
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रीनकार्ड र आप्रवासमा रोक लगाउनेसम्बन्धी कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन्।
पछिल्लो कदमसँगै अमेरिका प्रवेशका लागि बाटो खुलेकोमा ढुक्क भएका केही मानिसहरुको ग्रीनकार्ड रद्द हुने भएको छ। अमेरिकी नागरिकको रोजगारी सुरक्षित गर्न यो कदम चालिएको ट्रम्पले उल्लेख गरेका छन्।
आलोचकहरुले ट्रम्पको यो कदमलाई कोरोना महामारीका बेला उनले लिएको कट्टरपन्थी आप्रवासन नीति कार्यान्वयन गर्ने प्रयास भएको संज्ञा दिएका छन्। ट्रम्पले राष्ट्रपति चुनिनु अघिदेखि नै आप्रवासन नीति र आप्रवासीहरुमाथि निशाना साँध्दै आएका छन्।
President @realDonaldTrump is suspending new immigrant visas to put American communities and workers FIRST as we move toward safely reopening the economy.
कोरोना भाइरस संक्रमण अवस्थाबारे जानकारी दिन ह्वाइटहाउसमा बुधबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, यो कदमले अमेरिकी नागरिकलाई रोजगारी सुनिश्चित गराउनेछ, हाम्रो अर्थतन्त्र खुल्नासाथ पहिलो चरणमा अमेरिकीहरुले नै रोजगारी पाउनेछन्।
कसको ग्रीनकार्ड खोसिनेछ ?
अमेरिका रहेका आफन्तबाट प्रायोजन (स्पोन्सर) सुनिश्चित गरेर अमेरिका जान खोजिरहेकाहरुको ग्रीनकार्ड पछिल्लो निर्णयसँगै खोसिने सम्भावना उच्च रहेको बीबीसीले जनाएको छ।
राष्ट्रपति ट्रम्पले यस्तो आप्रवासलाई साङ्ले आप्रवास (चेन माइग्रेसन) भन्ने गरेका छन्। तर यसले अमेरिकी नागरिकका वैवाहिक सदस्य र २१ वर्षमुनिका व्यक्तिहरुलाई अमेरिका आउन समस्या नपर्ने अपेक्षा गरिएको छ।
पछिल्लो कार्यकारी निर्णयसँगै डाइभर्सिटी भिसा लोटरी (डिभी लोट्री) पनि बन्द हुनेछ। डिभी लोट्र्रीमार्फत वर्षेनी ५० हजार भन्दा बढी मानिसहरुलाई अमेरिकाले ग्रीनकार्ड दिने गरेको छ।
कस्तो असर पर्छ ?
कोरोना महामारी फैलिएलगत्तै अमेरिकाले प्रवेशाज्ञा दिने प्रकृया केही साताका लागि स्थगित गरेको थियो। वासिङ्गटनस्थित आप्रवासन नीति संस्थानका अनुसार ट्रम्पको पछिल्लो नीतिका कारण प्रत्येक महिना २० हजार हाराहारीमा ग्रीनकार्डका लागि आवेदन दिनेहरु रोकिइने भएका छन्।
आप्रवासन अभियन्ताहरुले पछिल्लो कदमका कारण अमेरिकाभर रहेका कामदार र उनीहरुको परिवार वास्तविक पीडामा फस्ने देखिएको बताएका छन्।
कोरोना भाइरस फैलिएपछि अहिलेसम्म दुई करोडभन्दा बढी अमेरिकीहरुले रोजगारी गुमाएका छन्। उनीहरुको रोजगारी फर्काउन आफू कर्तव्य परायण रहेको ट्रम्पले बताउने गरेका थिए।
पछिल्लो महामारीका कारण अमेरिकामा अहिलेसम्म ४६ हजार भन्दा धेरै मानिसको ज्यान गएको छ भने आठ लाख ४० हजारभन्दा धेरै संक्रमित भेटिइसकेका छन्।