बेहुली झैं सिंगारिएको सिंगापुर

0
37

सिंगापुरको भ्रमण गर्नुभन्दा केही दिन अगाडि मैले ब्लगमा एउटा लेख पोष्ट गरेको थिएँ। त्यो लेख नेपाल भिजिट २०२० मा केन्द्रित थियो।  भ्रमण वर्ष जसरी जुन उद्धेश्यका साथ घोषणा गरियो, सोही मात्रामा आधारभूत पूर्वधार पनि पर्याप्त छैनन्। मैले प्राकृतिक सुन्दरता नेपालको स्वीट्जरल्याण्ड दोलखा, जिरी,कालीञ्चोक, सयथुम्का शैलुङ्गका हिउँ परेका लोभलाग्दा दृष्यहरू पोष्ट गरेको थिएँ।

आजको दिनमा मानिसहरू पहिले जस्तो पायो तस्तै होटलमा छिर्न चाहँदैनन्, सफा, सुन्दर अनि शान्त आनन्दमयी वातावरणको अपेक्षा राख्छन्।

अतिथि देवो भव: हाम्रो संस्कार छ पाहुनाको सत्कार गर्ने तर हिजो आज त्यो संस्कार पनि मासिँदै गएको छ। धेरैको तीतो अनुभव छ। काठमाडौंका एक साथीले बताउँदै थिए,‘कालीञ्चोक जाँदा होटलवालाको  व्यवहारले खल्लो बनायो।’

जाबो छुर्पी टोकेर बस्ने विदेशीलाई देख्न साथ ठग्न पाइन्छ भनेर कत्रो इज्जत दिन्छन्। हामी टन्न खर्च गर्ने परिवार साथीभाइसहित गएको टोलीलाई वास्ता गर्दैनन्।आखिरमा हुने पनि त्यही हो नेपालीले नेपाली मन अझै चिन्न सकेको छैन।

सत्य यो पनि हो नेपाली कतै घुम्न जाँदा सय पचासको सामानमा मैले कहिल्यै वार्गेनिङ गरेको देखेको छैन तर विदेशीहरू जाबो कोकाकोला, फ्यान्डा मिरिन्डा हपहप गर्मीमा धपेडीमा पिउने चिसो किन्दा पनि वार्गेनिङ गर्छन्।

व्यवसायीले यति संकुचित तरिकाले सोच्नु हुँदैन। यो नेपाली हो यसले खर्च गर्दैन र यो विदेशी हो पसलमा छिर्यो कि डलर झर्यो। यी सबै व्यवसायीका भ्रमहरू हुन्। यो भ्रमबाट माथि उठ्न आवश्यक छ।

व्यवसायीले पाहुनालाई समान  व्यवहार गर्न जान्नु पर्छ। हैन भने केही खराब दिल भएका व्यवसायीहरूको कारण एउटा पवित्र स्वर्गजस्तो स्थानको बदनाम हुन्छ।

केही समय अगाडि घुम्म जाने साथीहरूको अनुभव त्यस्तै तीतो थियो ठाउँ स्वर्ग जस्तो खाँदा होटलमा बस्दाको अनुभव नर्क जस्तो।

अनि यस्तो सन्देश गयो भने पर्यटन  व्यवसाय कसरी फस्टाउन सक्ला? २०२० नेपाल भिजिट वर्ष कसरी सफल होला?

यो त प्रतिनिधि उदाहरण मात्र हो जुनसुकै ठाउँमा पुगे पनि  व्यवहार एउटै भेटिन्छ शैली उस्तै हुन्छ। खाली जतिसक्दो ठग्न खोज्ने,  लुट्न खोज्ने प्रवृत्ति।

यी यस्ता कुरालाई खेलाची गर्यो भने समयमा समस्या निमिट्यान्न पार्न सकेन भने यसले केही व्यक्तिको कारण नकारात्मक सन्देश जान सक्छ। सम्बन्धित निकायले अनुगमन गरी यथाशाक्य यात्रीहरूका समस्या समाधान गर्नुपर्छ।

अनि पर्यटनसम्बन्धी पेसामा आवद्ध  व्यवसायीहरूको व्यवहारमा सुधार गर्नुपर्छ।

एकाधिकार मनलाग्दो तरिकाले

पाएसम्म खाँदेर रकम असुल्न लाग्यो भने फेरि त्यो ठाउँमा फर्केरको जान्छ!

स्वर्ग जस्तो दोलखा महँगी नर्क जस्तो भन्ने शिर्षकमा समाचार छापियो। म एकछिन छक्क परे किन यस्तो भयो बजार अनुगमन किन भएन? पर्यटन प्रर्वद्धनसम्बन्धी विभिन्न निकायहरू छन्। तिनीहरू के रमिता हेरेर बस्छन्?

यी यस्तै  दरिद्र सोच भएका केही  व्यक्तिका कारण हाम्रो पर्यटन विकासमा अझै सोचेजस्तो उल्लेख्य मात्रामा परिवर्नत हुन सकेको छैन।

दोलखामात्र हैन अन्य घुम्न लायक धेरै ठाउँको अनुभव यस्तै तीतो छ। सकेसम्म ठग्न खोज्ने यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ। चाहे त्यो मुस्ताङ होस्, रारा होस् वा दोलखा जुनसुकै ठाउँमा स्थानीय  व्यवसायीले के कस्तो सेवा प्रवाह गरेको छ? पर्यटकहरू के चाहन्छन्? उनीहरूलाई कसरी खुसी पार्न सकिन्छ? यस्ता स-साना कुरामा ध्यान दिनुपर्छ। खाली डलर थुत्न खोजेर मात्र हुन्छ? खुसी बनाउन जान्नुपर्छ।

यति मात्र होइन पर्यटकहरूको सुरक्षाको प्रत्याभूति गर्न सक्नुपर्छ।

प्रकृतिको बयान गरेरमात्र  पर्यटन फस्टाउँदैन्। सेवा प्रवाहमा ध्यान दिनुपर्छ र उचित मूल्यमा उचित सामान ठाउँ अनुसार तोकेर इमान इज्जतको साथ सत्कार गर्न जान्नुपर्छ। चाहे त्यो बाह्य होस् वा आन्तरिक पर्यटक।

समस्याको चाङ छन्, हरेक क्षेत्रमा अनियमितता छ। यो निराकरण हुनैपर्छ। यो आफ्नै देशको विषय थियो। समस्या नै समस्या।

 अब घुम्ने ठाउँ कस्तो हुनुपर्छ? मानिसको चाहना कस्तो हुन्छ? आम मानिस के चाहन्छ? यदि हामी अन्य राष्ट्रमा घुम्न गयौं भने हामी के चाहन्छौं?

र हामी हाम्रो देशमा आउने अतिथिलाई कस्तो सेवा प्रवाह गर्न सक्छौं के कस्ता पूर्वाधार जरुरी पर्छ? मैले सिंगापुर घुम्दाको अनुभव समेटेको छु।

प्रसंग सिंगापुर यात्रा

माथि भनिसकें आजकल मानिसहरू खुसी हुन चाहन्छन्। विभिन्न रमणीय स्थान यात्रा गर्दा बस्ने, खाने व्यवस्था अत्यन्तै राम्रो खोज्छन् सफा, सुन्दर, शान्त यात्रा सम्झना लायक र यादगर बनाउन चाहन्छन्।

साधरणतया प्राकृतिक सुन्दरताले मात्रा एउटा पर्यटकलाई भरपुर आनन्द दिँदैन। यात्रासँग जोडिने कुनै पनि व्यवसायमा आवद्ध होटल, रेष्टुरेन्ट र सवारीचालकक‍ो व्यवहारलेसम्म उतिकै महत्व राख्छ अब बसेको रकम सोचेभन्दा कयौं गुणा बढी लिदिने खाएको उस्तै महँगी र जानपर्ने ठाउँमा सवारीचालक जान नमान्ने भयो भने यात्रा खल्लो हुन्छ। त्यसैले यस्ता व्यवसायीमा संलग्न सबैलाई सचेत गराउन पर्छ।

यात्रा भनेको यादगर यस्तो हुनुपर्दछ। र पो फेरि पनि जाऊ जाऊ लाग्छ त।

बिहानको सात बजे हाम्रो सिंगापुरको यात्रा सुरू भएको थियो। सवारी चालकले बोर्डरमा चाहिने सम्पूर्ण  बायोडाटासहितको फारम लिएर आएको थियो। हामीले फारम भरी आ-आफ्नो पासर्पोटको बीचमा च्याप्यौं। हो हाम्रो ड्राइभर कति सहयोगी थियो। ऊ चाइनिज थियो। मिठो अङ्ग्रेजी बोल्थ्यो।

कहाँ कहाँ घुम्ने हामीलाई प्रश्न गरिरहन्थ्यो। हामीलाई थाहा नै छैन कुन कुन राम्रो ठाउँ छ सबै घुम्ने त्यसपछि ऊ आफ्नो सिङ्गापुर बस्ने साथीलाई सोध्थ्यो। अनि हामीलाई त्यो ठाउँको विशेषता बताउथ्यो। अनि हामी सल्लाह गरेर जाने भए जाने नजाने भए अर्को ठाउँ सोध्न लगाउथ्यो। ढुक्क हुन आग्रह गर्थ्यो।

नयाँ ठाउको घुमघाम जति मनमा उत्साह कौतुहलता थियो उतिकै डर पनि।

के हुने होला कतै अप्ठ्यारो पो पर्ने हो कि आँट त गरियो झमेलामा फसिने पो हो कि! हामी त वर्क प्रमिट लिएर एउटा देशमा बसेको मान्छे भिषा लगाएर अर्को देशमा छिर्न पाउँदा रमाइलो नहुने कुरा नै भएन।

मनमा केही संकोच  अलि कति डर त्रास भएता पनि अन्तत: हामी सिंगापुर पुग्यौं।

कस्तो होला सिंगापुर? मन उकुसमुकुस थियो जिज्ञासाहरू एकपछि अर्को उत्तरविहीन हुन्थे। लि क्वान यूको योगदानले सिंगापुर सम्पन्न राष्ट्र भयो गर्नु जति प्रगति गर्यो। दुई दशकमा हिरा बनाएर छाडे विश्वको नजर पर्ने सहर बनाए। लिडर भनेको लि क्वान यू जस्तो हुनुपर्छ जताततै चर्चा हुन्थ्यो।

जब हामी मलेसियाको बोर्डरमा आफ्ना डकुमेन्टहरू जाँच गराई पास भई सय मिटर जति पर सिंगापुरको बोर्डरमा पुग्यौं। साँच्चै बोर्डरबाट नै छुटिन थाल्यो। त्यो हिरा टल्किन थाल्यो। झ्वाट्ट हेर्दा सिंगापुर पाखाबारी जस्तो लाग्छ। किनकी यो पहिलेको मलेसियाको एक कुना हो। सुरूमा सँगै भए पनि। जब छुट्टिएर सिंगापुर भयो, विकासको गति लियो। सपनाको सहर बन्यो। जब देशले सही नेतृत्व पाउँछ, भिजन भएको व्यक्ति पाउँछ विकास रातरात भइदिन्छ। रातरात नभएको भए पाखाबारी जस्तो ठाउँमा हिरा टल्किने थिएन।

भनिन्छ, कुनै पनि सरकारी वा गैरसरकारी कार्यालयको व्यवस्थापन के कस्तो छ भनेर त्यसको शौचालय हेरेर व्यवस्थापनको अनुमान गर्न सकिन्छ।

हुन त एक देश अर्को देशसँग तुलना गर्दा त्यति उचित नहोला तर सँगै पाइला अगाडि बढेको राष्ट्रहरू किन पछाडि पर्यो भन्ने प्रश्न अवश्य उब्जन्छ। हुन त मलेसिया भौगोलिक रूपमा झण्डै नेपालजस्तै छ। केही राजनीतिक चलखेलको कारण करेन्सीमा जति सिंगापुरको दाँजोमा माथि उठ्नपर्थ्यो उठ्न सकेन।

कारण स्पष्ट छ। माथिरविन महोम्मदको योगदानले मलेसिया उन्नत राष्ट बन्यो।उनले सत्ता हस्तान्तरण गरि दिए पछि त्यहि रफ्तार लिन सकेन बरु कतै अल्मलियो दुर्गन्धमा फस्यो अझ भनु व्यक्तिगत लोभ लालचमा फस्यो।

आजको दिनमा पनि मलेसियाले नेपाल लगायत विभिन्न राष्ट्रको मानिसलाई रोजगार दिइरहेको छ। त्यो क्षमता राख्छ जग बलियो छ जब जग बलियो हुन्छ घर उतिनै बलियो बन्छ।

मलेसियाले सिंगापुरको जग नै बलियो बनाएको थियो र त चानचुने आपत विपतले खासै छुँदैन। हुन त मलेसियासँग सिंगापुर तुलना गर्ने हो भने केही पछि परेकै हो। कारण उही हो चरम भ्रष्टाचार, राज्यकोषको दोहन, सही नेतृत्वको अभाव। आरोप त्यही थियो नागरिकहरू रुष्ट थिए।

अन्तत:  मलेसियाली चुनावमा माथिरविन मोहम्मदको आक्रमक जितसँगै निवर्तमान प्रधानमन्त्री नाजिव रजाकलाई २४ घण्टा नबित्दै छानबिनको दायरामा राखी अर्बौं पैसा हिनामिना भएको भनि खानतलासी गरियो। जफत गरियो।

अलि परको  खोलापारिको चर्चा गर्दा साँच्चिकै लि क्वायूको उल्लेख्य योगदान छर्लंग देखिन्छ।

मलेसिया जस्तै राष्ट्रलाई विकासको चरम उत्कर्षमा पुर्याएको छ अनि त्यति राम्रो लिडरलाई भगवान किन नमान्नू!

जसरी हाम्रो उत्तर दक्षिण राष्ट्रहरू आर्थिक रूपमा जति प्रतिस्पर्धात्मक रूपमा अगाडि बढेका छन्। बीचमा नेपाल जसरी निरिह बनिरहेको छ।

सिंगापुरको लोभ लाग्दो विकास हेर्दा साँच्चै संसार चकित बन्छ।

बोर्डरको आसपास सय मिटरको फरकमा काम गर्ने शैली प्रविधिले नै देशहरू कस्तो, कतिको प्रविधिमैत्री छ? सेवाप्रवाहमा कतिको छिटोछरितो छ? भन्ने कुरा छर्लंग देखिन्छ।

सर्वप्रथम त स्पष्ट नीतिनियम बनेपछि कडाइका साथ समानताका साथ कार्यान्वयन गरियो भने नडराउने कोही हुँदैन। हरेक देशमाथि उठाउन नीतिनियमको उत्तिकै भूमिका रहन्छ। तर यसो भनिरहँदा प्रहरी प्रशासन  इमिग्रेसन कस्तो छ? कतिको पारदर्शी छ? भन्ने कुराले पनि महत्व राख्छ।

सय मिटर वर मलेसियन इमिग्रेसनमा लाइन बसेर काम भएको उतापट्टि पाँच मिनेटमा काम फत्ते हुन्छ। हुने कामलाई हुन्छ। नहुनेलाई हुन्न। यो स्पष्ट नीति नियम हुनुपर्दछ। मैले त्यहाँ त्यस्तै देखें। बिनाझञ्झट काम फटाफट। यस्तो लोभलाग्दो सेवाबाट प्रभावित नहुने को होला र!

हाम्रो जस्तो नहुने कुरालाई पनि सोर्सफोर्स लगाइ भनसुन गरी गरिने त्यस्ता गलत काम पटक्कै देखिएन। इमिग्रेन कार्यालयको वरिपरि सिसि क्यामरा जडान गरिएको छ। ड्यूटीमा रहेका प्रत्येक प्रहरीको शरीरमा सिसि क्यामरा जडान गरिएको छ। अनि नीतिनियम उस्तै कडा छ। सुन्दै मुटु काप्ने अनि कसरी हुनसक्छ अनियमितता? कसको आउँछ अपराध गर्ने आँट? अनि कसरी हुन्छ घोटाला,घूस लेनदेनलगायत अन्य अपराध? कति कडाइका साथ चेकजाँच गरिन्छ यति भएपछि सु-शासन कायम राख्न कुन आइतबार पर्खिनु पर्यो!

हरेक चोक चोकमा सिसि क्यामरा जडान गरिएको छ। बाटोघाटो टिलिक्क टल्किएको छ।

बाटोको बीचमा ढकमक्क फूलहरू फुलेका छन्। कति रोमाञ्चक देखिन्छ दृष्य। सडकहरू चिल्ला देखिन्छ। यात्रा गर्दा देखिने दृष्य यति लोभ लाग्दो छ,झन चाइनिज नयाँ वर्षको बेला देखिने रंगीविरंगी बत्ती बाटोमा टाँगिएका विभिन्न आकर्षक फूलहरू देख्दा सिंगापुर बेहुली झैं सिंगारिएको जस्तो धपक्क बलेको छ।

यात्रुबाहक बसहरू रोक्ने स्टेशन छुट्टै छ। बसहरू कोही एक तले छन् भने पर्यटक बोक्नेहरू दुई दुई तले छन्। आफ्नो बाटोमा गुडिरहेका छन्। बाटोमा जेब्राक्रसहरू छन जसका दाँया बाँया देखिने गरी लेखिएको छ। स्पिड कति गर्ने? नियमविपरीत चलाउनेलाई ठाउँको ठाउँ कारबाही हुन्छ। यो डरले चालकहरूलाई सचेत गराएको छ उनीहरू भुलेर पनि त्यस्तो फन्दामा पर्न चाहँदैनन्। कति बुझ्ने छन् सवारी चालकहरू उनीहरूले नियमलाई इमान्दारीका साथ पालना गरेका छन्।

हामीले सवारीचालक जुन रिजर्भ गरेका थियौं उसले लामो समयदेखि पर्यटकहरूलाई सिंगापुर घुमाउने गरेको रहेछ। ट्याक्सी स्टेशनमा समेत लामो समय कुर्न नपाउने भएपछि फन्का लगाइरहने जसको कारण जाम भन्ने कुरा त्यति देखिएन। हाम्रो जस्तो तछाडमछाड बेला न कुबेला ओभरटेक गरेर दुर्घटना निम्त्याउने खालका परिदृष्यहरू कहीँ कतै देखिएन।

सहर अनुसार ठाउँ अनुसार आठ लेन सम्मका सडक छन्। जहाँ जसलाई जुन गतिमा कुद्न मन लाग्छ स्पिड बढायो लेन परिवर्तन गर्यो।चोकचोमा ट्राफिक लाइट सिसि क्यामरा जडान गरिएको छ। यदि कसैले गलत गरेको खण्डमा तु सजायको भागिदार हुनुपर्छ। चालकका कुरा सुन्दा वाह!लाग्छ नियमलाई कति इमान्दारिताको साथ पालना गरेका छन्।

स्टेशनहरू ट्याक्सीको अलगै छ सार्वजनिक बसको छुट्टै। सार्वजनिक शौचालयहरू ठाउँ/ ठाउँमा छन्। त्यो पनि सबै सुविधा सम्पन्न अपांगमैत्री बाटोहरू। हरेक स्टेशनमा अपांगमैत्री बनेको छ। बसहरू पनि अपांगमैत्री छन्। जहाँ सजिलै ह्विलचियर चढ्न र ओर्लिन  सकिने व्यवस्था गरिएको छ।

मानिसहरु निर्धक्क निडर भई बाँचेका छन्। कसैलाई कसैको चासो छैन्। आफ्नो काम गरेका छन्। गगनचुम्बी भवनहरूले बजारको शोभा बढाएको छ। पर्यटकस्थलहरू उस्तै रंगिएका छन्। सपनामा देखिएका तस्वीर जस्ता अचम्म लाग्दो विल्डिङहरू छन्। बजार व्यवसायहरू व्यवस्थित छन्। पैदल बाटो उस्तै रमाइला।

प्राकृतिक रूपमा भन्दा पनि मेहेनत श्रम र प्रविधिले यति धेरै सिंगारिएको छ।

सफा वातावरण ठाउँ हेरेर आवश्यकता अनुसारको सडक, आवश्यकता अनुसारको यात्रुबाहक बस सेवा, अनि के चाहियो नागरिकलाई।

सबभन्दा विकासको पूर्वाधार यातायात स्वास्थ्य शिक्षा अनि प्रविधि सबै भरिपूर्ण छ। नीतिनियम चुस्तदुरूस्त छ। नीतिनियम सबलाई उस्तै छन्।

ठाउँ ठाउँमा पर्यटकीय स्थलहरू निर्माण गरिएको छ। जता फर्के पनि लोभलाग्दो दृष्य छन्। गगनचुम्बी भवनका आकर्षक डिजाइन अनि अलि परको निलो समुन्द्र दाँया बाँया देखिने हरियाली दृष्यहरू हेर्नलायक अनेकौं नामाकरण गरिएको  प्राकृतिक जस्तै देखिने झरनाहरू वाह! स्वर्गको बयान गरिसाध्य छैन।

सिंगापुर पर्यटकका लागि आकर्षक गन्तव्य हो। ठाउँ/ठाउँमा पार्कपिच्छे पर्यटकहरूको भीड देखिन्छ। खुब मनोरञ्जन गरिरहेका छन्।

जुन समयमा जति क्षमता कला र आइडिया प्रयोग भएका छन्। त्यो चानचुने तरिका सानोतिनो प्रयासले बनेको छैन। एउटा जंगल जस्तो देखिने ठाउँलाई स्वर्गको क्यानभास बनाएको छ शब्दमा बयान गरी साध्य छैन।

हामी त माल पाएर चाल नपाउने देशका मान्छे हौं। त्यो सब नियालिरहँदा सर्वसाधारण मानिसहरू पनि कति इमानदारी छन्। जो नियमलाई सधैं आत्मसाथ गर्छन्। अरु के कुरा, बाटो नै काट्न परे पनि हामी जस्तो हतार हतार बिरालोले झैं जताततै बाटो काट्दैनन्। नागरिकहरू पनि उत्तिकै उत्तरदायी छन् भन्ने अनुमान गरें।

जब सरकारले नागरिकलाई सेवा प्रवाहमा नीतिनियम र प्रविधि प्रयोगमा स्वतन्त्रता दिन्छन् मानिस आफैं खुसी हुन्छन्। सबभन्दा महत्वपूर्ण कुरा सिस्टम। जब सिस्टम बन्छ कुनै पनि आपत्ति पर्दैन। जे गर्छ सिस्टमले गर्छ। जब सिस्टम बन्छ कार्यान्वयन पक्ष बलियो हुन्छ नचाहेर पनि गति लिन्छ र भने जस्तो सोचेजस्तो विकास हुन्छ नागरिक खुसी हुन्छन् र सरकार पनि।

यति मात्र हैन खाना खाने बस्ने ठाउँहरू पनि सुरक्षित व्यवस्थित, भरपर्दो छ। जति घुमे पनि विस्मात् लाग्ने ठाउँ छैन। बरु घुमिरहुँ हेरिरहुँ जस्तो लाग्छ।

नीतिनियम, सुरक्षा व्यवस्थित बसोबास पूर्ण सन्तुष्टि हुने सेवा प्रवाह भएपछि पर्यटकको संख्या उल्लेख्य मात्रामा बढ्नु नौलो कुरा होइन त्यसैले त चोक चोकमा विदेशी पर्यटकहरूको भीड देखिन्छ।

जता गए पनि दिपावली मनाइरहेको जस्तो रमझम देखिन्छ नागरिक खुसी छन्। पर्यटक खुसी छन्। यहाँभन्दा बढ्ता अरू के चाहियो र!

प्रतिक्रिया दिनुहोस्