सरकारले मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने

0
67

काठमाडौँ । सरकारले सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डसहित मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सुरुङमार्गको अध्ययन गरी निर्माण अघि बढाउनका लागि बजेट विनियोजन गरेको बताए ।

तर उनले कति बजेट भन्ने खुलाएनन् ।

बुटवल-तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्र, पृथ्वी राजमार्गको नौबिसे–नागढुंगा खण्ड, काठमाडौँलाई नुवाकोटसँग जोड्ने टोखा–छहरे सुरुङमार्ग, अरनिको राजमार्गको कोटेश्वर–जडीबुटी खण्ड, विपी लोकमार्गको खुर्कोट–चियाबारी, विपी नगर–खुटिया–दिपायल खण्ड र गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ खण्डमा सुरुङमार्ग निर्माणका लागि सर्वेक्षण गरी आवश्यक निर्माण प्रक्रिया शुरु गर्ने उनले बताए ।

सिद्धबाबामा सुरुङ निर्माणका लागि गतमाघमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्गको गुरुयोजना निर्माण गर्न अध्ययन गरेको थियो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्र पहिरोको अति जोखिम क्षेत्र मानेर सो क्षेत्रमा सुरुङ बनाउने योजना सरकारले ल्याएको थियो ।

सोही योजनाअनुसार माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक किलोमिटर तिनसय मिटर क्षेत्रमा स्वीस सरकार विकास सहयोगमार्फत सुरुङ मार्ग निर्माणको लागि भौगर्भिक अध्ययन (जियोलोजिकल सर्भे) गरिएको थियो ।

यसअघि विभिन्न अध्ययन तथा प्रयोगहरु गरिएपनि सफल नभएपछि ड्रिलिप नेपालले सुरुङ मार्गका लागि गुरुयोजनाको काम गर्नुपूर्व भौगर्भिक अध्ययन गरेको थियो ।

सिद्धबाबा क्षेत्रको चट्टान परीक्षण गर्न प्लानेट नेपालले अध्ययन गरेको थियो ।

भौगर्भिक अध्ययनको लागि स्वीस डेभलेपमेन्ट कोअपरेसनले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

यो सहयोगबाट भूगर्भशास्त्री र इन्जिनियरहरुले उक्त क्षेत्रको जमीन, माटो, ढुंगा, चट्टान, पानी आदिको बनावट र अवस्थाबारे अध्ययन गरेका थिए ।

यसअघि भएको प्रारम्भिक अध्ययनमा सिद्धबाबा क्षेत्रमा सुरुङसहित रकनेट, रकसेट, हाफ टनेल, बेन्च कट सहितका ६ वटा विकल्प दिईएको थियो । बुटवल दोभान सडक खण्डको सिद्धबाबा क्षेत्रमा वर्षायाममा मात्र नभई हिउँदमा समेत खस्ने ढुंगे पहिरोमा परि पछिल्लो १० वर्षमा करिब ७० जनाले ज्यान गुमाएका छन् । यो सडकलाई मृत्युमार्गको संज्ञा दिईदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्