सांसदको प्रश्न : बम कसले पड्कायो ? मृतकलाई क्षतिपूर्ति खै ?

0
20

फागुन १४, काठमाण्डौ । प्रतिनिधि सभाका सांसदहरुले पछिल्लो समय देशमा भइरहेका विविध विषयमा सरकारको ध्यानकर्षण गराएका छन् । बमकाण्डदेखि सडक दुर्घटनासम्मका विषय संसदमा उठान भएको छ । त्यसैगरी कारागार व्यवस्थापनदेखि सडक सञ्जालमा देखिएका समस्याका विषयमा सांसदहरुले आवाज उठाएका छन् ।

ललितपुरको नख्खुस्थित एनसेल प्रालि कार्यालयको गेटमा बम विष्फोटमा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरेका छन । मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद यशोदा गुरुङ सुवेदीले सो बम विष्फोटको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गर्नु भएको हो । उहाँले बम विष्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था र घाइते प्रतिक्षा खड्का र अनुषा डंगोलको उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । गत फागुन १० गते शुक्रबार राति एनसेल प्रालिको गेटमा बम विष्फोटमा परी गुरुङको ज्यान गएको थियो भने खड्का र डंगोल घाइते भएका थिए ।

त्यसैगरी सांसद यज्ञराज सुनुवारले बारामा जिप दुर्घटनामा परी निधन हुनु भएका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र एसपी बलराम पोखरेलको परिवारलाई पनि उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो । उहाँले सो जीप दुर्घटनाबारे अनेक आशंका उब्जिएको उल्लेख गर्दै छानवीन समिति बनाएर सत्यतथ्य तत्काल बाहिर ल्याउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

त्यसैगरी सांसदहरुले माथिल्लो कर्णाली जलविद्युत आयोजना स्वदेशी लगानीमा सम्पन्न गर्ने गरी कामलाई अघि बढाउन पनि सरकारलाई सचेत गराएका छन । सांसद यज्ञबहादुर बोगटीले आवश्यक बजेटको व्यवस्था गर्ने जिम्मेवारी पाएको भारतीय कम्पनी जिएमआरले सो आयोजनाको कामलाई अघि बढाउन नसकेको उल्लेख गर्दै नेपाल सरकार आफैले स्वदेशी लगानीमै सो आयोजनाको काम सम्पन्न गर्ने कामलाई तत्काल अघि बढाउन माग गर्नु भएको हो ।

सांसद मायादेवी न्यौपानेले केन्द्रिय कारगारमा रहेका कैदी बन्दीहरुले बुनेका लाखौं रुपैयाँ पर्ने कपडा अलपत्र अवस्थामा रहेकोे उल्लेख गर्दै त्यसलाई विक्रीवितरण गर्ने व्यवस्था तत्काल गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद महेश्वरजंग गहतराज ‘अथक’ले सुशील कोइराला क्यान्सर अस्पताल र भेरी अंचल अस्पताललाई सुविधा सम्पन्न बनाउन पनि सरकारसँग माग गर्नु भयो ।

त्यसैगरी सांसद मोहन बानियाँले कर्णाली अंचलकै ‘लाईफ लाईन’को रुपमा रहेको नाम्जा भञ्ज्याङ सडक खण्डको कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसदहरुले देशका विभिन्न भागमा बढदो बलात्कारको घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरेका थिए । सांसदहरुले नेपालगंज विश्वविद्यालय स्थापनाको कामलाई तीव्रताका साथ अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रतिक्रिया दिनुहोस्