शिर्षक: भाटभटेनीका साहु प्रभावशाली हुन थुनामा नराखी छानबिन गर्न सकिंदैन: सिआईबी
भाटभटेनीका संचालकले दिएको निवेदनमा अदालतले मागेको जवाफमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई छाड्दा मुद्दा प्रभावित हुने जिकिर गरेको छ ।
ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ प्रभावशाली व्यक्ति भएकाले थुनामा नराखी अनुसन्धान गर्दा साक्षी तथा जाहेरवालालाई प्रभावमा पार्नसक्ने भनिएको छ ।
‘सबुत प्रमाण नष्ट गर्न सक्ने, अन्य प्रतिवादीहरुलाई भाग्न मद्दत गर्न सक्ने प्रबल सम्भावना देखिएको, निजलाई थुनामा नराखी अनुसन्धान गर्दा पुरै अनुसन्धान प्रभावित भइ तथ्यपरक अनुसन्धान गर्न र अपराधको सञ्जाल पहिचान तथा तहकिकातमा कठिनाइ हुने अवस्था देखिएको..’, बज्राचार्यले दिएको जवाफमा भनिएको छ, ‘निज प्रतिवादीको अख्तियार प्राप्त अधिकारसमक्ष बयान गराउने कार्य बाँकी नै रहेको हुँदा निजलाई थुनामा नै राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने विद्यमानता रहेको ।’
सरकारी लिखत तथा कागजात कीर्ते गरेर बालुवाटारस्थित ललितानिवासको जग्गा हडपेको आरोपमा प्रहरीले गुरुङलाई १२ असारमा उनको निवासबाट पक्राउ गरेको थियो । उनीसँगै ७ जनालाई पक्राउ गरिएपनि पक्राउ परेकामध्ये ३ जनाले पहिल्यै सर्वोच्च अदालतबाट निषेधाज्ञाको आदेश लिएको पाइएपछि उनीहरुलाई ब्यूरोले छाडेको थियो ।
रिट निवेदनले उल्लेख गरेको सर्वोच्च अदालतको उत्पे्रषण परमादेश र प्रतिषेधसमेतको मुद्दामा पक्राउ नगर्नु भनिएका १७ जनाभित्र गुरुङ नपर्ने समेत बज्राचार्यले भनेकी छन् ।
आवश्यक कानूनी कार्यविधिको पालना गरेर थुनामा राखेर अनुसन्धान जारी राखिएकाले गुरुङले बदनियत साथ थुनामा राखेको भन्दै गरेको जिकिर बेमनासिब र फजुल भएको सीआईबीले भनेको छ