कोरोनाबाट चौंथो व्यक्तिको मृत्यु,संक्रमितको संख्या ६७५

0
241

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।

वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ।

७० वर्षीय ती वृद्ध मृगौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।

नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको सेतोपाटीलाई जानकारी दिए।

‘शंकास्पद लक्षण देखिएका उनको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाएका थियौं अहिले भर्खरै  पोजेटिभ नतिजा आयो भनेर मलाई इमेल आएको छ,’ उनले भने।

ती वृद्धमा मृगौलाको समस्या पनि रहेको पर्साका जिल्ला सहायक प्रमुख ललित बस्नेतले जानकारी दिए।

‘उहाँ मृगौलाको समस्या भएपछि नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना हुनुभएको थियो। जेठ ४ गते मृत्यु भएपनि कोरोनाको रिपोर्ट भने आ पोजेटिभ आएको छ,’ उनले भने।

ती मृतकका परिवारले उनको अन्तिम संस्कार गरिसकेका छन्।

यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दैका काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ जना कोरोना संक्रमित थपिएका हुन्। काठमाडौंको टोखा नगरपालिका- ३ र ६ मा  दुई जना र बुढानिलकण्ठ-३ मा एक जनालाई कोरोना संक्रमण देखिएको हो।

सोमबार धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४,   बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ।सोमबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। जेठ ४ गते वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका बारा कलैयाका वृद्धमा कोरोनाको संक्रमण भएको रिपोर्ट आएसँगै मृतकको संख्या ४ पुगेको हो।

प्रतिक्रिया दिनुहोस्