सुरुङमा हुलिएको मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने

0
89

आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङहुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुग्दैछ।

आयोजनाको मुहानबाट सुरूङमा परीक्षणका लागि छाडिएको पानी आज दिउँसोसम्म सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने आयोजनाले जानकारी दिएको छ। आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार आज दिउँसो २ देखि ४ बजेभित्र सुन्दरीजलमा पानी झर्ने बताए। सुन्दरीजलमा झरेको हेर्न प्रधानमन्त्री केपी शर्मा ओली नै जाँदैछन्‌।

आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरुङमा पानी छाडेको थियो। यसअघि गएको असारमा पहिलोपटक गरिएको परीक्षण असफल भएको थियो।

सुरुङ हुँदै आएको मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ। अहिले भने परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ। परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने आयोजनाका अधिकारीहरूले जानकारी दिएका छन्‌।

सुरुङमा पानी प्रवाह सफल भए अबको तीन महिनाभित्र काठमाडौं उपत्यकामा वितरण प्रणाली विस्तार गरिएको स्थानका नागरिकले मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन्‌।​

यसैबीच खानेपानी आउने अन्तिम बिन्दुमा सजगता अपनाइएको आयोजनाले जानकारी दिएको छ। अन्तिम बिन्दुमा ढोका बन्द गरी आवश्यक सजगता अपनाइएको आयोजनाको भनाइ छ।

आयोजनाले सुरुङमार्गबाट झर्ने पानीलाई बागमतीमा बगाउने तयारी गरेको छ। जसकारण बगमतीको सतह बढ्नसक्ने भन्दै सजग रहन आयोजनाले नदी आसपासमा बसोबास गर्ने सर्वसाधारणलाई सूचित गराइसकेको छ।

प्रतिक्रिया दिनुहोस्