मलेसिया-जस, मलेसियाको लागि नेपाली राजदूत उदयराज पाण्डेयले मलेसियामा ९ महिना अगाडिदेखि रोकिएको रोजगारी केही समयपछि खुल्न सक्ने संकेत गरेका छन । गैरआवासीय नेपाली संघ मलेसियाद्वारा ग्राण्ड कन्टिनेन्टल होटलमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै राजदूत पाण्डेयले केही विषयका कारण मलेसियामा रोजगार नखुलेको बताए । उनले भने, ‘अब कोही नेपाली नठगिने गरी मलेसिया रोजगारी खुल्छ । त्यसको लागि पहल गर्ने छु ।’ विदेशमा खोलिएका संघसंस्था सबै राम्रो भएको उल्लेख गर्दै तर त्यही संघसंस्थाभित्र छिरेर चलखेल गर्न खोज्नेहरुका कारण संघसंस्था बदनाम हुने भएकोले चनाखो हुन पर्नेमा जोड दिए ।
सबै संघसंस्थासँग सहकार्य गर्न दूतावास तयार छ । तर, त्यसमा भएका ब्यक्तिहरु खराव भएर नेपालीहरुको अहित हुने काम गरिरहेका भएमा संस्थालाई नहेरी ब्यक्तिलाई कारबाही गर्न कुनै कसुर बाँकी नराख्ने बताए । एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले मलेसिया रोजगारी बन्द हुँदा मलेसियामा कार्यरत नेपालीहरुको भिषा सकिंदा वा कन्ट्रयाक सकिंदासमेत कम्पनीले घर नपठाउने गरेकोले ठूलो समस्या परेको बताएका थिए । उनले नयाँ राजदुत पाण्डे आएपछि आफुहरुले धेरै आशा राखेको बताउँदै छिट्टै मलेसिया रोजगारी नेपाली कामदारका लागी खुल्नुपर्ने समेत बताए ।
न्यौपानेले मलेसियामा आपत परेका नेपालीहरुको उद्धारमा, दूतावास र नेपाली समुदायबीचको सहकार्य भएमा सजिलो हुने जनाउदै सबै संघ संस्थाले राजदूताबाससँग सहकार्य गर्दै सामाजिक काममा अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा मलेसिया सरकारको निमन्त्रणामा मलेसिया आएका सामाजिक अभियन्ता तथा अपाङ्ग संघका अध्यक्ष समेत रहेका निलकण्ठ पौडेलले मलेसियामा रहेका नेपालीहरुको प्रसंसा गर्दै राजदूत पाण्डेको कार्यकालमा क्रान्तिकारी परिवर्तन देख्न चाहेको बताउदै, मलेसिया एनआरएनए अध्यक्ष खगेन्द्र न्यौपानेको सामाजिक लगावले आफू प्रभावित भएको पौडेलले भने ।
मलेसियामा रहेका प्राय सबै संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो कार्यक्रममा एनआरएनए आईसिसि सदस्य बिश्व राई, एनआरएनए मलेसियाका पूर्व अध्यक्ष शंखर पौड्याल, जनप्रगतिसिल मलेसियाका अध्यक्ष प्रेम पाण्डे, नेपाली कांग्रेस मलेसियाका सभापति चोलाकान्त पंगेनी, राप्रपा मलेसियाका अध्यक्ष योगेन्द्र कुवर लगायतले आ–आफ्नो भनाई राख्दै नवनियुक्त राजदूत पाण्डेलाई स्वागत गरेका थिए ।
नवनियुक्त राजदूत पाण्डेले आफ्नो स्वागतकालागि भब्य कार्यक्रम आयोजना गरेकोमा एनआरएनएलाई धन्यवाद ज्ञापन गर्दै बिदेशमा नेपालकिा हितमा विभिन्न संघसंस्थाहरु सकृय हुनुलाई दूतावासले सकारात्मक रुपमा लिने बताए । विदेशमा रहेका नेपालीहरु र स्वदेशी नेपालीहरुको हरेक समस्याहरुको समाधानको निमित्त विभिन्न संगठनहरुको निकै महत्वपूर्ण भूमिका रहन्छ भन्दै राजदूत पाण्डेले व्यक्तिको पहलले भन्दा संगठनको पहलले हरेक काम सहज र सरल ढंगले सम्पन्न हुनसक्ने धारणा राखेका थिए ।
मलेसियामा कोही पनि व्यक्तिहरु टिकटकै कारण नेपाल फर्कन नसकेको भए अब त्यस्तो पीर चिन्ता लिनुपर्दैन, त्यो सबै दुतावासले व्यवस्था गर्छ
राजदूत पाण्डेले दूतावास क्वालालम्पुरमा अवस्थित भएकोले दूतावासले वरिपरिको क्षेत्र सजिलै समेट्न सके पनि टाढाका क्षेत्रहरुमा विशेष भूमिका निर्वाह गर्न कठिन परिरहेको अवस्थामासंघ संघ सस्थाहरु र संस्थाका प्रतिनिधिहरुसँग राजदूतावासले समन्वय र सहकार्य गरी त्यहाँका नेपालीहरुको विभिन्न समस्याहरुलाई समाधान गर्न विशेष पहल र भूमिका निर्वाह गरिरहेको भन्दै प्रश.शा गरे । राजदूत पाण्डेले मलेसियामा कोही पनि व्यक्तिहरु टिकटकै कारण नेपाल फर्कन नसकेको भए अब त्यस्तो पीर चिन्ता लिनुपर्दैन भन्दै त्यो सबै दुतावासले व्यवस्था गर्न थालिसकेको बताए । ‘दूतावासले सकेसम्म सबै नेपालीहरुलाई बढीभन्दा बढी सेवाहरु प्रवाह गर्ने प्रयास गरिरहेको छ । सबै नेपालीहरुको समस्याहरु र गुनासाहरुलाई बढीभन्दा बढी सम्बोधन गर्ने प्रयास गरिरहेको छ । दुतावास सबै नेपालीहरुको साझा निकाय हो । तसर्थ, आफुलाई परेका सारा समस्याहरु दूतावाससमक्ष लिएर आउनुहोस । हामीले जतिसक्दो छिटो तपाईहरुको समस्या समाधान गर्न विशेष पहल गर्ने छौ’, राजदूत पाण्डेले भने ।
पाण्डेले दूतावासले कोही कसैसँग पनि भेदभावपूर्ण काम नगर्ने बताउँदै सबै व्यक्तिहरुलाई समान महत्वले हेर्ने र सबै संघसंस्थाहरुसँग सहकार्य र समन्वय गरेर अघि बढ्न दूतावास हरदम तयार रहेको बताए । ‘हामी सबै मिलेर नै सारा नेपालीहरुको समस्याहरु समाधान गर्न सफल हुन सक्छौ । हामी सबै मिलेर नै नेपाल र नेपालीहरुको समृद्धिको सपना पुरा गर्न सक्छौ । हामी मिलेर नेपालको गौरवलाई बढाउँ’, राजदूत पाण्डेले भने
मलेसियाबाट नागरिक डायरी डटकम समाचारदाता