शिर्षक: व्यवसायी दीपक मल्होत्रा: सुन तस्करीमा मेरो संलग्नता छैन
व्यवसायी दीपक मल्होत्राले सुन तस्करीमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।
त्रिभुवन विमानस्थलबाट भित्रिएको १०० किलो सुन प्रकरणमा मलहोत्राको नाम मुछिएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको बताएका छन् ।
‘सुन तस्करी प्रकरणमा मेरो कुनै संलग्नता छैन। म नेपालमा बसोबास गर्ने व्यक्ति हुँ। काम विशेषले कहिलेकाही विदेश जानेगर्छु,’ उनले भने,’दोषी ठहरिए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार छु।’
उनले सुन ल्याउने गिरोहलाई बचाउनका लागि र घटना डाइभर्ट गर्न नियोजित रुपमा आफ्नो नाम जोडिएको आशंका व्यक्त गरे।
राजश्व अनुसन्धान विभागको टोलीले भन्सार कार्यालयको गेट अगाडिबाट सुन बरामद गरेको थियो। जाँचपास गर्ने भन्सारका कर्मचारीलाई निलम्बन गर्न समिति समेत गठन गरिएको छ।
सुन मोटरसाइकलको ब्रेक सु र दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको थियो। सुन हङकङबाट ल्याइएको खुलेको छ ।