समालोचना : समयका धब्बाहरूलाई धोइपखाली गर्दा

0
20

~सदानन्द अभागी~

‘समयका धबबाहरू’मुक्तकका कृतिकार हुन नारायण मरासिनी । २०२९ साल पुस २७ गते चिन्नेबास–१ ज्याग्दिखोला , स्याङ्जामा जन्मेका ,माता कुन्तीमाया र पिता गणेशप्रसाद उपाध्यायका पुत्ररत्नसँग २०७५ साल कार्तिक ६ गते ज्यााग्दीखोला साहित्य प्रतिष्ठानले आयोजना गरेको बृहत् हरिनाश साहित्य सम्मेलनमा साक्षात्कार भएको र सोही सम्मेलनमा उहाँले मलाई ‘समयका धब्बाहरू’ (मुक्तकसङ्ग्रह २०५१, दोस्रो संस्करण २०६३), ‘सानें (खण्डकाव्य २०५६), रणभूमिबाट (कवितासङ्ग्रह–२०६३) र ‘हेडसरका कथाहरू’ (लघुकथासङ्ग्रह–२०७१) गरी चार कृतिहरू उपहारस्वरूप प्रदान गर्नु भएको थियो । उहाँको प्रथम कृति तीजको कोसेली (तीजका गीतहरूको सँगालो २०५०) भने मैले प्राप्त गर्न सकिन । एम.ए. (नेपाली) बी.एड. शैक्षिक योग्यता हाँसिल गरेका मरासिनी एक कुशल सम्पादक पनि हुनुहुन्छ । उहाँले एकल तथा संयुक्त रूपमा सम्पादन गरेका आरोहण, निगालो, साहित्य–प्रभा, गण्डकी सङ्गमको साथै ज्याग्दीखोलाको तरङ्गमा कार्यकारी सम्पादको भूमिका निभाइ सक्नु भएको छ । यिनै सम्पादनले उहाँलाई एक कुशल सम्पादक भएको प्रमाणित गर्दछ । बहुप्रतिभाका धनी मरासिनी गण्डकी साहित्य सङ्गम, पोखरा, प्रगतिशील लेखक सङ्घ कास्की, निगालो साहित्य समूह, पोखरा र ज्याग्दीखोला साहित्य प्रतिष्ठानसँग आबद्ध भएर साहित्य सेवामा समर्पित भएको देखिन्छ । विद्वताका खानी, हँसिलो अनुहार,आकर्षक व्यक्तित्व, मृदुभाषीता नै उहाँको परिचय हो भन्ने लाग्यो मलाई ।

कृतिको संरचना –

साहित्य श्रृङ्खला पोखराले प्रकाशन गरेको, मूल्य रू २०÷– राखिएको , ‘देशमा आमूल परिवर्तनका निम्ति प्राणोत्सर्ग गर्नेहरूप्रति’ समर्पित यो कृतिमा १०१ मुक्तकहरू समावेश गरिएका छन् । रविलाल अधिकारीज्यूबाट ‘केही कुरा’ शीर्षकमा राम्रो मुक्तककार बन्ने धारणा पस्कनुु भएको छ भने स्वयम मरासिनीजीले ‘तीजको कोसेलीको प्रकाशन पश्चात् मैले आफ्नो काव्य–यात्राको सुरुवात यसै कृतिबाट गरेको थिएँ’ भन्ने धारणा राख्नु भएको छ ।संरचनाको हिसावले झट्ट हेर्दा कृति सानो छ तर भाव प्रस्तुतिमा सारगर्भित एवम्ओजनदार छ ।

कृतिभित्र प्रवेश गर्दा –

‘नैतिक मूल्य’ प्रथम मुक्तक हो , । नैतिकतामा ह्रास आएको यस समयमा मरासिनीको यस मुक्तकले राम्रै झपाड हानेको छ र प्राय मुक्तकहरूमा मुक्तककारले नैतिक मूल्य र मान्यताको सवलीकरणमा जोड दिएका छन् । नेतृत्व असक्षमताले गर्दा शैक्षिक योग्यताले जागिर पाउन नसक्ने र खुट्टामोल्नप्रने प्रवृतिको हावी भएको यथार्थता पस्केका छन् मुक्तककारले –

सर्टिफिकेटको मान्यताले जागिर पाउन धौधौ परेको छ
आयोग लडेर जितेको परिणाम पनि बसाइँ सरेको छ
युगअनुसार चल्नै प¥यो ,कुर्सीको खुट्टो मोल्नै प¥यो
हिजोको कुखुरा चोरलाई आज मैले हातले सलाम गरेको छ ।

आजको शैक्षिाक गुणस्तरममा मुक्तककारले व्यङ्ग कसेकाछन्, विद्यार्थीमा कलमको ठाउँमा बन्दुक देख्छन्, गुरुचेलालाई सँगै भट्टीमा भेट्छन्, संस्कार र संस्कृति मात्र नभएर शैक्षिक गुणस्तर नै जेल गएको पाउँछन् ,पढेर पनि खास उपलब्धि पाउँदैनन् बरु वेदका ‘व’ नजान्ने मूल पण्डित भएको देख्छन् । चेलीवेटी बेचबिखनलाई मुर्ख पिताजी १ र र्२ मा पस्कने प्रयास भएको छ । आजको यो जल्दो बल्दो समस्या हो । हरेक नागरिक सचेत बन्न परेको छ । तर समाजमा यस्ता कोही व्यक्तिहरू पनि छन् छोरीको नारकीय जीवनप्रति सोच नभै बम्बैबाट छोरीले चेक पठाएको र घरमा विजुलीबाली बाबुलाई पाल्न थालेको आनन्दमय अनुभूति पनि गरेको प्रस्तुति, आजको चेलीबेटी बेचविखनको एउटा नमुनाको उदाहरण हो । देश सुन्दर, प्रगतिशीलतर्फ उन्मुख हुनको लागि सचेत, नैतिकवान, कर्मशील व्यक्तिको आवश्यक्ता पर्दछ साथै सरसफाई, सुयोजनाको निर्माण र कार्यान्वयन हुनु पर्छ तर मुक्तककारले यस्तो यथार्थता पाउँदैनन्, बरु सरसफाइको कमीमा सगरमाथको दिल दुख्नु, भोका र नाङ्गाको चित्कार सुन्न नसकेर माछापुछ«े लुक्नु, विकासका योजना कार्यनव्यन नहुनु, अध्ययनरत सन्तानमा कुलतले स्थान लिनु जस्ता धटनाहरू घटेको पाउँछन् र यस तर्फ मुक्तककारले सवल प्रश्न उठाएका छन्् र सवलताको कामना गरेका छन् ।

विश्वमा धनी र गरिब बीचको खाडल गहिरो छ । जहाँ एक माना चामल नपाएर भोकभोकै हिड्न पर्ने अवस्थामा रहेका नागरिकले, देश निर्माणतर्फ के नै सोच्न सक्छ । देशमा गरिबी र महगीले निम्त्याएको विकराल स्थितिलाई ‘खुराँक’ बाट प्रष्ट्याउन खोजेका छन् मुक्तककारले – ‘सुकेका लाम्टाबाट पनि दूध आउँछ कि भनेर मेरो दूधे छोरो निरन्तर चुसिरहेछ रित्तो पेटमाथि महङ्गी भरिएर निस्केका दुई ढिस्काहरू ।’ यी यथार्थतामा उभिएर पस्किएका कारुणिक शब्दहरूबाटै बुझ्न सकिन्छ कि देशको गरिबी र महगाइले कतिसम्म जनता पिरोली रहेका छन् ।

देश विकासको लागि आत्मनिर्भरतामा सवल र सक्षमता हुनुपर्छ तर नेपाल त्यो अवस्थामा छैन ।ऋणमागेर भए पनि घिउ खाने प्रवृत्ति हावी छ देशमा । देशनिर्माण भाषणमा मात्र सीमित छ । कुर्सीको प्रतिस्पर्धा छ । यी घटना क्रममा मुक्तककारले पीडा महसुस गर्दै भन्दछन् –

ऋणको पाशो थापेर देशले विकास गरेको छ
कुर्सीको प्रतिस्पर्धामा निर्माणको भाषण झरेको छ
कतै सगरमाथा नै लिलाम बढाबढ पो पर्ने हो कि !
सिक्किमका र तिब्बतको कथा सुन्दा निकै पीर परेको छ ।
(११ पीर, पृष्ठ –४)

आजको सामाजिक विकृतिप्रति कटाक्ष–

समाजमा व्यापक विकृति र विसङ्गति फैलिएकको छ भाषण कर्ताले जे बोल्छन् त्यो व्यवहारमा उर्तादैनन् । मुक्तककारले यस सम्बन्धममा भन्दछन् –

मेरो आफ्नै बाउले बलात्कारबिरुद्ध भाषण गर्छ
साँझ प¥यो कि सधैं सधैं उसलाई पिउनुपर्छ
भाषण सिद्धिएपछि र बोत्तल रित्तिएपछि भने
मेरो आमाको नाता पनि भट्टीवाला दिदीसँगै सर्छ
(१३ नाता पृष्ठ ५)

छाती नछोप्ने फेशन देख्दा
ंशरीरको मूल्य ज्यादै सस्तो लाग्छ
रङ्ग पोतेर यौवन नछोप्ने यो युगमा
कपडा पसलेकी छोरी अर्धनग्न देख्दा
आफ्नै कमेज खोलेर दिऊँ जस्तो लाग्छ
(१६ यस्तो लाग्छ, पृष्ठ ६)

विदेशी हस्तक्षेप–

नेपाललाई वीरहरूको देश भनिन्थ्यो । पुर्खाहरूले यो देशको सीमाना पूर्वमा तिष्ठा देखि लिएर पश्चिममा काङ्गडासम्म पु¥याएका थिए । वीर बलभद्रको नालापानीको युद्धमा देखाएको वीरतालाई अंग्रेजहरूले पनि कदर गरेका थिए । यो इतिहासले बताउँछ तर आज त्यो बहादुरी विदेशमा गएर बोरा बोक्नेमा परिण भएको छ , भक्ति थापाका सन्तान हामी बहादुरीबाट पछि हटेका छौ देश अतिक्रमिक हुँदै गएको छ ।कालापानी लिपुलेक सुस्ता आदि लगायत देशका सीमाना अतिक्रमिक भएका छन् । यस सम्बन्धमा मुक्तकारले विदेशी हस्तक्षेपप्रति गहिरो चिन्ता प्रकट गरेका छन् –

चिनीको स्वाद लुक्छ भन्छन् अति धेरै खाएपछिं
पुरानो घाउ लुक्छ भन्छन् नयाँ घाउ पलाएपछि
हात बााँधेर कसरी सहन्छौं हे वीरभद्रहरू हो ?
नालापानीको पहिरो कालापानीमै आए पछि ?
(५९पहिरो,पृष्ठ २०)

मुक्तकले बोकेका विविध धारणाहरू–

यस मुक्तकसङ्ग्रहमा नेतृत्वको असक्षमता, महगाई, वेरोजगारी, मानवीय प्रवृत्ति, समाजपरिवर्तनका लागि राँकेको आवश्यक्ता, महगीको मार, जीवन जगतका कुराहरू, संरक्षक नै भक्षक भएका कुरा, प्रगतिको नाममा नेताका भुँडी बढेका कुरा, खुट्किला चढेर माथि पुगे पछि अर्थात आफ्नो दुनो सोझिएपछि, भ¥याङ्लाई तुच्छ ठान्नु, प्रजातन्त्रको विगुल फुकेर के गर्ने जनतालाई एक लिटर मट्टीतेलको अभाव भएको कुरा, मानिसबाटै मानिस रेटिएका कुरा, नेपाली भएर नेपाली पन नै हराएका कुरा, अन्ध विश्वास जीवित रहेका कुरा, स्वतन्त्रताको भीडबाट स्वतन्त्रता हराएका कुरा, हुने र नहुनेमा असमानता र विभेद, बजेट भाँषणले जनताको आशालाई समेटन नसको कुरा, सिङ्गारमा देखिएको नग्नता, खाते बालकको रोग, भोक र घरको व्यवस्था मिलाउन भनि उपलब्धिहीन खर्च, देशमा सधैं संकटकालको अनुभूति, घरमा खानाको अभाव तर दूध बेचेर रक्सी खाने प्रवृत्ति, अमेरिकाले आफ्नो स्वार्थपूर्ति गर्नका लागि इराकमा बहुराष्ट्रिय सेना हुलेका कुरा, भोको पेटमा सैद्धान्तिक बहस कसरी गर्नु, जागिर नपाउँदाको पीडा, देशका लागि मर्नेहरूको उच्च मूल्याङ्कन अरुको नहुने, नेपालीमा गणतन्त्रको चाहना, कामदारलाई ज्याला दिंदा अन्नदाताहरू ठसठसी कन्नु, गणतन्त्रमा गास बास कपास र सबैलाई समान अधिकार पाउनु पर्ने तर जनताले ती बस्तुहरू प्राप्त गर्न नसकेको गरिबहरूको लागि चाड पर्व पनि जहर हुने, आन्दोलनमा निदाएकाहरू आज भागबन्डामा व्यस्त रहेका कुरा, बेरोजगारीले निम्त्याएको घरयासी झगडा, आदि थुप्रै सारबस्तुहरूलाई मुक्तकले समाएका छन् । मुक्तककारले देशको इतिहास, देशको समाजिक, राजनीतिक, आर्थिक विविध पक्षका विकृति बिसङ्गतिलाई कोट्याउने र समाज परिवर्तनको लागि सुझाव दिने कामको साथै विविध घटनाक्रमलाई मुक्तकमा सजाएका छन् र प्रष्ट (विना हिचकिच) धारणा राखेका छन् ।

यस मुक्तकसङ्ग्रहमा पाँचओटा हाइकुहरू समावेश गरिएका छन् । यी हाइकुले पनि सामजिक विकृति र विसङ्गतिलाई समाएका छन् । आँखा नहुनेले हात्ती छामेर भित्तो सम्झनु स्वभाविकै थियो तर आजको समयमा आँखा हुनेले पनि हात्तीलाई छामेर भित्तो भन्न थालेको धारणा, मलामीले वनभोज खाएको धारणा, परिवर्तन आएको भन्नु मात्रै पुरानो सिरकमा नयाँ खोल फेरिएको धारणा, आजका सत्ताधारीले कुर्सीलाई सधैको पेवा सम्झने धारणामा कुर्सी सधैंका लागि हुँदैन भन्ने सुझाव, गीताको मार्ग दर्शनलाई कार्यन्वयन जस्ले गर्नु पर्ने हो सो नभएको सन्दर्भमा पण्डितजी शीर्षकमा कविजीले लेख्नु हुन्छ –

गीताका श्लोक
समसाँझै पाठ हुन्छन्
रक्सीभट्टीमा

भाषशैली–

भाषाशैली सरल छ । सबै किसिमका पाठकको लागि ग्राह्य छ । अलङ्कारी रूप र व्यङ्गशैलीमा प्रस्तुत भएका कारण मुक्तकहरूले स्वदिलो स्थान बोकेका छन् ।

शीर्षकीकरणा –

साधारण अर्थमा धब्बा भन्दा दाग टाटो,लागेको अथवा दोष कलङ्क,, आरोप , अभियोग भन्ने बुझाउँछ । नारायण मरासिनीले यस मुक्तकसङ्ग्रहलाई ‘समयका धब्बाहरू’ भनि नामा करण गरेका छन् । समय गतिशील हुन्छ । यसले राम्रा नराम्रा पक्षलाई समेट्ने गर्दछ तर मरासिनीले यहाँ समयचक्रमा भएका गरिएका अधिकांश नकरात्मक घटनाक्रमलाई समेट्ने प्रयास गरेका छन् । समयलाई भूत, बर्तमान र भविष्यको रूपमा लिनु पर्ने हुन्छ । भूतका धब्बालाई केलाएका छन् । बर्तमानलाई समाएका छन् र यी घटनाक्रम भविष्यमा पनि घट्न सक्ने सम्भावनालाई नकार्न नमिल्ने भएकोले समयका धब्बा नामाकरणा सार्थक नै देखिन्छ ।

खास गरेर मुक्तकलाई मुक्तककारले‘कविताको लघुतम रूपमा मानिने, मुक्तकले जीवन अनुभूतिको एक झिल्को दिने हुनाले नै भन्न मन लाग्छ–मुक्तक समयको चट्याङ हो, जसले पाठक मस्तिष्कमा एउटा छाप छोड्न सक्छ’ । स्वयम् यस्तो गहन धारणा राख्ने मुक्तककारका मुक्तकहरूले पाठकको मन मुटु र मस्तिष्कलाई छुन सक्छन् भन्ने कुरा सहजै भन्न सकिन्छ । आफ्नो धारणालाई मुक्तककारले साकाररूप दिन गरेको प्रयास स्तुत्य छ । साहित्य लेखनका विविध सिधान्त छन् । मुक्तक लेखनको पनि आफ्नै विधिविधान छ । मुक्तकमा भावको स्पष्टताको साथै प्रभावकारी एवम् कलात्मक प्रस्तुति पनि चाहिन्छ । यस पक्षमा मुक्तककार सचेत देखिन्छन् । संरचनाको हिसावले अध्ययन गर्दा पनि प्राय सबै मुक्तकहरू चतुष्पदी छन् । पहिलो, दोस्रो र चौथो पाउको अन्त्यमा अनुप्रास मिलेका छन् भने तेस्रो पाउमा सारकुरालाई भन्ने र चौथो पाउमा त्यसको पुष्टि गर्ने प्रयास भएको देखिन्छ ।

समग्रमा भन्नुपर्दा मुक्तकहरूले समयका घटनाक्रमलाई समाएका छन् । त्यस समयका विकृति र विसङ्गतिलाई आत्मखोलेर नै निर्धक्कसँग व्यङ्गात्मक शैलीमा प्रष्ट्याएका छन् । मुक्तकहरूले तत्कालिन घटनाक्रममा प्रस्तुत हुँदा समनताको चाहना, गरिबीको उन्मुलन, राष्ट्रियतामा सवलता आत्मनिर्भरता, नेपाली वीरतामा देखिएको ह्रासमा पुनःसवल वीरताको कामना, नैतिकवान समाजको सिर्जना लगायत थुप्रै धारणाहरू मुक्तकमा आएका छन् । मुक्तक पठन् योग्य र मनन् योग्य छन् ।« यस्ता साहित्यिक व्यक्तित्वको सुस्वास्थ, दिर्घायु हरेक क्षेत्रमा प्रगतिको कामना गर्दै उहाँकै एक मुक्तक सहित विदाहुन चाहन्छु –

ढुक्क छौं मान्छेले मान्छे खाँदा पनि निर्धक्क सहेका छौं
अझै ढुक्क छौं, सृष्टिकै नीचतम प्राणी भएका छौं
सोच अगाडी बढिसक्यो पशु अधिकारको कुरा उठिसक्यो
हामी अझै पनि मानव अधिकार नै खोजी रहेका छौं ।
(७० हामी, पृष्ठ २४)

धन्यवाद
२०७५ सालकार्तिक १७ गते, शान्तिचोक, कावासोती न.पा. वार्ड नं ७, नवलपुर, प्रदेश नं ४,
प्रतिकृयाको लागि ९८४१३३५९८३, snjaishy@gmail.com

प्रतिक्रिया दिनुहोस्