पोखरा । विश्व बैंक समुह अन्र्तगत अन्तराष्ट्रिय वित्त निगमका म्यानेजर क्रियटीङ मार्केट एड्भाइजरी सेल्मा, आई.एफ.सी. नेपाल प्रमुख बाबाकार संग गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले भेटवार्ता भएको छ । नेपाल भ्रमणको क्रममा रहेका म्यानेजर सेल्मा तथा आई.एफ.सी. नेपाल प्रमुख बाबाकार सहितको टोलीसंग अर्थ मन्त्री बरालले विहिबार गण्डकी प्रदेशको अर्थ मन्त्रालयमै भेटवार्ता गरेका हुन् ।
मन्त्री बरालले गण्डकी प्रदेशमा लगानीको धेरै सम्भावना भएको बताउदै प्रदेश सरकारले निजी क्षेत्रको लगानी सुरक्षाको लागि लगानी मैत्रि वातावरण तयार गर्दै आएको बताए । गण्डकी प्रदेश सरकारले पर्यटनलार्ई विकास पुर्वाधारको पहिलो आधार बनाएकोले सोही अनुरुप यहाँ पर्यटकीय गतिविधि थप संचालन गर्न निजी तथा साझेदारीमा केही काम गर्न आवश्यक भएको मन्त्री बरालको भनाई थियो ।
योजना बैंकहरु बनाएसंगै प्रदेश सरकारले विदेशी लगानी भित्राउनको लागि लगानी सम्मेलन समेत गर्ने योजनामा रहेको मन्त्री बरालले बताए । पर्यटन, कृषि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी गर्न मन्त्रालयले निगमको टोली समक्ष आग्रह गरेको छ । कोरोनाबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उठाउन सहुलियत दरमा ऋण आवश्यक भएको मन्त्री बरालको भनाई थियो ।
गण्डकी प्रदेश सरकारको आर्थिक विकास र समृद्धिको लागि निगमले प्रदेशमा लगानी गर्ने बिषयमा सकरात्मक भएको टोलीमा सहभागि म्यानेजर सेल्मा बताए । अन्तराष्ट्रिय लगानी बढाउन सकिने उनको भनाई थियो । आफुहरुले साझेदारीमा प्रदेशका केही क्षेत्रमा लगानी गर्न चाहेको आई.एफ.सी. नेपाल प्रमुख बाबा कारले बताए ।
५ दीने नेपाल भ्रमणमा रहेको उक्त टोलीले काठमाण्डौं र गण्डकी प्रदेशको राजधानि पोखरामा भ्रमणको क्रममा प्रदेश सरकार समक्ष भेटघाट गरेको हो । टोलीमा म्यानेजर सेल्मा, आई.एफ.सी. नेपाल प्रमुख बाबाकार, अप्रेसन अफिसर असिम नेपाल, कन्ट्री अफिसर सन्तोष पाण्डे र अप्रेसन अफिसर रेहाना रब्बानी रहेका छन्। कार्यक्रममा मन्त्रालयका अर्थ सचिव बैकुण्ठ अर्याल, मुख्यमन्त्री तथा मत्रिपरिसदको कार्यालयका सूचना अधिकारी विकास थापा मगर लगायतको सहभागिता रहेको थियो ।