रत्नपार्कको नाम फेरियो : रत्नपार्क भन्न नपाहिने, अबदेखि शंखधर पार्क भन्नुपर्नेछ

0
382

९ मंसिर, काठमाडौं । शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको २१ वर्षपछि ६ मंसिरमा काठमाडौं महानगरपालिकाले रत्नपार्कमा शालिक अनावरण गर्‍यो ।

पार्कभित्र साख्वासँगै पद्मरत्न तुलाधरको शालिक बनाइएको छ । साख्वा नेपाल संवतको सुरुवातकर्ता हुन् भने तुलाधर वामपन्थी राजनीतिज्ञ, मानवअधिकारवादी नेता एवं नेपाल भाषाको भाषिक आन्दोलनका अग्रणी व्यक्तित्व हुन्

साख्वा र तुलाधरको शालिक अनावरणसँगै रत्नपार्कमा शंखधर उद्यानको बोर्ड टाँगिएको छ । यसले रत्नपार्कको नाम परिर्वतसम्बन्धी विवाद पनि सुरु भएको छ ।

रत्नपार्कको इतिहास

वि.सं. २०१७ साल पुस १ गते पञ्चायती शासन व्यवस्था लागू गरेका तत्कालीन राजा महेन्द्रले रत्नपार्क बनाउन लगाएका थिए । त्यसबेला तत्कालीन टुँडिखेल क्षेत्रमा रहेको हालको रत्नपार्क खाली थियो । तत्कालीन रानी रत्न राज्यलक्ष्मीको योजना अनुरुप महेन्द्रले बच्चाहरुको लागि भनेर पार्क तयार पार्न लगाएका थिए । २०१८ सालदेखि निर्माण सुरु गरेर २०२१ सालमा सम्पन्न भएको थियो ।

पार्कको नाम योजनाकार रत्नकै नामबाट राखियो र उनको प्रतिमा पनि स्थापना गरिएको थियो । २०५८ साल जेठ ५ गते रत्नपार्क महानगरको मातहतमा आयो भने २०६३ साल कात्तिक १ देखि महानगरकै वातावरण विभागले यसको व्यवस्थापन गर्न थाल्यो । पार्कको बीचमा रहेको रत्नराज्यलक्ष्मीको शालिक भने २०६२/६३ सालमा आन्दोलनकारीले तोडफोड गरेका थिए । त्यतिबेलासम्म रत्नपार्क अहिलेको जस्तो व्यवस्थित भने थिएन ।

२०७१ साल मंसिर १०–११ मा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनको तयारीका त्रक्रममा काठमाडौं महानगरपालिकाले रत्नपार्कलाई व्यवस्थित बनायो ।

अहिले महानगरपालिकाले नै शंखधरको शालिक राख्नुका साथै पार्कको नाम परिवर्तन गरेको हो ।

किन भयो विरोध ?

तर रत्नपार्कको नाम शंखधर उद्यान राखेपछि केही राजनीतिक दल र अभियान्ताहरुले विरोध गरेका छन् ।

धेरैको विरोध पहिचान बनाइसकेको रत्नपार्कको नाम परिवर्तन गरेकोमा छ । रत्नपार्क, शंखधर साख्वाको इतिहाससँग जोडिएको विशेष क्षेत्र नभएकोले उनलाई उचित सम्मान हुनेगरी अन्यत्रै पार्क निर्माण गर्न सकिने उनीहरुको धारणाा छ ।

काठमाडौं ६ का प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधान, शंखधरप्रति न्याय गर्न अरुको नाममा बनाएको पार्कमा उनको शालिक उभ्याउनु जरुरी नरहेको बताउँछन् ।

आफूहरुले शंखधर साख्वाको शालिक प्रतिस्थापनको नभई इतिहास मेट्ने कम्युनिस्ट चरित्रको विरोध गरेको उनले बताए ।

‘हामीले शंखधर साख्वाको शालिक राखेकोमा विरोध गरेका होइनौं, राष्ट्रिय विभूति घोषणा गर्ने र नेपालभाषालाई राष्ट्रिय भाषाको मान्यता दिने कांग्रेसले यस्तो कहिलै गर्न सक्दैन तर इतिहासलाई मासेर सस्तो लोकप्रियताको लागि काठमाडौं महानगरपालिकाले गरेको निर्णय गलत छ’ प्रधानले अनलाइनखबरसँग भनेका छन्, ‘शंखधर साख्वाको शालिक राख्ने नै हो भने उपत्यकाको तीनै शहरको बीच पर्ने तीनकुनेमा राख्न सकिन्छ, लैनचौरमा पार्क बनाएर राख्न सकिन्छ या त किंवदन्तीले उनीसँगको प्रसंग जोडेको टेकुमा पनि सुन्दर पार्क बनाएर राख्न सकिन्छ । तर बनिसकेको इतिहास भत्काउने काम गलत हो ।’

कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको तथा नरहरि आचार्य सञ्चारमन्त्री हुँदा नेपाल भाषामा नेपाल टेलिभिजन र रेडियो नेपालबाट समाचार भन्ने व्यवस्था मिलाएको उनले स्मरण गरे ।

रत्नपार्कको नाम फर्ने निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्थागत रुपमा नै विरोध जनाएको छ । इतिहास मासेर रत्नपार्कको नाम बदल्ने प्रयासले शंखधरकै उचित सम्मान गर्न नसकेको राप्रपाको ठहर छ । शंखधरको नाममा अन्यत्र कतै छुट्टै संरचना बनाएर उनको शालिक त्यहीँ राख्दा शंखधर र रत्नराज्यको सम्मान हुने पार्टी अध्यक्ष कमल थापाले बताएका छन् ।

के भन्छ महानगर ?

काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोल शालिक स्थापना गरेकाले उद्यानको नाम पनि शंखधर राखिएको बताउँछन् । उद्यानको नाम परिवर्तन हुँदैमा ठाउँ (रत्नपार्क)को नाम बदल्न आवश्यक नरहेको समेत उनले बताएका छन् । रत्नपार्कस्थित शंखधर उद्यान भनेर यसलाई चिनाउन सकिने उनको तर्क छ ।

नेपालको सबै क्षेत्र, जात र भाषिक समुदायले मानेका राष्ट्रिय विभूतिको नाममा उद्यानको नामाकरण गर्दा राजनीतिकरण गर्नुको औचित्य नरहेको डंगोल बताउँछन् । पद्मरत्न तुलाधर पनि बामपन्थी राजनीतिज्ञ एवं मानवअधिकारवादी समेत रहेकोले उनको पनि पार्कको एक छेउमा शालिक राखिएको उनले बताए ।

नाम परिवर्तनको शृङ्खला

त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागकी उपप्राध्यापक डा. टिना मानन्धर नेपालमा पञ्चायती शासन व्यवस्थाको सुरुवात भएपछि राजारानी र परिवारका सदस्यको नाममा विभिन्न परियोजनाको नामाकरण गर्ने क्रम चलेको स्मरण गर्छिन् । सोही समयमा कतिपय संरचनाको नाम परिवर्तनको शृङ्खला समेत चलेको पाइन्छ ।

हाल शहीदगेटको नामबाट चिचिने द्वारलाई दस्तावेजहरुमा नेपाल स्मारक द्वार वा नेपाल द्वार भनिनएको छ । वि.सं. २०१८ वैशाख १ गते निर्माण गरिएको यो द्वारमा प्रजातन्त्र प्राप्तिका लागि बलिदान दिने ४ शहीदको शालिक राखेपछि स्थानीयले शहीदगेट भन्न थाले । अहिले नेपाल द्वार होइन, शहीदगेट भनेर चिचिन्छ ।

त्यस्तै, धरहरालाई वि.सं. २०२०/२१ तिर भीमसेनस्तम्भ नामले चिनाउने प्रयास गरियो । त्यतिबेला औपचारिक रुपमा यसको नाम भीमसेन स्तम्भ नै राखिएको हो । तर अहिलेसम्म पनि त्यो नाम स्थापित हुन सकेन, सबैले पुरानै नाम धरहरालाई मान्यता दिएका छन् । सोही समयमा रामशाह पथ, महेन्द्र राजमार्ग जस्ता विभिन्न परियोजनाको नाम राजा वा राजसंस्थासँग जोडेर राखिएको थियो । यही क्रममा रत्नराज्यलक्ष्मीको इच्छा अनुसार बनाइएको पार्क भएकोले सो पार्कको नाम समेत रत्नपार्क नामले चिनाइएको थियो ।

२०६२/६३ को आन्दोलनपछि यस्तै धेरै नाम परिर्वतनको प्रयास भए, जसमध्ये कति सफल भएका छन् भने केही नाम जनजिब्रोमा बसिसकेकाले फेरिएन र

विशेष परिस्थितिबाहेक यसरी एउटा इतिहास र पहिचानको रुपमा विकास भइसकेको ठाउँको नाम परिवर्तन गर्नुभने उचित नहुने जानकारहरुको बुझाइ छ ।

त्यही मत राख्नेमध्येका एक पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की फ्रान्सको राज्यक्रान्ति सफल भएपछि पनि त्यहाँका राजारानीको नाममा रहेको ठाउँको नाम परिवर्तन नभएको स्मरण गर्छन् । ‘यहाँ त देशको नामै परिवर्तन गर्नुपर्छ भन्नेहरु भेटिन्छ, इतिहास मेटेर झण्डा परिवर्तन गर्ने कुरा आउँछ । त्यस्तोमा एउटा पार्कको नाम परिवर्तन गर्नु सामान्य होला’ उनले भनेका छन्, ‘तर स्थापित नामलाई परिवर्तन गरिरहनु आवश्यक छैन ।

प्रतिक्रिया दिनुहोस्