‘नेपालमा सैन्य अखडा राखेर चीन र भारतमाथि हमला’

0
52

काठमाडौं, ६ असार । नेपालमा सैन्य अखडा राखेर चीन र भारतविरुद्ध आक्रमण गर्ने योजना मुताबिक अमेरिका सक्रिय रहेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका एक प्रभावशाली नेताले सनसनीपूर्ण खुलासाहरु गरेका छन् ।

ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा गुरुङले अमेरिकी गुप्तचर नियोगका अधिकारीहरुको नेपालमा नियमित आवतजावत र गोप्य सम्मेलनको खुलासा गर्दै नेपालमा फौजी क्याम्प राख्ने योजना अनुसार पछिल्लो गतिविधि निर्देशित भएको दाबी गरे ।

‘अमेरिका नेपालमा फौजी क्याम्प राखेर उत्तर र दक्षिणी छिमेकीमाथि हमला गर्न आउँदैछ,’ गुरुङले भने,‘यसलाई रोक्न सकिएन भने नेपाल नै सिद्धिन सक्छ ।’ सैन्य अखडा बनाउनकै लागि नेपाललाई इन्डो प्यासिफिक रणनीतिभित्र पार्न दबाब दिइरहेको बताए ।

गएको एक वर्षयता अमेरिका अखडा बनाउन सक्रिय रहेको प्रमाणहरु जगजाहेर रहेको भन्दै गुप्तचर प्रमुखको भेट देखि सैन्य आवत्जावत् बाक्लिएको खुलासा गरे । उनले भने,‘इन्डो प्यासिफिकका अमेरिकी गुप्तचर विभागका प्रमुखहरुको हायात होटलमा तीन दिनसम्म सम्मेलन गरिएको थियो ।’

युनिभर्सल चर्चका नाममा एशिया प्यासिफिकका नाममा इशाइहरुको सम्मेलन पनि नेपालबाट दलाई लामाको मुद्दा उठाउने योजना अनुसार भएको बताए । उनले भने,‘ इशाई धर्मको प्रचारका साथै दलाई लामाको विषय उठाउन इशाइहरुको सम्मेलन गरिएको थियो ।’

सबै गतिविधि नेपालमा सैन्य अखडा कायम गर्ने उद्देश्य अनुसार रहेको आरोप लगाए । नेपालका परराष्ट्रमन्त्रीलाई अमेरिका बोलाएर इन्डो प्यासिफिकमा प्रवेश गर्न दबाब दिएको बताए । उनले भने,‘ अमेरिकाको इन्डो प्यासिफिक मामलाका सेनापति नेपाल भ्रमण गरेर इन्डो प्यासिफिकमा प्रवेश गर्न दबाब दिएर फर्किएका छन् ।’

अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्न खोजिरहेकोप्रति इंकित गर्दै सैन्य अखडा राख्न यस्ता गतिविधि भइरहेको बताए । उनले भने,‘ नेपाललाई खेलमैदान बनाउने प्रयास गर्दैछ ।’

अमेरिकी रक्षा सहायकमन्त्री नेपाल आएर दबाब दिएको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका भ्रमणमा जाँदा अमेरिकी विदेशमन्त्रीले विज्ञप्ति निकालेर नेपाल इन्डो प्यासिफिक क्षेत्रमा महत्वपूर्ण केन्द्र बन्ने भनेर विज्ञप्ति निकालेको उल्लेख गरे । उनले भने,‘यी सबै गतिविधि सैन्य अखडा खोल्ने उद्देश्यले भइरहेको छ ।’

इन्डो प्यासिफिक क्षेत्रमा सैन्य गठबन्धन गरेर एशियाको समृद्धि रोक्ने अमेरिकी योजनाबाट गम्भीर हुनुपर्ने बताए । उनले भने,‘जनसंख्या, स्रोत साधन र अर्थतन्त्रको औडाहा भएको छ । पश्चिमको सुपरपावर झर्दैछ । एशियामा विकास हुन नदिन, पश्चिमको एकाधिकार कायम गर्न खोजिरहेको छ ।’

अमेरिकाले व्यापार युद्ध मात्र नभई भौतिक रुपमा युद्ध गर्न खोजिरहेको आरोप लगाए । अमेरिकालाई साम्राज्यवादी देश भन्दै उसले विश्वका एक सय २० भन्दा बढी मुलुकहरुमा सैन्य अखडा राखेको र अब नेपालमा पनि राख्न खोजेको बताए ।

नेपालका प्रमुख राजनीतिक दलका नेताहरु एक भएर नलाग्ने हो भने विदेशी शक्तिले देशलाई खेलमैदान बनाएर भताभुंग पार्ने बताए । देश अत्यन्तै जोखिममा रहेको भन्दै त्यसबाट जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

सरकारले अमेरिकी शक्तिको प्रभाव रोक्न प्रयास गरिरहनेपनि कठिनाई भोगिरहेको बताए । देशको अस्मिता रक्षाका लागि पनि सैन्य अखडा बनाउन दिन नहुने बताए ।

देव गुरुङले देखेको अमेरिकी रणनीति
 नेपालमा सैन्य अखडा
 इन्डो प्यासिफिक रणनीतिमा नेपाललाई सहभागी गराउने
 इशाईको नाममा दलाई लामाको विषय उठान
 छिमेकीमाथि घेराबन्दी
 चीन र भारतमाथि हमला

प्रतिक्रिया दिनुहोस्