शिर्षक: घट्यो पेट्रोलियम पदार्थको मूल्य: अब स्वचालित मूल्य प्रणाली
नेपाल आयल निगमले पेट्रोलिपय पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय निगमले गरेको हो ।
यो प्रणालीमा निगमले पर मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ । खाना पकाउने एलपी ग्याँसको मूल्यमा भने निगमले नाफा नराख्ने निर्णय गरेको छ ।
निगमका अनुसार यसपटक पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । पेट्रोल लिटरमा ६ रुपैयाँ, डिजेल र मटीतेलमा समान ४/४ रुपैयाँ मूल्य घट्ने छ भने ग्याँसमा प्रतिसिलिण्डर १० रुपैयाँ घट्नेछ ।
अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ पर्नेछ । तराईका जिल्लाहरुमा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रुपैयाँ पर्नेछ ।
डिजेल र मटीतेल उपत्यकामा लिटरको १४६ रुपैयाँ, तराईका जिल्लाहरुमा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १४५ रुपैयाँ पर्नेछ ।
एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य १८०० रुपैयाँबाट घटेर १७९० रुपैयाँ कायम भएको छ ।