बिग्रेको सडक उप्काएर पुन: कालोपत्र गर्न ठेकेदारलाई निर्देशन

0
13

गोरखाको बाह्रकिलोमा आज बिहान स्थानीय बासिन्दाले कालोपत्र सडक उप्काइदिए।

आइतबार यो सडक कालोपत्र गरिएको थियो।

राम्रोसँग सेट भइनसकेको कालोपत्र स्थानीयले हातले चपरी चपरी निकालेका हुन्।

मानिस हिँड्दा पनि कालोपत्र उप्केकोले यो सडक दीर्घकालीन नहुने भन्दै स्थानीयले विरोध गरेका हुन्।

गोरखास्थित एघारकिलो-छेपेटार-भालुस्वाँरा-बारपाक सडक आयोजना कार्यालयले यो सडक कालोपत्र गर्न ठेक्का लगाएको थियो।

ठेक्का पारेका थिए- गोरखाकै निर्माण व्यवसायी उत्तम भट्टले।

उनको फर्म गोरखा एप्रोप्रियट प्रालिले एक करोड ७७ लाख रूपैंयामा बाह्रकिलोदेखि सिर्दीखोलासम्म डेढ किमी सडक कालोपत्रेको जिम्मेवारी लिएको थियो।

पटकपटक म्याद थप गर्दा पनि उनले यो सडक कालोपत्र गरेका थिएनन्। कात्तिक ३० गतेसम्म म्याद रहेकोले उनले आइतबारदेखि सडक कालोपत्र थालेका थिए।

यो सडक निर्माणका लागि ठेक्का लगाएको गोरखास्थित सडक कार्यालयका निमित्त प्रमुख राजेशकुमार यादवले अहिलेसम्म एक सय मिटर मात्रै कालोपत्र गरेको बताए।

‘उहाँहरूले डेढ किमी सडक कालोपत्र गर्नुपर्नेमा अहिलेसम्म करिब एक सय मिटर कालोपत्र गर्नुभएको छ। हिजोदेखि कालोपत्रको काम सुरू गर्नुभएको हो,’ उनले भने, ‘सुरूमै केहि ठाउँमा कमजोरी देखियो।’

उक्त सडक कालोपत्रको काम आफूहरूले पनि सुष्म ढंगबाट गरिरहेको दावी उनले गरे।

‘कालोपत्र राम्रोसँग सेट नभएको तथा बिग्रेका ठाउँमा पुन: कालोपत्र गर्न निर्माण व्यवसायीलाई पत्राचार गरिसकेका छौं,’ उनले भने।

स्थानीय बासिन्दाले गुणस्तरहीन भन्दै उप्काएकालगायत अरू ठाउँमा पनि कालोपत्र सेट नभएको र बिग्रेको पाइएमा निर्माण व्यवसायीले पुन: कालोपत्र गर्नुपर्ने यादवको भनाइ छ।

यो सडक २० एमएम (पौने एक इन्च) बाक्लो कालोपत्र गर्नुपर्ने नियमअनुसार नै काम भइरहेको उनको भनाइ छ।

सडकको ग्रेड नमिलेको ठाउँमा कालोपत्र नअडेर सेट नहुँदा केहि समस्या देखा परेको उनले बताए।

‘त्यहाँ अलि हाइ ग्रेड छ। त्यसले पनि कालोपत्र सेट हुन पाएन कि,’ उनले भने, ‘अर्को कारण कालोपत्र रोलिङ गर्दाको तापक्रम नमिलेर पनि हुनुपर्छ।’

कालोपत्र रोलिङ गर्दा १३० डिग्री सेल्सियस तापक्रम हुनुपर्ने उनले बताए।

उनका अनुसार बिग्रेका ठाउँमा सडक पुन: कालोपत्र गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ।

बाँकी रहेको समयभित्रै कालोपत्र गर्न नसके निर्माण व्यवसायीलाई कानुनअनुसार कारवाही गर्ने उनले बताए।

‘कालोपत्र सुरू गर्दा नै केहि कमजोरी देखिएको छ। सुधार गरेर कामलाई अगाडि बढाउनुभयो भने कात्तिक ३० गतेसम्म काम सकिन्छ,’ उनले भने, ‘काम सक्नु भएन भने नियमअनुसार कारवाही गरिन्छ।’

सडक निर्माण गर्दै आएको गोरखा एप्रोप्रियटका ईञ्जिनियर अबिजित कोइरालाले सडक कालोपत्र गर्दा रोलिङ तापक्रम भने केहि कम रहेको बताए।

‘कालोपत्र बिच्छाउँदा तापक्रम १३० डिग्री सेल्सियस हुनुपर्ने भन्ने छ। हामीले कालोपत्र गर्दा तापक्रम ९५ डिग्री सेल्सियस हाराहारी थियो,’ उनले भने, ‘कालोपत्र तयार पारेको ठाउँबाट बिच्छाउने ठाउँसम्म पुर्‍याउँदा केहि तापक्रम त अवश्य नै घट्ने भइहाल्यो।’

प्रतिक्रिया दिनुहोस्