कविता “पहेँलो दृष्टि”

0
101

पहेँलो दृष्ट्रि
––कोमल फुयाल
रेल चढेर, पानी जहाजमा आएको
मेरो प्रधानले गैंडालाई गेडा भन्ने
मेरो स्कुले बिएससी सरलाई च्यालेन्ज गरेको होः
राइनो खारेज भयो।
जुन देशमा छैन, तिनको भाषा किन मान्नु?
सुन्दा रमाइलो, पढ्दा आनन्द आउने,
अगाडि बस्दा अलौकिक प्रधान
पहिलो प्रधान दोस्रोभन्दा उच्च,
ठूलो, अनुहार देख्दा नै मजा आउने,
हाँसोको फोहोरो छुट्ने।

हो, त्यो फोहोरा जसले युवा छाती बारपार गर्न सक्थ्यो
बालुवाटारमा, सिंहदरवारमा, मण्डलामा, बानेश्र्वरमा
प्रधानको अगाडि पछाडि हाँसोको फोहोरा छुट्छ
मानिसहरू अल्हादित हुन्छन्
प्रधान राजा हो भन्न मन लाग्छ
हो, गणतन्त्रको डरले मात्र नभनेको हो।

मामा आए घोडा, माइजू आइन डोली
त्यो त कथा हो,
मामा, माइजू त्यती सानदार छैनन्
गरिबगञ्जदेखि भिखना टोलसम्म चर्चा खासै सुनिदैन्
मामामाइजू छुट्टाछुट्टै आउछन्, जान्छन्
मलाई हतारो हुन्छ
माइजूको सोली खोताल्छु
के छ, पापा?

हावाले मामामाइजू उडाउछ
मामा हावा चढेर आउछन्
माइजू बादलमाथि देखिन्छिन्,
ओहो, मामा नै त प्रधान रहेछन्,
माइजू त माइजू नै होइन रहिछन्
सूक्ष्म जीवन माइजू बनिछन्
मामाले सोलीबाट रूमानी सपना खसालीदिए
हुलका हुल मान्छे निस्किए
रत्नपार्कभरि, गठ्ठाघरभरि, बालाजुदेखि स्वयम्भूसम्म
व्यानर बोकेका,
कल्पनाका उपजहरू।

प्रधान, गम्भीर मुद्रामा बोल्दछन्,
“भिड होइन, एक्लै बस्नु ठूलो कुरा हो।”
सेतो बादलमा पहेंलो रंग पोतेर बोल्दछन्,
“क्रान्तीको प्रतिक बेसार हो, जीवनको मौसम असार हो।”
भिड शान्त हुन्छ, फगत एउटा झिनो स्वर सुनिन्छः
एक टुक्रो अदुवा, एक पोटी लसुन।

प्रतिक्रिया दिनुहोस्