बिपी भन्नुहुन्थ्यो– धेरै पढ्नू, खुब पढ्नू … तर पढेर मात्र केही हुन्न

0
55

किताब चर्चा

बिपी कोइराला भन्नुहुन्थ्यो, ‘पढ्नू है, खुब पढ्नू। तर, पढेर मात्र हुँदैन। पढ्नू, चिन्तन गर्नू अनि चर्चा गर्नू।’

२०३४–३५ सालतिरको कुरा।

बिपी भारत प्रवासबाट नेपाल फर्किनुभएको थियो। म पनि क्याम्पस पढ्न काठमाडौं आएको थिएँ। उहाँ चाबहिल बस्नुहुन्थ्यो, म ज्ञानेश्वर।

चाबहिलमा हरेक बिहान बिपीलाई भेट्न आउनेहरूको घुइँचो लाग्थ्यो। तिनैमध्ये म पनि एक थिएँ।

उहाँ अनेक विषयमा प्रवचन दिनुहुन्थ्यो। प्रवचन भनेको एकोहोरो वाचन होइन। बिपीको प्रवचनमा प्रश्न–उत्तर हुन्थ्यो। साम्यवाद भनेको के हो? प्रजातान्त्रिक समाजवाद भनेको के हो? धर्म के हो? यस्ता अनेक विषयमा उहाँ आफ्नो विचार राख्नुहुन्थ्यो। सहभागीहरू प्रश्न सोध्थे। जति धेरै प्रश्न, प्रवचन उति गहन।

बिपीका सबै तर्क–बितर्क मेरो कलिलो समझभन्दा पर थियो। एउटा प्रश्न भने बारम्बार दिमागमा आइरहन्थ्यो– यी मान्छे हरेक विषयमा धाराप्रवाह बोल्छन्। हरेक विषयमा सोधिएका प्रश्नको सटिक जवाफ दिन्छन्। एउटै मान्छेले यति धेरै ज्ञान राख्न कसरी सम्भव छ?

एकदिन यही जिज्ञासा मैले बिपीसँग राखेँ, ‘सान्दाजु, तपाईं हरेक विषयमा कसरी यस्तो बोल्न सक्नुहुन्छ?’

उहाँको जवाफ थियो, ‘मलाई संसार हेर्ने दृष्टिकोण समाजवादी चेतले दिन्छ। समाजवादले चिनाउने समाजलाई गहिराइसम्म महशुस गर्न जुन संवेदनशीलता चाहिन्छ, त्यो साहित्यले दिन्छ।’

बिपीले अगाडि भन्नुभयो, ‘ज्ञान र संवेदना परिस्कृत गर्दै लैजान प्रशस्त किताब पढ्नुपर्छ। समाज चिन्नुपर्छ। आफ्नो चिन्तनमा आफैं घोत्लिनुपर्छ। बहस गर्नुपर्छ। अध्ययनले ज्ञान दिन्छ, बहसले त्यही ज्ञान परिस्कृत गराउँछ।’

‘सान्दाजु, साहित्यले सिकाउने संवेदनशीलता भनेको के हो?’

‘समाजवादले समाज चिनाउँछ, साहित्यले मान्छे,’ बिपीले भन्नुभयो, ‘मान्छे के हो? उसको करुणा के हो? माया के हो? इच्छा, आकांक्षा र कुन्ठा के हो? लोभ र इर्ष्या के हो? साहित्यले हामीलाई मानवीय गुण–दोषका यी बहुआयामिक पत्र पहिल्याउन सिकाउँछ।’

उहाँले उदाहरण दिनुभयो।

‘जब म ल्याटिन अमेरिकाबारे कुरा गरिरहेको हुन्छु, म आफ्नो समाजवादी चिन्तनले त्यहाँको सामाजिक वस्तुस्थिति विश्लेषण गर्छु। ल्याटिन अमेरिकी साहित्य अध्ययनले मलाई त्यहाँको समाजको संवेदनशीलता बुझाउँछ। यी दुवै दृष्टिले बल्ल कुनै पनि घटना र परिस्थितिको वस्तुनिष्ठ परख हुन सक्छ।’

यस्ता गहन विवेचना बुझ्ने हाम्रो बौद्धिक क्षमता थियो कि थिएन, त्यो आफ्नो ठाउँमा छ। बिपी भने दर्शकदीर्घामा आँखा दौडाएर आफ्नो अभिव्यक्तिको प्रवाहमा चुकुल लगाउनुहुन्थेन। सुन्नेहरू जुनसुकै पृष्ठभूमिबाट आएका हुन्, उहाँको प्रवचनको गाम्भीर्यमा कहिल्यै असर परेन।

बिपी सबैलाई लेखपढ गर्न, चिन्तन गर्न र वैचारिक छलफलमा सरिक हुन प्रेरित गर्नुहुन्थ्यो। सबैलाई आफूजस्तै उच्च तहको वैचारिक धरातलमा ल्याउन खोज्नुहुन्थ्यो। चुनौती दिनुहुन्थ्यो।

यसबाटै मैले थाहा पाएँ, जस्तोसुकै विद्वान वा दार्शनिकको साहित्य पढ्न वा प्रवचन सुन्न त्यही स्तरको ज्ञान हुनुपर्दैन। लगनले पढ्यो भने अप्ठ्यारो किताबबाट पनि केही न केही ग्रहण गर्न सकिन्छ। आफूले पढेको विषयमा जति धेरै चिन्तन र चर्चा गर्यो, त्यसको दायरा उति फराकिँदै जान्छ।

चाबहिलका ती बिहानी प्रवचनकै क्रममा कुनै एकदिन बिपीले मेरो लेखपढको कुरा झिक्नुभयो, ‘तिमीलाई किताब पढ्न रुचि छ?’

‘छ सान्दाजु,’ मैले भनेँ।

‘उसो भए म तिमीलाई केही किताबको नाम लेखिदिन्छु। किनेर पढ्नू है,’ उहाँले त्यहीँ खुरूखुरू २० वटा किताबको नाम लेखेर मलाई थमाउनुभयो।

बिपीले आफ्नै हातले लेखेर दिनुभएको त्यो २० वटा किताबको सूची मैले ‘ल्यामिनेसन’ गरेर पछिसम्मै राखेको थिएँ।

उहाँले लेखिदिनुभएको सूचीमा भिक्टर ह्युगोको ‘ले मिजराब्ल’, ट्रत्स्कीको रुसी क्रान्तिसम्बन्धी किताब, रुसी लेखक दोस्तोभस्कीको ‘क्राइम एन्ड पनिस्मेन्ट’ लगायत रुसी साहित्य र फ्रान्सेली क्रान्तिका किताब थिए।

गान्धीको आत्मकथा, जवाहरलाल नेहरूद्वारा लिखित भारतीय इतिहाससम्बन्धी किताब ‘डिस्कभरी अफ इन्डिया’ पनि सूचीमा थियो।

‘गड द्याट फेल्ड’ भन्ने किताब पनि थियो, उहाँको सूचीमा। यो छ जना पूर्व कम्युनिस्ट लेखकको निबन्ध संग्रह हो, जसमा उनीहरू साम्यवादले नै परिवर्तन ल्याउँछ भन्ने भ्रम टुटेपछि लोकतन्त्रको धारमा फर्किएको वर्णन छ। यसमा महात्मा गान्धीको आत्मकथा लेखक लुइस फिस्चर, हंगेरी लेखक अर्थर कोस्टलर, अमेरिकी लेखक रिचर्ड राइट, बेलायती लेखक स्टेफेन स्पेन्डर लगायतका निबन्ध संकलित छन्।

बिपीले सुझाउनुभएका यी किताब मैले कुनै तुरुन्तै किनेँ, कुनै अलि पछि। कति त बिपीको निधनपछि पनि खोजीखोजी किनेको छु।

ती किताब मेरो संकलनमा सुरक्षित छन्। खोजेर हेर्ने हो भने गातापछाडि पहिलो पृष्ठको सिरानमा किनेको मिति लेखिएको हुनेछ– सन् ७० दशकका आखिरी सालहरू।

बिपीसँगको साक्षात्कार र किताब चर्चाले मेरो पठनलाई नयाँ मोड दियो। म किताब किन्ने र पढ्ने बाटोमा गम्भीर रूपले लागेँ। आज मेरो घरमा दुइटा कोठा जम्मै किताबले भरिएका छन्। किनेजति सबै किताब सुरुदेखि अन्तसम्म आद्योपान्त पढेको छु भनेर भन्दिनँ। कति किताब यस्ता छन्, जसको दुई–चार अध्याय मात्र पढेको हुँला। कति किताब निष्कर्ष मात्र पढेर छाडेको छु। कतिको त कसरी लेखियो भन्ने विधि मात्र पढे पुग्छ।

अध्ययनको सिलसिला फर्केर हेर्दा मलाई सधैं कथाले आकर्षित गर्यो, आख्यान होस् या गैरआख्यान।

आख्यान र गैरआख्यान किताब पढ्ने तरिका फरक हुन्छ। गैरआख्यान सामान्यतया ज्ञानका लागि पढ्ने हो। आख्यान भनेको उच्चतम तहको आनन्दका लागि। यसमा घटना र परिवेशसँगै चरित्र चित्रण महत्वपूर्ण हुन्छ।

आख्यान लेखक भनेका माकुराजस्ता हुन्, जो आफ्नै पेटबाट निस्कने मसिना रेसाले बाक्लो जालो बुन्छन्। उनीहरू आफ्नै दुनियाँ रचना गर्छन्। आफ्नै पात्र खडा गर्छन्। त्यसको चरित्र, आनीबानी र तौरतरिका मिहिन केलाउँछन्। वर्णन जति मिहिन, कथा उति मनमोहक। त्यसैले, आख्यान पढ्दा म त्यसको कुनै पनि पत्र छुटाउन चाहन्नँ।

गैरआख्यान लेखकहरू भने अरिंगालजस्ता हुन्छन्। जसरी अरिंगालले वरिपरिबाट गिलो माटो टिपेर गोलो बनाउँछन् र आफ्नो भुन्भुनाहटबाट त्यसलाई आकार दिन्छन्, गैरआख्यान लेखकहरूले समाजकै विषयवस्तु टिप्ने हुन्। र, त्यसलाई आफ्नो सिर्जनशीलताले संरचनामा ढाल्ने।

गैरआख्यानलाई सिर्जनात्मक ढंगले लेख्नेहरू पनि छन्। सूर्य उदाउँछ, यो गैरआख्यान हो। जब त्यही उदाउँदो सूर्यको आभा र चराको चिरबिरलाई माकुराले जस्तै रेसा–रेसा बुनिन्छ, त्यो सिर्जनात्मक गैरआख्यान बन्छ।

यो विधामा मलाई जर्ज अरवेलका रचना उत्कृष्ट लाग्छन्। उनले स्पेनिस युद्धबारे लेखेको ‘होमेज टू क्याटालोनिया’ बेजोड सिर्जनात्मक गैरआख्यान हो।

भिएस नयपालले लेखेका दुइटा किताब ‘अमोङ द बिलिभर्स’ र ‘बियोन्ड बिलिफ’ पनि सिर्जनात्मक गैरआख्यानका उत्कृष्ट रचना हुन्। नयपालले यसमा लन्डनबाट इरान, अफगानिस्तान हुँदै इन्डोनेसियासम्म यात्रा गरेर इस्लामिक कट्टरवादीहरूको उदयबारे लेखेका छन्।

ल्यारी कोलिन्स र डोमिनिक ल्यापियरले आफ्नो गैरआख्यान ‘फ्रिडम एट मिडनाइट’ मा भारतको स्वतन्त्रता र विभाजनलाई सिर्जनात्मक ढंगले वर्णन गरेका छन्।

यो किताबमा महात्मा गान्धी, जवाहरलाल नेहरू र ब्रिटिस इन्डियाका अन्तिम ‘भाइसरोय’ माउन्ट बेटनबीचको वार्ता जसरी चित्रण गरिएको छ, त्यो हामीलाई प्रत्यक्ष हेरेझैं, सुनेझैं लाग्छ। त्यो वार्ता कतै रेकर्ड भएको थिएन। उनले जानकारहरूसँगको कुराकानीका आधारमा तीन जनाको वार्तालाई जसरी संवाद शैलीमा लेखे, त्यसलाई आजसम्म आधिकारिक मानिन्छ।

सिर्जनात्मक गैरआख्यानको शक्ति र सुन्दरता यही हो। यसले निरश इतिहासलाई सरस साहित्यमा ढाल्छ। र, सबैले पढ्ने, बुझ्ने र गुन्ने दस्तावेजको रूप दिन्छ।

गैरआख्यान लेख्दा कतिसम्म सिर्जनशील हुने? यो बहसको विषय हो। मेरो विचारमा सिर्जनात्मक गैरआख्यान र आख्यानलाई मसिनो धर्सोले छुट्टयाउँछ, जुन गैरआख्यान लेखकलाई बाँध्ने लक्ष्मणरेखा हो। रेखा नाघ्यो, विश्वसनीयता गुम्यो। बाँकी लेख्ने र पढ्नेबीच विश्वासको कुरा।

आख्यान र गैरआख्यानभन्दा माथि अर्को उच्चस्तरको साहित्य हुन्छ, कविता — आँखाले हेरिने, मनले पढिने। पेन्टिङ त्योभन्दा माथिल्लो स्तरको अभिव्यक्ति हो भन्ने लाग्छ। केही वर्षयता मेरो अध्ययनको रुचि कवितातिर ढल्किएको छ।

अध्ययनको कुरा गर्दा उमेरको हद महत्वपूर्ण हुन्छ। उमेरअनुसारै मान्छेको रुचि फेरिँदै र फराकिँदै जाने हो। यसमा विषयवस्तु ग्रहण गर्ने क्षमताको कुरा पनि आउँछ। यसको अर्थ सानो उमेरका केटाकेटीलाई गहन विषय पढाउन हुन्न भन्न खोजेको होइन।

जसरी बिपीले आफ्नो प्रवचन सुन्न आउनेको क्षमता नहेरी उनीहरूको बौद्धिक धरातल उकास्न खोज्नुभयो, त्यस्तै केटाकेटी उमेरबाटै गहन साहित्यतर्फ रुझान बढाउन सकिन्छ।

अन्तर्राष्ट्रिय बजारमा ‘क्लासिक’ किताब पनि विभिन्न उमेर समूहका लागि छुट्टाछुट्टै स्तरका भाषाशैलीमा लेखिएका हुन्छन्। चार्ल्स डिकन्सका क्लासिक किताब सानो उमेरलाई छुट्टै र निम्नमाध्यमिक तहका भाइबहिनीले बुझ्ने गरी छुट्टै संस्करणमा प्रकाशित छन्। स्कुलका आखिरी सालमा दौडिरहेका वा भर्खरै कलेज जान थालेका विद्यार्थी अलिअलि क्लिष्ट भाषा बुझ्न सक्ने वा अर्थ खोज्ने क्षमता राख्छन्। उनीहरूका निम्ति फेरि अर्को संस्करण हुन्छ।

शब्द वा भाषाको ज्ञान उमेरअनुसार परिवर्तन हुन्छ। विषयवस्तु बुझ्ने दक्षता पनि परिस्कृत हुँदै जान्छ। मान्छेको आधारभूत संवेदनशीलता भने जुनसुकै उमेरमा उही हो। उमेर बढ्दै जाँदा संवेदनशीलता जटिल हुँदै जाला, तर आधारभूत सार फरक पर्दैन। क्लासिक किताबलाई उमेर समूहको संस्करणमा निकाल्दा ध्यान दिने यसैमा हो। संवेदनशीलता उही, विषय, परिवेश र पात्र पनि उही, प्रस्तुतिको माध्यम मात्र फरक।

हाम्रो प्रकाशन क्षेत्रमा यो शैली भित्रिसकेको छैन। हामीकहाँ बाल साहित्य भन्नेबित्तिकै चराचुरुंगी, बाघभालु वा परीको कथा बुझिन्छ। गहन साहित्य पनि सरल भाषामा बालबालिकालाई पढाउन किन सकिन्न? हाम्रा प्रकाशन संस्थाहरूले यो शैली अपनाउने हो भने हाम्रो साहित्यको धरातल मात्र होइन, लेखपढ संस्कृति नै फराकिलो हुँदै जानेछ।

लेखपढ संस्कृति फराकिलो हुँदै जानु भनेकै चिन्तन र चर्चा बढ्नु।

अब प्रश्न उठ्छ, अध्ययनसँग चिन्तन र चर्चाको के सम्बन्ध?

म गौतम बुद्धको उदाहरण दिन चाहन्छु।

सिद्धार्थ गौतम अथक ध्यान, तपस्या र साधना गरेर गौतम बुद्ध भए। लगन र मिहिनेत गर्यो भने सामान्य मान्छे पनि बुद्ध बन्न सक्छ भन्ने प्रमाणित भयो।

उनी बुद्धत्व पाएर त्यत्तिकै बसिरहेका थिए। आफ्नो ज्ञान समाजमा बाँड्नुपर्छ भन्ने सोचेकै थिएनन्। एकदिन केही सेवकले आएर भनेछन्, ‘तपाईंले पाएको ज्ञानबाट मानव जातिले के सिक्ने? कसरी बुझ्ने? तपाईंले आफ्नो ज्ञान अरूलाई बाँड्नुपर्छ, तब न ज्ञानको सार।’

गौतम बुद्ध सारनाथ गए। आफ्ना अनुयायीहरूलाई प्रवचन दिन थाले। व्यक्तिको बौद्धिकतासँग सामूहिक चेतनाको कुरा जोडियो। यसबाट के बुझिन्छ भने, ज्ञानको उच्चतम विन्दु बुद्धत्व हो, तर बुद्धलाई पनि आफ्नो ज्ञान परिस्कृत गर्दै लैजान सामूहिक चिन्तन, छलफल, व्याख्या, वाद–प्रतिवाद र बहसको खाँचो पर्छ।

बिपीले ‘पढ्नू, चिन्तन र चर्चा गर्नू’ भनेको त्यही भएर हो।

उहाँको आसय थियो, एउटा व्यक्ति पढेर ज्ञानी त हुनसक्छ, तर ज्ञान उसको निजी हुन सक्दैन। त्यो सामूहिक प्रयोगमा आउनुपर्छ। यसको निम्ति चिन्तन र चर्चा अपरिहार्य छ।

मैले आफ्नो आनन्दका लागि पढेँ। अहिले पनि नियमित पढ्छु। ज्ञानभन्दा माथिल्लो तहको आनन्द अरू छँदै छैन। तर, त्यो आनन्द आफूमै सीमित रह्यो भने आफू समाजको अंग भइन्छ कि भइँदैन?

कुनै पनि सिर्जनासँग सामाजिक दायित्व जोडिएको हुन्छ। त्यस्तै दायित्व अध्ययनको पनि हुन्छ। सामाजिक विकासमा ज्ञानको महत्व स्वीकार्ने हो भने आफूले पढेका कुरा कुनै न कुनै रूपमा समाजसम्म पुर्याउनैपर्छ। त्यो हामी पढ्नेहरूको सामाजिक दायित्व हो।

मैले सेतोपाटीमा सुरु गरेको यो स्तम्भ यही उद्देश्यबाट प्रेरित छ।

यो स्तम्भ किताब समीक्षा होइन, किताब चर्चा हो। लेखकको चर्चा हो। किताब पढेर मैले के बुझेँ? सन्दर्भ के हो? विश्व परिवेश र हाम्रो परिवेशमा त्यसले के अर्थ राख्छ? किताबले समातेको विषयवस्तुलाई लेखकको पृष्ठभूमिले कसरी प्रभावित पार्यो? एउटा लेखकको तर्कमा अर्को लेखकले कसरी बितर्क गरे? यो स्तम्भ मूलतः यिनै विषयमा केन्द्रित हुनेछन्।

मैले यहाँ ‘चर्चा’ शब्द प्रयोग गर्नुको कारण छ। किताब पढेपछि त्यसबाट ग्रहण गर्ने दर्शन व्यक्तिपिच्छे फरक हुन्छ। मैले जे बुझेँ, सबैले त्यही बुझ्नुपर्छ भन्ने जरुरी छैन। त्यो हुन पनि सक्दैन। मेरो बुझाइ र तपाईंको बुझाइको विविधता नै चर्चा हो।

‘किताब चर्चा’ को अर्को अंक मैले भर्खरै पढिसिध्याएको ‘गान्धी ट्रिलोजी’ माथि हुनेछ। रामचन्द्र गुहाले भारतका राष्ट्रपिता महात्मा गान्धीमाथि तीनवटा ठूल्ठूला किताब लेखेका छन्। तेस्रो किताब हालसालै प्रकाशित भयो।

गान्धी वाङ्मय विशाल छ। झट्ट विचार गर्दा हामीलाई उनको जीवनमा थाहा नभएका कुरा केही छैन जस्तो लाग्छ। तर, आजको मितिमा पनि उनका बारेमा बर्सेनि १५–२० वटा किताब राम्रै प्रकाशन गृहले छापिरहेका छन्। एउटै व्यक्तिका बारेमा किन यति धेरै लेखिन्छ? के छ उनको जीवनमा, जुन हामीलाई अझै थाहा छैन? र, यी सबै लेखनको उरुङमा रामचन्द्र गुहाको ‘गान्धी ट्रिलोजी’ ले के अर्थ राख्छ?

यसबारे चर्चा अर्को अंकमा।

(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)

प्रतिक्रिया दिनुहोस्