माधव पराजुली, पोखरा
पोखराको तेर्सा पट्टिमा सुनिल नेपालीले मादलको व्यवसाय गर्दै आएको झण्डै २५ बर्ष भयो । उहाँ सँग साढे दुई दशकको मादल, खजैरी लगाएतका बाध्यबाधनका सामाग्रीहरु बनाउने अनुभव पनि छ । केहीँ बर्ष अगाडी मादल बेचेर लाखौँ लाख कमाउन सफल हुनुभएका उहाँ अहिँले भने मादल बिक्रिनै हुनै छोडेपछि व्यवसायनै छाड्ने अवस्थामा पुग्नुभएको छ ।
बिशेषगरी मादल तिहारमा देउसी भैलो खेल्न र अन्य समयमा सांस्कृतिक कार्यक्रमका लागि प्रयोग गर्ने गरिन्छ । मादलको धुनले सबैलाई छुट्टै रौनक थपेको हुन्छ । तिहारको समयमा बढी बिक्री हुने मादल हिजो आज भने बजारमा प्यनड्राईफ, ब्युलुतुथ स्पिकर लगाएतका आाधुनिक उपकरण प्रयोग गरी गीत बजाउने, सुन्ने र नाच्ने चलन भित्रिएसँगै मादलको माग घट्न थालेको छ । विगतका बर्षहरुमा एक महिनामा ३०० भन्दा बढी मादल बिक्री गर्ने गर्नुभएका पोखराका किरण कुलु पछिल्लो समय सिजनमा ३० देखि ४० वटा मादल पनि बेच्न धौधौ हुन थालेपछि आफ्नो मुख्य पेशा नै यही भएको र यसरी चाडपर्वको समयमा पनि मादलको माग घट्दै जादाँ आफूहरुको पेशा धरापमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
मादलको व्यापार घट्नुको प्रमुख कारण एका तिर यसको प्रयोग नै घटेको देखिन्छ भने अर्को तिर महामारीको रुपमा फैलिएको कोरोना भाईरस पनि हो । बिगत दुई बर्ष अघि देखि फैलिएको कोरोना भाईरस अझै पनि हट्न नसक्दा प्रशासनले देउसी भैलो जस्ता अन्य सांस्कृतिक कार्यक्रममा पनि रोक लागाएको छ । जस्ले मेला, बजार र देउसीभैलोमा मादल बजाउने क्रम घटेको छ ।
मादल बनाउनका लागि लाम्पाते, पटमेरो, गिठ्ठे, सिरिस, उत्तिसजस्ता रुखको काठ प्रयोग गर्ने गरिन्छ भने गोरु र बाख्राको छाला पनि प्रयोग गरिन्छ । एउटा मादल तयार हुन लागि ३ दिनदेखि एक साता लाग्ने गर्छ ।
राष्ट्र कवि माधव प्रसाद घिमिरेको कवितामा भने जस्तै नाच्नलाई ताल दिने मादल हो । त्यो हाम्रो राष्ट्रियता र संस्कृतिको पहिचान हो । त्यो मादलको तालमा नेपालीहरू जुर्मुराउँछन् तर त्यही मादल रहेन भने बैंसको तालमा नाच्नै सकिन्न । पछिल्लो समय मादल व्यवसाय घट्दै जानुले मादल व्यवसायीहरुको रोजीरोटी नै गुम्ने तथा पुरानो संस्कृति र परम्परासँग जोडिएको मादलका संगीतलाई जोगाइरहन पनि समस्या देखिएको छ ।