देशभरका सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा हुँदा विद्यालयमा पठनपाठन ठप्प भएको छ ।
विद्यालय शिक्षा विधेयकको विरोध गर्न देशभरका शिक्षकहरुले काठमाडौंमा प्रदर्शन थालेका छन् ।
विद्यालय बन्द गरेर काठमाडौंमा भेला भएका उनीहरु माग सम्बोधन नहुँदासम्म नफर्किने अडानमा छन् ।
शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक स्कुलका विद्यार्थीहरु मारमा परेपछि स्थानीय तहहरुले चासो दिएका छन् । शिक्षा विधेयकमा सुधार गर्नुपर्ने मागमा सहमति भएपनि विद्यार्थीको पढ्न पाउने अधिकार हनन नगर्न उनीहरुले अनुरोध गरेका छन् ।
पालिकाहरुले पनि विद्यालय बन्द गरेर आन्दोलनमा गएमा शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । काठमाडौं महानगरले बुधबार बिहानै सूचना सार्वजनिक गर्दै विद्यालय बन्द गरे प्रधानाध्यापक र शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । यसअघि विद्यार्थी संगठनले चर्को शुल्क लिएको भन्दै विद्यालयहरुमा ताला लगाउँदा पनि महानगरले ताला फुटाएर पठनपाठन सुचारु गराएको थियो ।
बुधबार साँझ मात्र काठमाडौं महानगरपालिकाका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै अर्को सूचना नभएसम्मका लागि महानगरभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो ।
लगतै महानगरले विद्यालय अनुगमनको क्रममा विद्यालय बन्द भएको पाइएमा प्रधानाध्यापक तथा शिक्षकलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
काठमाडौं महानगरभित्र ९० वटा विद्यालयमध्ये ५९ वटा माध्यामिक र बाँकी आधारभूत विद्यालयमा दुई हजार २०२ जना शिक्षक कार्यरत छन् । महानगरपालिकाले अनुगमन समिति बनाएर बिहीबार अनुगमन गर्ने तयारी गरेको जनाएको छ ।
ललितपुर महानगरले पनि विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी नहुन शिक्षकहरुलाई आग्रह गरेको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले पनि विज्ञप्ति निकालेर आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिको मौलिक हक र मानव अधिकारको हनन् हुने गरी अनिश्चितकालीन विद्यालय बन्द नगर्न अनुरोध गरेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, सुनसरीको इनरुवा नगरपालिका, दुहबी नगरपालिका, कपिलवस्तुको कृष्णनगर नगरपालिका लगायतले विद्यालय बन्द नगर्न अनुरोध गर्दै विज्ञप्ति जारी गरेका छन् ।