ग्याष्ट्रिकमा हेलचक्रयाईं नगरौं, इण्डोस्कोपी गरौं

0
44

ग्याष्ट्रिकको शंका लागे मेडिकलबाट औषधी किन्ने होइन अस्पताल जाने

ग्याष्ट्रिक नेपालीको आमसमस्या हो। ग्याष्ट्रिकको लक्षण नदेखिएका नेपाली कमै छन्। आफ्नो जीवनकालमा सबैजसोले एकपटक ग्याष्ट्रिकको पीडा भोगेका हुन्छन्।

पेट असजिलो हुने, पेट फुल्लिने वाकवाक लाग्ने, अमिलो पानी आउने, ढ्याउ आउनेजस्ता समस्या कुनै न कुनै समय हरेकले भोगेका हुन्छन्।

यस्तो हुनसाथ औषधी पसलमा गएर तुरून्तै औषधी खाइहाल्ने, अलिकति ठीक भयो फेरि अर्को पटक दुख्दा खाइहाल्ने चलन छ। यसले तत्कालका लागि राहत दिन्छ, पूर्ण रूपमा निको हुन सक्दैन। के कारणले भएको भन्ने पनि पत्ता लाग्दैन।

सामान्य ग्याष्ट्रिक भएकालाई निको हुन पनि सक्छ। तर अल्सर भएको रहेछ भने त्यसले एकछिनका लागि आराम दिन्छ, केही समयपछि फेरि दोहोरिन्छ। यसरी दुखाइसँगै औषधी खाँदै जाने हो भने भित्री भागमा यसले नकरात्मक असर पार्छ। त्यसैले रोगको पहिचान पहिला हुनुपर्छ।

बिरामी सुरूमै ग्याष्ट्रिक भयो भनेर आउँछ तर यसको कारण के हो भन्ने पत्ता लागेको हुँदैन। उसले औषधी भने अनावश्यक रूपमा प्रयोग गरिरहेको हुन्छ।

ग्याष्ट्रिक कसरी पत्ता लगाउने

ग्याष्ट्रिक भए/नभएको इन्डोसकोपी गरेर पत्ता लगाउन सकिन्छ भने नगरिकन पनि रोग पहिचान हुन्छ। मुखमा फुक्ने विधि प्रयोग गरेर, रगत,पिसाब र दिसाको परिक्षण गरेर ग्याष्ट्रिक गराउने ब्याक्टेरिया भए/नभएको थाहा हुन्छ। विशेष तरिकाले परीक्षण गर्न इन्डोस्कोपी नै जरूरी छ।

कहिले गर्ने इन्डोस्कोपी

ग्याष्ट्रिक भएको थाहा भएपछि औषधी खाएर पनि कम भएन भने त्यसलाई हेलचक्र्याँइ गर्नु हुँदैन। त्यस्तो बेलामा तुरून्तै अस्पताल आएर सम्बन्धित चिकित्सकलाई जचाएर इन्डोस्कोपी गर्नुपर्छ। ४५ वर्ष पुगेपछि ग्याष्ट्रिक समस्या भयो भने इन्डोस्कोपी गर्नुपर्छ। यो उमेरमा अरू समस्यासमेत निम्तिन सक्ने भएकाले यसको स्क्रिन गर्न जरूरी छ। इन्डोस्कोपी गर्नुपर्ने अन्य अवस्था यसप्रकार छन्।

१.कसैलाई कालो दिसा जाने, मुखबाट ह्वाल्ल रगत जाने भयो भने तुरून्तै इन्डोस्कोपी गर्नुपर्छ।

२. थकाइ लाग्ने, हिँड्दा स्या स्या हुने, मुटु हल्लिने, शरीरमा रगत नभएजस्तो गरी सेतो हुने अनि परीक्षण गर्दा हेमोग्लोबिन कम देखियो भने र रक्तअल्पता भयो भने इन्डोस्कोपी गर्नैपर्छ। किनकी रक्त अल्पता भयो भने कुनै न कुनै कारणले भित्रबाट रगत गइरहेको हुनसक्छ। के कारणले रगतको कमी भयो भन्ने थाहा पाउन पनि इन्डोस्कोपी गर्न पर्छ। यस्तो गरियो भने अल्सर भएर रगत बगेको छ कि छैन पत्ता लगाउन सकिन्छ।

२. कोही बिरामीलाई तारन्तार बान्ता भइरह्यो भने इन्डोस्कोपी गर्नुपर्छ।

३. निल्न गाह्रो भयो भने धेरै बिरामी नाक, कान घाँटीको चिकित्सककहाँ जान्छन्। खाना नलीमा समस्या आयो भने पनि यस्तो हुन सक्छ। यस्तो अवस्थामा पनि इन्डोस्कोपी गर्नुपर्छ।

४.जन्डिस भएका बिरामी र कलेजोको बिरामीलाई पनि जरूरी छ। बाथ रोगका बिरामीले दुखाइ कम हुने औषधी खाएका हुन्छन् यस्ता बिरामीको पनि इन्डोस्कोपी गर्नुपर्छ। औषधीले गर्दा अल्सर भएको हुनसक्छ। त्यसैले बिरामीलाई कुनै लक्षण नदेखिए पनि इन्डोस्कोपी जरूरी छ।

५.मुटुका रोगीले रगत पातलो गर्ने औषधी खान्छन्। यसले गर्दा ग्याष्ट्रिक गराउन सक्छ। त्यसैले अलिकति मात्रै समस्या आयो भने इन्डोस्कोपी गराइहाल्नुपर्छ।

समयमै इन्डोस्कोपी गरियो भने रोगलाई निको पार्न सकिन्छ।

इन्डोस्कोपी गर्दा अल्सर भेटिएन साधारण दागमात्रै भेटियो भने वायस्पी लिइन्छ। ग्याष्ट्रिकको किटाणु भए/नभएको परीक्षण हुन्छ। यदि किटाणु रहेछ भने ग्याष्ट्रिकको उपचार गर्नुपर्छ। ग्याष्ट्रिकको किटाणु लामो समयसम्म रह्यो भने क्यान्सरसमेत निम्त्याउँछ। त्यसैले इन्डोस्कोपी गर्ने भन्दैमा आत्तिनु र डराउनु हुँदैन। यो हेर्दा अफ्ठ्यारोजस्तो लागे पनि यसले अन्य असर गर्दैन। दुईदेखि पाँच मिनेटमा इन्डोस्कोपी सकिन्छ। इन्डोस्कोपीबाट आएको सूचनाका आधारमा बिरामीको उपचार हुन्छ। ग्याष्ट्रिकको कारण र अन्य समस्यासमेत पत्ता लगाउनका लागि इन्डोस्कोपी जरूरी छ।

प्रतिक्रिया दिनुहोस्