ट्याक्सी चालकको दादागिरी, पठाओ राइडर निर्घात कुटिए, सबैले गरिखान पाउनु पर्छ

0
122

१० चैत, काठमाडौं । सोमबार बेलुकी काठमाडौंको नयाँ बसपार्कमा ट्याक्सी चालकको एक समूहले पठाओ चालकमाथि निर्घात कुटपिट गरेका छन् । आफूले भन्दा सस्तो भाडामा यात्रु चढाएको भन्दै ट्याक्सी चालकहरुले पठाओ राइडरमाथि आक्रमण गरेको पठाओ नेपालले बताएको छ ।

सोमबार साँझ ६ बजेतिर एकजना पठाओ चालक ट्याक्सी चालकहरुबाट निर्घात कुटिएको प्रत्यक्षदर्शी एवं पर्यटन व्यवसायी ध्रुव सिंखडाले बताए । ‘यात्रु कुरेर बसेका पठाओ राइडरलाई शुरुमा ट्याक्सी चालकले लखेटे, उनीहरुले केहीबेर नाराजुलुस पनि गरे, त्यसपछि बाटोमा हिंडिरहेका पठाओ राइडरलाई कुटपिट गरे’, सिंखडाले  भने ।

नजिकैको एक व्यापारिक मलबाट घटना नियालिरहेका उनले अनलाइनखबरलाई उपलब्ध गराएको भिडियो फुटेजमा पनि पठाओ चालकमाथि कुटपिट भएको देखिन्छ ।

एक मिनेट ३५ सेकेन्ड लामो भिडियो फुटेजमा साँझपख केही मानिसहरु नारा जुलुस गर्दै हिंडेको देखिन्छ भने त्यसको केहीबेरमा हेलमेट लगाएका एक पुरुषमाथि निर्घात कुटपिट हुन्छ ।

हाम्रो राइडर कुटिए न्याय पाउँ : पठाओ

सोमबार बेलुकी एक जना यात्रुले नयाँ बसपार्क क्षेत्रबाट आफ्नो घर जान ट्याक्सी चालकसँग भाडा सोधे । ट्याक्सीले १२ सय रुपैयाँ लाग्ने बताएपछि ती यात्रुले पठाओमा जान खोजेपछि विवाद भएको हो । ‘ट्याक्सीले १२ सय भनेको ठाउँमा ६०० मै लैजान्छु भनेपछि ती साथी कुटिए’,  एक जना पठाओ राइडरले अनलाइनखबरसँग भने ।

यात्रु लैजाने विषयमै विवाद भएर आफ्नो राइडर सोमबार बेलुकी कुटिएको पठाओ नेपालकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । ‘हाम्रा यात्रु खोस्ने भनेर हाम्रो राइडरमाथि ट्याक्सीवालाले हातपात गरेको पाइयो, हामीले कसैमाथि पूर्वाग्रह राखेका छैनौं तर हामीलाई अन्याय भयो’, हमालले भनिन् ।

कुटिएका आफ्ना चालकको विवरण कम्पनीले खोजिरहेको पनि उनले बताइन् । पठाओले राइडरमाथि कुटपिट हुनु गम्भीर घटना भन्दै दोषीलाई कारबाही गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्