सूर्यविनायक नगरपालिका–१० चित्तपोलको सल्लाघारीमा भेटियो मानव कंकाल

0
65

भादगाउँ– भक्तपुरको चित्तपोलमा आज मानव कंकाल भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलको सल्लाघारीमा टाउको छुट्टिएको अवस्थामा मानव कंकाल भेटिएको हो ।

जङ्गलमा घाँस दाउराका लागि गएका स्थानीयवासीले सो कंकाल देखेर प्रहरीलाई खबर गरेका थिए । कंकालको केही पर कपडासमेत भेटिएको छ । कंकाल सूर्यविनायक नगरपालिका–१० का १५ वर्षीय रबिन खत्रीको भएको रबिनका बुबाले दाबी गरेका छन् ।

रबिन गत मङ्सिर २७ गते हराएका थिए । कंकाल नजीक फेला परेको कपडाका आधारमा कंकाल रबिनको भएको उनका बुबाले दाबी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

प्रहरीले भने भेटिएको कंकाल रविन भएको पुष्टि गरेको छैन । प्रहरीले कंकालको सनाखतका लागि डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । कपडाले मात्रै सनाखत हुन नसक्ने भएकाले कंकालको सनाखत तत्काल नगरेको प्रनाउ पोखरेलले बताए ।

उनले डिएनए परीक्षणपछि मात्र कंकालको सनाखत गर्ने जानकारी दिए । घटनाको सम्बन्धमा प्रहरीले सूक्ष्म अनुसन्धान शुरु गरेको जानकारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्