विष्णु पौडेलले अर्थमन्त्री पदसँग राजधानी साटे : नेपाली कांग्रेस

0
104

१६ असोज, बुटवल । प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव शुक्रबारको संसद वैठकमा पेश गरेको विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलन सुरु गरेको छ ।

उक्त प्रस्ताव प्रदेशसभामा टेबल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले बुटवल, मणिग्राम र सैनामैनामा सडकमा उत्रिएर विरोध जनाएका छन् । पार्टीका भातृ संगठनहरु तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति जारी गर्दै कठोर आन्दोलनमा उत्रिएको उल्लेख गरेका छन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै स्थायी राजधानी सार्न नदिन सडक र सदन तताउने उनले बताएका छन् ।

विज्ञप्तिमा नेकपाका केही नेताको स्वार्थमा रुपन्देहीवाट राजधानी सार्ने प्रयासको विरुद्ध पार्टीका आम कार्यकर्तादेखि रुपन्देही तथा छिमेकी जिल्लाका सर्वसाधारणहरुलाई आन्दोलनमा सहभागी हुन अपिल गरिएको छ । वहुसंख्यक जनताको केन्द्र, पूर्वाधारका हिसाबले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णय प्रति कठोर आन्दोलन शुरु भएको कांग्रेसले जनाएको छ ।

प्रदेश राजधानी दाङ सार्ने नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिको पृष्ठभूमिमा पार्टीका महासचिव विष्णु पौडेलले अर्थमन्त्री पद पाउने सहमति भएको कांग्रेसको दावी छ ।

‘विष्णु पौडेलजीले अर्थमन्त्री पदसंग राजधानी साटेर गद्दारी गर्नुभएको छ’–कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले अनलाइनखबरसंग भने–‘अर्थमन्त्री पाउने भएपछि उहाँको बोली बन्द भएको छ ।’ विष्णु पौडेल रुपन्देहीबाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्