पहाड उक्लिँदै छन् तराईका सर्प, टोकाइबाट जोगिने कसरी?

0
49

मानिस र सर्प द्वन्द्व

सर्पलाई नागदेवता भनेर पूजा पनि गरिन्छ। गाउँघरमा भने सर्प देख्नेबित्तिकै मार्ने पनि गरेको पाइन्छ। कति ठाउँमा त यसलाई भोजनको रूपमा पनि उपयोग गरिन्छ। विशेष गरी सहरीकरणले सर्प बस्ने ठाउँ पनि अतिक्रमण हुँदै गएको छ। जलवायु परिवर्तनसँगै सर्पको विष पनि कडा हुँदै गएको अनुमान छ।

तराईमा मात्रै पाउने सर्प पनि पहाडतिर उकालो लाग्दै छन्। गर्मीले गर्दा यस्तो भएको हुन सक्छ। मानिस र सर्पबीचको यो द्वन्द्व रहिरहन्छ होला। ‘इकोसिस्टम’का लागि पनि सर्प जरूरी छ।

जस्तै, किसानको खेतको मुसा सर्पले खाइदिएन भने धान नै भित्र्याउन पाउँदैन।

अर्को कुरा, सबै सर्प बिषालु हुदैनन्। नब्बे प्रतिशत सर्प बिषालु हुदैनन्। विषालुमध्येमा पनि मानिसलाई डसेर समस्या पार्ने गोमन र करेतले हो। जतिसुकै विषालु सर्पले पनि भोक लागेर डस्न आउने होइन।आफूलाई सुरक्षा खतरा देख्यो भने मात्रै डस्ने हो।

नेपालमा सर्पको बिगबिगी छ। विशेष गरि मनसुन सुरू भएसँगै सर्पको डसाइ पनि बढ्दै जान्छ। अहिले त बाढीले सर्पदंशको संख्या ४ गुनाले बढेको तथ्यांकले देखाएको छ।

देशव्यापी रूपमा हामीले गरेको अनुसन्धानअनुसार नेपालमा वर्षेनी झन्डै ४० हजार व्यक्तीलाई सर्पदंश हुने गर्छ। यो संख्या तराई क्षेत्रको मात्रै हो। हामीले तराईका २६ मध्ये २३ जिल्लामा अनुसन्धान गरेका हौं। पहाडको पनि तथ्यांक जोड्ने हो भने संख्या अझै बढेर जान्छ। पहाडमा हरियो सर्पले धेरै टोक्छ।

सर्पदंशको कारण

तराईका ग्रामीण भेगमा सर्पदंश बढी हुन्छ। गरिब मानिस,जो खेती किसान गर्नुहुन्छ, जंगल जानुहुन्छ, घास दाउरा गर्नुहुन्छ,गाईवस्तु चराउनुहुन्छ, उहाँहरूको जीवनमा सर्पसँग जम्काभेट हुने अवस्था धेरै आउँछ। सर्पले डस्ने खतरा हुन्छ।

अर्कोतिर राति सुतिराखेको ठाउँमा पनि करेतजस्ता सर्पले टोक्छन्।
निदाएको बेला हातखुट्टा चलाउँदा छोइएर सर्पलाई चोट लाग्यो भने सर्पको डस्ने सम्भावना बढी हुन्छ।

रातिमा सर्पले डसेर मृत्यु हुनेको संख्या निकै बढेको छ। गाउँघरको समस्या भएको हुनाले उपचारको पनि अभाव छ।

नेपालमा हुने सर्प गोमन र करेत हुन्, उनीहरूको टोकाइबाट स्नायु प्रणालीमा असर गर्छ। त्यसले गर्दा आँखाको लोतीमा प्यारालाइसिस भएर नचल्ने हुन्छ। मुख, जीब्रो, घाँटी, गर्दन र फोक्सो चलाउने मांसपेशी प्यारालाइसिस हुँदै गएपछि श्वास फेर्नै नसकेर बिरामीको मृत्यु हुन्छ।

सर्पदंशको उपचार

सर्पले डसेको मुख्य औषधी ‘एन्टी स्नेक भेनम’ हो। बोलीचालीमा यसलाई बिष झार्ने औषधी भनिन्छ। गाउँघरमै यो औषधी सहजै उपलब्ध छैन। दक्ष जनशक्ती पनि छैनन्। ‘एन्टी स्नेक भेनम’ ले काम गरेन भने कृत्रिम श्वासप्रश्वास दिने जनशक्ति पनि छैन। यही कारणले सर्पदंशबाट मृत्यु हुनेको संख्या बढेको हो।

सर्पदंशबाट मृत्यु हुनेमध्ये ८० प्रतिशत मानिस गाउँकै हुन्छन्। किनकी उनीहरू अस्पताल पुग्न सक्दैनन्।

गाउँमा दक्ष जनशक्ति छैन। हाम्रो उपचार सहर केन्द्रित छ। गाउँघरमा प्यारामेडिक्सहरू मात्रै हुन्छन्। उनीहरूकै भरमा स्वास्थ्यसंस्था चलेका छन्। नेपाली सेनाले आफ्ना ब्यारेकमा सर्पदंश उपचार केन्द्र राखेको छ। दमक रेडक्रसले पनि सर्पदंश उपचार केन्द्र स्थापना गरेको छ। जम्माजम्मी ८० ठाउँमा यस्ता उपचार केन्द्र छन् तर सबै ठाउमा यो उपचार हुँदैन।

श्वासप्रश्वास बन्द भयो भने कृत्रिम श्वासप्रश्वास दिने सम्भावना त्यहाँ रहँदैन। डाक्टरहरूले पढ्दा सहर केन्द्रित संस्थाहरूबाट पढेका हुन्छन्, सर्पदंशको बिरामी समेत देखेको हुँदैनन्। उहाँहरूलाई खासै पढाइएको पनि हुँदैन। त्यही भएर कोही बेलामा ज्ञानको पनि कमी हुने सम्भावना हुन्छ।

अस्पतालमा मात्रै पुगेकालाई आधार मानेर हुँदैन। यो त सागरको हिउँको ढिक्काको टुप्पोजस्तो मात्रै हुन्छ। सर्पले डसेकामध्ये बीस प्रतिशतमात्रै अस्पताल आउँछन्। अरू त अस्पताल पुग्नुभन्दा पहिला नै मृत्युको मुखमा पुगिसकेका हुन्छन्।

सर्प दंशबाट कसरी बच्ने

गोमन र करेतको दाँत छोटो र सानो हुन्छ। त्यसैले सकिन्छ भने लुगा अनि जुत्ता लगाएर हिँड्ने गर्नु पर्छ। खेती किसानी गर्दा यो व्यवहारिक हुँदैन होला तर पनि सकेसम्म ख्याल गर्नुपर्छ। राति हिँड्दा बत्ती बालेर,टर्च लाइट लिएर हिँड्नु पर्छ। जंगलतिर जाँदा लट्ठीले ठ्याकठुक पारेर हिँड्नपर्छ। त्यसरी हिँड्यो भने जोगिन सकिन्छ। मुसा बस्ने प्वालहरूमा हात छिराउनु हुँदैन। ढुंगाहरू पल्टाउँदा ख्याल गर्नुपर्छ। गाउँघरमा त कोही बेला सिरानीमूनि, जुत्ताभित्र पनि सर्प बसेको हुन्छ। राति सुतेको बेला झुलको लगाउनु पर्छ।

यति गर्दा पनि सर्पले डस्यो भने तुरून्तै अस्पताल लैजानुपर्छ। मोटरसाइकलमा लग्यो भने चाँडो अस्पताल पुर्‍याउन सकिन्छ। मोटरसाइकल स्वंयसेवकको अवधारणा ल्याइएको छ।

नेपालमा पाइने सर्पले टोक्दा दुई किसिमको असर पर्छ। गोमन र करेतले टोक्यो भने स्नायुतन्त्रमा असर गर्छ। अर्को बाघे सर्प हो,यसले डस्दा रगत पातलो हुन्छ भने डसेको ठाउमा सुनिन्छ। यस्ता सर्पले टोकेमा विष झार्ने औषधी प्रयोग गर्नुपर्छ।

‘ग्रिन पिट भाइपर’ भन्ने सर्प छ, त्यसले टोक्दा बाहिर देखिने गरी रगत आउँदैन तर भित्र रगत पातलो हुन्छ र डसेको ठाउँमा सुन्निने हुन्छ। त्यस्तो बेलामा डाक्टरको निगरानीमा राखेर उपचार गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्