घरदेश भनेको घरदेश नै हो,आफ्नो देशको माटै प्यारो, हावा नै प्यारो।

किशन गाैतम
हिन्दु शात्र अनुसार देवताहरुले दानव माथि बिजय प्राप्त गरेको बिसेष दीनलाइ बिजया दशमी वा बडादशैंको रुपमा मनाउने प्रचलन रहेतापनि यो पर्वलाइ सम्पूर्ण नेपालीले साझा पर्वको रुपमा मनाउने गरेका छन ।
चाड मनाउने तरिका आ- आफ्नै छन तर यो पर्वलाइ सम्पूर्ण धर्मालम्बी नेपालीहरुको साझा पर्वको रुपमा लिइन्छ,सत्यको जीत भएको यो दीनलाई हामी नेपालीले पारिबारिक मिलन , आपासी सद्वाब र भाइचारा बढाउने पर्वको रुपमा लिने गरेका छौ ।
चाडपर्वहरुले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछ्न,हर्ष, उल्लासका साथ आउने र मनाउँने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुसी र सुख प्रदान गर्दछ भने पूरै वातावरणको परिवेशलाई उल्लास र रौनक तर्फ परिवर्तन गरिदिन्छ । त्यसैले त चाडपर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ ।
प्रवासमा बस्दा बिसेषगरि चाडबाडको बेलामा आफ्नो परिवार तथा गाँउघरको निकै सम्झना आउने गर्छ । सानो छदा छुट्टै रौनक र हर्षोल्लासका साथ दशैँ पर्व मनाइएका यादहरुले निकै पिरोल्ने गर्दछ । दशैँ नजिकिदै गर्दा साथीभाई संग खेलेका रमाएका एक एक पलले मन पिरोलिरहेको हुन्छ । तैपनि हामी जहाँ छौ जे जस्तो अबस्थामा छौ आफ्नै तरिकाले रमाएर चाड मनाउन सक्छौ ।
कोरियामा रहदा दशैकै दीन बिदा नपरेतापनी नजिकैको शनिबार, आइतबार पारेर साथीभाई संग मिलेर दशैँ मनाउने गरिएको छ । बिभिन्न संघ – संस्था तथा ब्यावसायीहरुले पनि बिदाको दीन पारेर सामुहिक रुपमा टिका लगाइ दशैँ मनाउने ब्याबस्था गरेका हुन्छन , सकेसम्म हामीपनि त्यस्ता कार्यक्रममा सरिक भै आफ्नै तरिकाले रमाइलो गर्न सकियो भने कमसेकम चाडबाडको बेलामा घर परिवारको यादलाई केहि हद भएपनि कम गराउन सकिन्छ ।
चाडबाड बेला मनमा खिन्नता पालेर बस्नु भन्दा साथीभाईसंग रमाएर मनाउनु राम्रो हो तर पनि कोरियाको सन्दर्भमा कहिले काही रमाइलो गर्ने बाहानामा अत्याधिक मादकपदार्थ सेवन गर्ने ,अरुलाई समेत डिस्टर्ब हुनेगरी हाहोल्ला गर्ने , साथिभाइबीच झगडा तथा हातपात समेत गर्ने जस्ता घटनाहरु पनि बिगतमा देखिएका छन । हामी सबै आफ्नो प्यारो गाउँघर , प्यारो परिवार छाडेर दुख गर्न परदेश आएका छौं ,त्यसैले चाडबाडको नाममा हुने गरेका यस्ता बिकृतिहरुको अन्त्य गरौं । आपसी मेलमिलाप भाइचारा र आपसी सद्वाब कायम राख्दै दशैँ पर्वलाई सबैले हर्षोल्लासका साथ मनाऔ । सबैलाई आउदैगरेको विजयादशमीको हार्दिक मंगलमय शुभकामना !
अध्यक्ष नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा

बबिता ओली क्षेत्री
दशै हामी नेपालीको राष्ट्रिय चाड भन्दा फरक पर्दैन। यो आश्विन शुक्ल पक्षमा प्रतिपदा देखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मनाइन्छ। त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले दशैँको दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई वडादशै एवम् विजयदशमीको नाम दिइएको हो । दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ र यो दश दिनसम्म मनाइने हुनाले यसलाई दशै भनिएको हो।
प्रवासमा चाडर्वकाे बेला सबै भन्दा वढी आफ्नो परिवारको एकदम याद आउँछ। विगतमा आफ्ना साथीहरुसँगको घुमफिर एकदम याद आउँछ। म प्रवासमा आएको सात बर्ष भयो, त्यति नै वर्ष भयो घरदेशमा दसै नमनाएको। सवै भन्दा वढी नैरस्यता त अझ विजयादशमीको दिन लाग्छ। वर्ष दिनमा एक चोटी आउने चाड सबै भन्दा ठूलो कुरा मान्यजनवाट पाउने अमुल्य आशिर्वादको खुब याद आउने रैछ। प्रवासमा पनि समय मिलाएर मनाउन त मनाइन्छ तर किन हो कुनै वर्षको दशै घरदेश जस्तो भएन। प्रवासमा सवै कुरा भएर पनि खै किन हो के नभए जस्तो चाँहि भैरहने हुने रैछ नेपाली चाडपर्वमा।
घरदेश भनेको घरदेश नै हो,आफ्नो देशको माटै प्यारो, हावा नै प्यारो। जति सुकै झिलिमिली शहरमै किन नबस्नुस्, घरदेशको माटोको भित्ता नै प्यारो। घरदेशमा यो दशैको रौनक नै वेग्लै, त्यो मौसम नै बेग्लै। रेडियो टिभीवाट बज्ने त्यो मालश्री धुन, वारीका डिलहरुमा ढकमक्क फूलेका सयपत्री फूलहरुले छुट्टै आनन्दको अनुभूति दिलाउने। बाटै भरि हालिने डोरी पिङको त झन कुरै नगरौँ यो परदेशवाट सम्झदा नि आँशु आउला झै हुन्छ। देश बिदेश, टाढा भएका आफ्ना साथीभाई, आफन्तजनसँग भेटघाट हुने सुनौलो अवशर हो दशै जुन परदेशमा चाहेर नि सम्भव हुदैँन।
परदेश नामै काफी छ , परदेश अर्काको देश हो त्यसैले यहाँ हामी नेपालीलाई न दशै न तिहार। यहाँ त कामको मात्र महत्व हुन्छ। दशै मनाए पनि विदाको दिन पारेर मनाउन पर्ने वाध्यता हुन्छ। दशैको दिनमा मैले नै ११ घण्टा काम गरेको छु। यो म लगायत परदेश बस्ने हामी नेपालीहरुको वाध्यता नै हो।
दशै धार्मिक,सामाजिक सांस्कृतिक तथा बैज्ञानिक महत्व र मूल्यको पर्व हो त्यसैले,दशैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरु पनि लुकेका छन। यसरी मान्यजनले आशिष दिदै लगाइदिने टिकाको निकै अर्थपूर्ण महत्व छ। आफ्नो घाँटी हेरेर हाड निलौँ। अरुको देखासिखी नगरि सभ्य तरिकाले दशै मनाऔं। परिवार तथा आफन्तमा आपसि भाइचाराको सम्वन्धलाई अझ गाढा बनाउँदै दशै मनाऔँ, अन्तमा देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई दशैको शुभकामना !
हाल:क्यानडा