‘रानीपोखरी मनसुनले भरिन्छ, मेलम्ची चाहिन्न-निकलण्ठ पौडेल

0
37

आधुनिक इञ्जिनियरिङको ज्ञान र साधन नभएका बेला रानीपोखरी बनाउन त्यति दु:ख र कचमच भएन होला, जति पुनर्निर्माणमा भइरहेको छ।

काठमाडौं महानगरपालिकाले यसलाई मल्लकालीन सम्पदाबाट ‘स्विमिङ पुल’ बनाउन खोजेपछि स्थानीयले विरोध गरे। त्यही विरोधको बलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मेवारी पायो। अहिले प्राधिकरणले ल्याएको पुनर्निर्माणको ढाँचा पनि विज्ञहरूले चित्त बुझाएका छैनन्।

सबभन्दा असहमति रानीपोखरीमा अटुट पानी भर्न ट्युबेल बनाउने र मेलम्चीको पाइप जोड्ने योजनामा छ।

‘यसो गर्नु भनेको कचौरामा पानी हालेर भरेजस्तै हो,’ सम्पदाविद् तथा पुल्चोक इञ्जिनियरिङ कलेजका आर्किटेक्ट प्राध्यापक सुदर्शनराज तिवारी भन्छन्।

उनका अनुसार पोखरीमा अटुट पानी कायम राख्न आकाशे पानी जम्मा गर्ने बाटो बनाउनु र सतहमा बग्ने पानीलाई जमिनमुनि लगेर पुरानो इनारसँग जोड्नु भरपर्दो विकल्प हो।

यसलाई बुझाउन उनले पोखरीको परम्परागत निर्माण शैली र तिनका विशेषताबारे चर्चा गरे।

परम्परागत रूपमा हाम्रा सबैजसो पोखरीको पिँध र डिल कालो माटोले बनेका थिए। पोखरीभित्र कम्तिमा दुईवटा इनार हुन्थे। तीमध्ये एउटाले पानी आपूर्तिको काम गर्थ्यो, अर्कोले निकासको।

तिवारीका अनुसार धेरै परबाट कुलो खनेर पानी ल्याउने चलन थियो। पोखरीनिर पुगेपछि कुलो दबाएर जमिनमुनि लगिन्थ्यो। र, भूमिगत रूपमै पोखरीको एउटा इनारसँग जोडिन्थ्यो। यसो गर्दा पानी बुलबुल गर्दै पोखरीको सतहसम्म आउँथ्यो।

अर्को इनार कालो माटोले भरेर राखिन्थ्यो। पोखरी मर्मत वा सफा गर्नुपरे माटो झिक्ने चलन थियो। पिँधमा कालो माटोमुनि बालुवा हुन्थ्यो। माटो झिकेपछि पानी त्यही बालुवाबाट रसाएर जान्थ्यो।

कुनै–कुनै पोखरीमा दुईभन्दा बढी इनार खनिएका हुन्थे। ती इनारबाट कुलो खनेर ढुंगेधाराहरूसम्म लगिन्थ्यो र टोल–टोलमा पानी आपूर्ति गरिन्थ्यो।

रानीपोखरीको निर्माण संरचना पनि यस्तै छ। यहाँ सातवटा इनार खनिएको तिवारी बताउँछन्। यी इनारबाट काठमाडौंका विभिन्न टोलमा पानी आपूर्ति हुन्थ्यो। अहिलेसम्म थाहा भएअनुसार तीनधारा पाठशालामा जाने पानी रानीपोखरीकै हो। सुन्धाराको हिटीमा हामीले केही वर्षअघिसम्म पानी आइरहेको देख्थ्यौं। त्यसको स्रोत पनि रानीपोखरी नै हो। त्यहाँ टुँडिखेल हुँदै कुलो खनेर पानी लगिएको थियो।

अब पनि रानीपोखरीमा पानीको अटुट स्रोत कायम राख्न परम्परागत विधि नै अपनाउनुपर्नेमा उनको जोड छ। यसको निम्ति आकाशे पानी र सतहमा बगेको पानीलाई पोखरीमुनि लगेर पुराना इनारसँग जोड्नुपर्ने उनी बताउँछन्।

‘त्यसपछि सतह र पिँधमा कालो माटो भर्नुपर्छ,’ उनी भन्छन्, ‘कालो माटोले पानी अडिन्छ। अडिने भएपछि प्राकृतिक रूपले मनसुनमा जति पानी पर्छ, त्यसको व्यवस्थापनले रानीपोखरी आफैं भरिन्छ।’

पोखरी छेउछाउ पानी ‘रिचार्ज’ हुने खुला स्थलको खाँचो भने उनले औंल्याए। यसका लागि टुँडिखेलमा अहिले निर्माण भएका वा निर्माणाधीन संरचना हटाएर खुला स्थलका रूपमा विकास गर्न सकिन्छ।

ट्युबेल वा पाइपबाट पानी हाल्नु भनेको जमिनमुनिको पानी झिकेर पोखरीमा हालेजस्तो हुने उनको भनाइ छ।

‘मेलम्चीको पाइप तानेर रानीपोखरीमा अटुट पानी कायम राख्ने कुरा हास्यास्पद छैन र?’ उनी प्रश्न गर्छन्, ‘मेलम्चीको पानी खान पाउने-नपाउने नै टुंगो छैन, पोखरीमा हाल्नु त परको कुरा।’

प्राधिकरणले बनाएको नयाँ ढाँचाअनुसार रानीपोखरीमा लामो समयदेखि उम्रेको घाँसको जरा उखेल्न एक फिटजति खनिनेछ। घाँसमा माटो मिसिएको हुनसक्ने भएकाले माथिल्लो तह सबै हटाइनेछ। त्यसपछि तल्लो तहमा बालुवा र बालुवाको माथि कालो माटो राखिनेछ। त्यसमाथि फेरि बालुवा हालिनेछ।

पोखरीको डिलमा पुरानै माटोको आधार बनाएर ‘ब्रेस्ट वाल’ लगाइनेछ। यो पर्खालले माटो बग्न रोक्छ। पहिले राखिएको ‘रिटेनिङ वाल’ ले पुरानो सतह बिग्रेको थियो। त्यसलाई पुरानै ढाँचाअनुसार बनाइनेछ।

डिलको माथिल्लो भागमा ठूला माअप्पा (प्राचीन इँट्टा) को पेटी बनाइनेछ। माअप्पाको मोटाइ, लम्बाइ र चौडाइ सामान्य इँट्टाभन्दा ठूलो हुन्छ। सानो इँट्टाको तौल कम हुने हुनाले माअप्पा प्रयोग गरिन्छ। यसले पर्खाल‍ खुकुलो हुन वा फुस्किनबाट रोक्छ। कुनाको भाग बलियो पनि हुन्छ।

पोखरीको डिल र फुटपाथ छेउसम्म इँट्टा ‘सोलिङ’ तथा ‘लाइम कंक्रिट’ गरेपछि ठाडो इँट्टा बिछ्याइनेछ। यो भनेको वरिपरि बस्ने र हिँड्ने बाटो बनाउने हो। यसअघि महानगरले पार्क बनाउन गरेको डिजाइनमा पनि यो उल्लेख थियो। यो संरचना मल्लकालीन पोखरीमा थिएन।

यी सबै पोखरी वरिपरि पार्क बनाउने क्रममा उठेका कुरा हुन्। पोखरीको माथिल्ला भागमा हरियाली बनाउने योजना पनि छ।

त्यस्तै, बालगोपालेश्वर मन्दिरसम्म जाने पुल बनाउन पहिला सुख्खा इँट्टाको पर्खाल थियो। अब कालो सुख्खा ढुंगाको पर्खाल लगाइने भएको छ।

प्राधिकरणले बनाएको यो ढाँचामा दुई/तीनवटा बुँदाबाहेक सबै गलत भएको तिवारीको बुझाइ छ।

उनका अनुसार पोखरीको एक फिट तल कालो माटो राख्ने, डिलपछाडि कालो माटो राखेर ब्रेस्ट वाल लगाउने र ठूलो माअप्पा प्रयोग गर्नेबाहेक सबै मोडल गलत छन्।

कालो माटो रहेको तहमा थप एक फिट कालो माटो राखेपछि फेरि किन बालुवा हाल्ने भन्ने आफूले पत्तो नपाएको उनले बताए।

‘कालो माटो हालेपछि पोखरीमा हिँड्न गाह्रो हुने भनिएको छ। पोखरीको भागमा हिँड्नै पर्दैन। त्यसैले बालुवा राख्नु जरुरी छैन,’ उनले भने, ‘बनाउन सजिलो हुन्छ भन्नु एउटा कुरा। तर कालो माटोमाथि बालुवा राख्नुमा कुनै वैज्ञानिक आधार छैन।’

उनका अनुसार पहिलेभन्दा पोखरीको गहिराइ बढेको भए यो पनि ठीकै हुन्थ्यो। गहिराइ बढ्दा तलबाट पानी आउन समस्या हुन्थ्यो। तर पोखरीको गहिराइमा कुनै फरक परेको छैन। चार फिट मात्र पानी आउने हो।

उनले महानगरले झैं पार्कको मोडलमा रानीपोखरी बनाउनुलाई पनि गलत बताए। रानीपोखरीलाई पहिलेजस्तै बनाएर संरक्षण गर्नुपर्ने उनको भनाइ छ।

‘पार्क बनाउने भए रत्नपार्कतिर मूर्ति बनाइएको ठाउँ प्रयोग गरे भइहाल्यो,’ उनले भने, ‘पोखरी पहिलेझैं बनाउनुपर्छ।’

पोखरी वरपर पेटी र पहिलो डिलमाथि नै फुटपाथ बनाउने आधार पनि वैज्ञानिक नभएको उनले बताए।

‘यो भनेको त डिलदेखिमाथि कहिल्यै पानी आउँदैन भनेजस्तो भयो। जबकि रानीपोखरीको संरचना पुलसम्म पानी आउने हो,’ उनले भने, ‘योभित्र पार्क बनाउनु हुँदैन। यहाँ मान्छे जाने, बस्ने, खुड्किला हाल्ने कुरा भएकै होइन। अहिले सबै नयाँ संरचना थप्ने कुरा भयो।’

रिटेनिङ वाललाई माअप्पाले मोड्नेमा पनि उनको चित्त बुझाइ छैन।

‘ढुंगाको रिटेनिङ वाल बनाउँदा माथिसम्म पोखरी आउनुपर्ने हो। त्यो पनि झिकेर हामीले सबभन्दा तल जुन डिल बनाएका छौं, त्यस्तै माथिल्लो तहमा पनि डिल बनाउनुपर्छ। त्यसरी बनायो भने मात्र रानीपोखरीको पानी माथिसम्म आउन सक्छ,’ उनले भने।

दुई फिट माटो रिटेन गर्न त्यत्रो पर्खाल नचाहिने उनी बताउँछन्। ‘चाहिने भए पहिले पनि बनेको हुन्थ्यो। त्यहाँ सानो इँट्टा टाँसे पुग्ने रहेछ। त्यो अस्तिसम्म पुगिरहेको थियो। अहिले किन पुगेन?’ उनले भने।

प्रतिक्रिया दिनुहोस्