शिर्षक: चलायमान हुँदै चोभार सुख्खा बन्दरगाह, १५ दिनमै ४९ वटा कारको जाँचपास
सुविधासम्पन्न चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारी साधनको संख्या वृद्धि हुन थालेको छ ।
गत असार १४ गते देखि चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारी साधन आउन शुरु गरेकोमा हाल सम्म ४९ वटा सवारी साधन सुक्खा बन्दरगाहमा आइसकेका छन् ।
नयाँ सवारी साधन आउने क्रम निरन्तर जारी रहेको छ । हाल सम्म सांग्रिला मोटर्स प्रा.लि. को पेट्रोलबाट चल्ने ४४ वटा सिट्रोन कारहरु र जि. ओ. अटोमोवाइल्स प्रा.लि. को ५ वटा Double Cab Pick-Up गाडी चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास गर्नेगरी आएको हो । उक्त गाडीहरु वीरगञ्ज एकीकृत जाँच चौकीबाट चोभार सुक्खा बन्दरगाहमा ल्याईएको हो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार हाल सवारी साधन ल्याउन सहजीकरण गरिएको र NADA Automobile Association संग पनि धेरै पटक छलफल गरी चोभार भन्सार कार्यालयबाट भन्सार प्रकृया गराउन सबै प्रकृया व्यवस्थित भएपछि सवारी साधन चोभार आएका छन । आगामी दिनमा अझै सवारी साधन चोभार आउने जानकारी व्यवसायी तथा NADA ले गराएका छन ।
यसका साथै अन्य व्यवसायीहरुसंग पनि चोभारमा सामान ल्याउने विषयमा छलफल भइरहेको ईन्टर मोडल विकाश समितिका कार्यकारी गजुरेलले बताउनुभयो ।
चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि आउने मालवाहक सावरी साधन एवं नयाँ सवारी साधनहरुको लागि प्रबेश शुल्क नि:शुल्क गर्नुका साथै पार्किड्ग एवं गोदाम शुल्क समेत न्यूनतम गरी समितिले स्तरीय सेवा प्रदान गरिरहेको छ । जसको कारण हाल सम्म चोभार सुक्खा बन्दरगाहमा १७६ वटा कन्टेनर र ४९ नयाँ गाडीहरु भन्सार जाँचपासको लागि आइसकेको र उक्त आउने क्रम निरन्तर रुपमा बढी रहेको छ ।
यस्तै आन्तरिक टर्मिनलमा पनि पार्किड्ग एवं गोदाम प्रयोगको लागि आउने व्यवसायीहरुको सख्या बढ्दो क्रममा रहेको छ । गजुरेलका अनुसार चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चल्न केही समय लागे पनि अहिलेको गतिमा भावी दिनमा पूर्ण क्षमतामा चल्ने विश्वास नेपाल ईन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले व्यक्त गर्नुभयो । यसको लागि Fast-Track चाडै संचालनमा आउनु अति आवश्यक रहेको गजुरेलले बताउनु भयो ।