर्ता गर्दा प्रति कुकुर १०० रूपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ।

कुकुर दर्ता अभियान पोखराको वडा नं. ८ ले बिहीबारदेखि थालेको हो।

बिहीबार र शुक्रबार गरी ९० वटा कुकुर दर्ता भइसकेको वडा अध्यक्ष रुद्रप्रसाद बरालले बताए।

वडा कार्यालयमा कुकुर दर्ता गर्दा रेबिज विरूद्धको खोप र कुकुरको घाँटीमा लगाइने पेटी नि:शुल्क वितरण गरेको वडा अध्यक्ष बरालले जानकारी दिए।

वडा नं. ८ मा दर्ता हुन आएका कुकुरलाई खोप लगाउन बिहीबार र शुक्रबार रेबिजविरूद्धको खोप शिविर चलाइएको थियो।

अब भने वडा कार्यालयमा कुकुर दर्ता गरेपछि मात्र महानगरको पशु सेवा शाखामा गएर कुकुरलाई नि:शुल्क रेबिज खोप लगाउन पाउनेछन्।

वडा अध्यक्ष बरालका अनुसार यसका लागि कुकुर दर्तापश्चात् वडा कार्यालयले दिएको कुकुर दर्ता कार्ड देखाउनुपर्नेछ।

स्थानीय तहको निर्वाचनपश्चात् जनप्रतिनिधिले जुनसुकै शीर्षकमा पनि राजश्व लिएको र कर बढाएको भन्दै विवादित भएको थियो।

वडा अध्यक्ष बरालले भने दर्ता शुल्क करका रूपमा नलिएको बताए।

‘हामीले रेबिजविरूद्धका खोप नि:शुल्क दिएका छौं, २१० पर्ने बेल्ट नि:शुल्क दिएका छौं,’ उनले भने, ‘दर्ता शुल्कका तुलनामा कुकुरलाई दिने सुविधा धेरै दिएका छौं।’

कुकुरको घाँटीमा लगाउन दिएको पेटीमा महानगरको वडाको छाप राखिएको छ।

पोखराका सडकमा परित्यक्त कुकुर धेरै भएकाले दर्ता गर्न थालिएको महानगरका उपमेयर मञ्जुदेवी गुरूङले बताइन्।

सडक कुकुरलाई पनि महानगरले रेबिजविरूद्धको खोप लगाउने अभियान चलाएको भन्दै उनले भनिन्,‘कुकुर पाल्ने बेलामा पाल्ने अनि सडकमा लगेर छाड्न नदिन दर्ता थालेका हौं।’

सडक कुकुर नियन्त्रण गर्न महानगरको पशु सेवा शाखाले बनाएको योजना अनुसार दर्ता अभियान थालेको उनको भनाइ छ। सडक कुकुर र घरमै पालिएका कुकुरलाई बन्ध्याकरण अभियान पनि महानगरको पशु सेवा शाखाले चलाइरहेको छ।

सडकमा छाडिएका कुकुरकै कारण सडक दुर्घटना बढेको उपमेयर गुरूङले दाबी गरिन्।

बाटोमा छाडिएका मात्र होइन, घरमै रहेका कुकुरलाई पनि जथाभावी दिसा पिसाब गराउँदा सहर दुर्गन्धित र फोहोर भएको उनले बताइन्।

‘कुकुर पालेछ, जथाभावी बाटोमा लगेर दिसापिसाब गराएका छन्,’ उनले भनिन्, ‘कुकुर पालेर जथाभावी फोहोर गर्न र सडकमा लगेर छाड्न पाइँदैन।’

पोखराका सबै वडामा यो अभियान चलाउने समेत उपमेयर गुरूङले बताइन्। देशकै ठूलो पोखरा महानगरमा ३३ वटा वडा छन्।

पोखरा- ८ का वडा अध्यक्ष बरालले कुकुर दर्ता अभियान सफल बनाउन टोल विकास संस्था लगायतलाई परिचालन गरेको बताए।

सडकमा लगेर कुकुर छाडेमा वा दिसापिसाब गराएमा यसको जानकारी टोल विकास संस्था वा छरछिमेकले वडामै दिन सक्नेछ।

कुकुरलाई सडकमा छाडेमा वा सडकमै दिसापिसाब गराएमा कुकुरधनीलाई कारबाहीस्वरूप जरिवाना उठाउने महानगरले चेतावनी दिएको छ।

कुकुर दर्ता नगर्ने र बाटोमा छाड्ने कुकुरधनीलाई प्रति कुकुर ५ हजारदेखि १५ हजार रूपैयाँसम्म जरिवाना लिने महानगरले नीति लिएको छ।
सेतो पाटी बाट

Related Articles

Leave a Comment