कथा : पिक्कर

0
50
Janardan Pudasaini Rajab

~राजव~

क्रेज लिस्टबारे तपाईंलाई थाहै होला । हो, यो काम मैले त्यसैको वेब पेज विचरण गर्दा भेटेको हुँ । त्यसमा विज्ञापित व्यहोरा हेरेपछि मैले आफू यो कामको लागि इच्छुक भएको व्यहोरा उसको इमेल बक्समा ड्रप गरेको थिएँ । त्यसको ३६ घन्टामा उसको कल आएको थियो ।

‘हेलो ? ‘

‘आर यु मिस्टर हेम ? ‘

‘यस् ।’

‘आई स योर इमेल दिस मर्निङ, सो यु आर इन्ट्रेस्टेड देन ।’

‘यस ।’

‘ओके गुड, व्हेन यु लाइक टु स्टार्ट ? ‘

‘यु टेल मि व्हेन यु लाइक मि टु स्टार्ट ।’

‘आई निड फ्रम टुमरो मर्निङ, क्यान यु ? ‘

मलाई यै सुन्ने आस थियो । सुन्नासाथ भनिहालेँ, ‘ओके ।’

उसलाई पनि मेरो हुन्छकै अपेक्षा रहेछ । सप्रसन्न भनेको थियो, ‘ह्याप्पी टु हिएर ड्याट ।’

ऊ ह्याप्पी त भयो होला नै । किनभने म उसले खोजेकै मान्छे भेटिएको थिएँ । यता म पनि प्रसन्न थिएँ । उसको प्रसन्नता सुन्नेबित्तिकै सोधेँ, ‘कत्ति बजे आउँ त ? ‘

‘बिहान आठ र नौको बीचमा आए हुन्छ ।’

‘ओके ।’

मेरो ओके सुन्नासाथ उसले झटपट सोधेको थियो, ‘बाई द वे कहाँ बस्छौ ? ‘

‘ब्राइटन ।’

‘नट फार फ्रम हेर, डु यु ड्राइभ ? ‘

‘यस ।’

‘भेरी गुड, देन सि यु टुमरो ओके ।’

‘ओके ।’

उसले नट फार फ्रम हेर भने पनि ब्राइटनबाट रुट टु लिएर वाल्डेन पाउन्ड एक्जिट हुँदै लिंकनस्थित उसको घरसम्म पुग्न मलाई झन्डै पच्चीस मिनेट लागेको थियो । मसँग सन् २००४ मोडेलको बाह्र वर्ष पुरानो होन्डा सिभिक कार थियो । त्यसलाई मैले ६ वर्षदेखि चलाउँदै थिएँ । कुनै अज्ञातले अर्थात् अरू कसैले ८० हजार माइल पुग्ने गरी चार वर्षसम्म कुदाएको यो कार मैले युज्ड कार डिलर अटो जोनबाट किनेको थिएँ । त्यस बेलासम्म राम्रै चलिरहेको त्यही कारमा म उसको घर पुगेको थिएँ ।

उसको घरको ढोकासम्म पुग्न लामो लन पार गर्नु पथ्र्यो । लगभग सवा एकडको हुँदो हो उसको लन । लनको लागि पालिएका हरिया घाँसहरू कार्पेट ओछ्याएको भान पर्ने गरी सुन्दर ढंगले एकनाससँग मुठारिएका थिए । कुल्चनै धक लाग्ने त्यस लनसँग जोडिएको पिचमा मैले आफ्नु धम्की लाग्न थालेको होन्डा सिविक्स बिसाएको थिएँ । र, लन छेउ छेउ ग्यारेजसम्म बनाएको ड्राइभ वे हुँदै घरतिर लाग्ने स्लेट ढुंगा ओछ्याएको बाटैबाटो उसको ढोका अगाडि पुगेर टक्क अडिएको थिएँ । म ठीक समयमा पुगेको थिएँ । उसले ८ र ९ बजेको बीचमा आइपुगे हुन्छ भनेको थियो ।

म उसको दैलोमा नौ नबज्दै पुगेको थिएँ ।

बोस्टनबाहिरका कंकर्ड, सदबरी, आक्टनजस्ता उपसहरहरू निकै शान्त र सम्भ्रान्त लाग्छन् । लिंकन तीभन्दा सम्भ्रान्त, शान्त र धनाढ्यहरूको सहर मानिन्छ । सामान्य मानिसहरू यहाँ बस्ने कल्पना पनि गर्दैनन् । काम नभएको भए म पनि यहाँ आइपुग्ने थिइन् ।

बूढोले फोनमा घरको ढोका बाहिर कल बेलको स्विच देख्ने छस्, आइपुगेपछि त्यही थिच्नु भनेको थियो । मैले त्यसै गरेँ । ढोकाको देब्रेतिरको फ्रेममा टाँस्सिएको स्विच डराउँदै हल्का थिचेँ । तर, भित्र घन्टी बज्यो बजेन बाहिर सुनिएन । मैले फेरि स्विच थिचिन । उभ्भिरहेँ मात्र । शिष्टता प्रदर्शन गर्ने यो एउटा तरिका थियो । म धैर्यपूर्वक त्यै तरिका अपनाइरहेको थिएँ । भित्र घन्टी अवश्य बजेको हुनुपर्छ भन्ने थियो मलाई किनभने मैले चाहिनेभन्दा बढी बल लगाएर किच्चिकै पर्ने गरी स्विच थिचेको थिएँ ।

लगभग पाँच मिनेटपछि ढोकाको खापा खुल्यो ।
एउटा बूढो देखियो । उसले मलाई देख्नासाथ सोधिहाल्यो, ‘यु मिस्टर हेम ? ‘
‘यस सर ।’

‘ओके भेरी गुड, वेट अ मिनट, आइ विल बि ब्याक ।’ भन्दै बूढोले ढोका बलात् ढपक्यायो ।
मलाई बूढोको यो व्यवहार भद्र लागेन । तथापि यसको असर सहँदै म बूढो ब्याक हुने क्षण कुर्न थालेँ ।
बाहिर निस्कन उसले लगभग १० मिनेट लगायो । त्यतिन्जेल मैले वरिपरिको वातावरण टोलाएर बिताएको थिएँ । वरपर चार पाँच एकडको फरकमा अरू पनि यस्तै सम्भ्रान्त घर थिए । तिनको ड्राइभवेमा थुप्रै कारहरू बिसाइएका थिए ।

तर, पनि त्यता कतै कुनै मानिस देखिएका थिएनन् । त्यस वरिपरिको वातावरणमा ममात्र एक्लो मानिस देखिँदो थिएँ । घरहरू थिए, कारहरू थिए, झ्यालहरू थिए तर मानिसहरू देखिएका थिएनन् । हाम्रोतिर भए यसलाई मृत सहरभन्दा हुन्थ्यो । तर, यहाँको सहरी स्थिति फरक छ । त्यसमाथि म जहाँ उभिरहेको थिएँ त्यो सम्भ्रान्तहरूको विशेष क्षेत्र थियो ।

बूढोको लनको मध्य भागमा म्यापलका पुराना मोटा रूखहरू थिए । म तिनै रूखका हाँगाहरूबाट ओर्लिएर लनको हरित चिल्ला घाँसमा आइपुग्ने लोखर्केहरूका चञ्चल गतिविधि नियाल्न थालेको थिएँ । लोखर्केबाहेक बेलाबेला लनमा कैला एकाध खरायो पनि चर्न आइपुग्थे । ती लनका घाँसका मुना यताउति पल्याकपुलुक हेर्दै फटाफट चर्थे । र असुरक्षित महसुस हुनासाथ फेरि लनको देब्रेतिरको गुराँसको झाडीतिर कुद्थे ।

लोखर्केको गतिविधि पनि यस्तै थियो । ती पनि लनको घाँसबाट फेरि म्यापलको बूढो रूखको फेदतिर कुद्थे । र, फेद हुँदै माथि म्यापलका हाँगाहाँगा चहार्न पुग्थे । फेरि त्यही क्रममा ती लनको घाँसमा झर्थे । तिनको यही क्रम चलिरहेको थियो । बूढो तयार भएर बाहिर ननिस्किनुन्जेल म यिनै प्राणीका यस्तै गतिविधिको रमाइलो हेर्दै थिएँ ।

तयार भएर निस्कन बूढोले ठ्याकै १० मिनेट लगायो । यस पटक बूढो कुकुरसहित निस्केको थियो । बूढोले दाहिने हातले लठ्ठी अँठ्याएको थियो र देब्रे हातले कुकुर बाँधेको डोरीको घिर्नी कसेर समाएको थियो । ढोका खुल्नासाथ बूढोभन्दा पहिले मोटो, लाम्चो भ्यागुते मुखको रात्कैले कुकुर निस्केको थियो । निस्कनासाथ दुई खुट्टाको भरमा उभ्भिएर त्यो मेरो जिउको बुइँ चढ्न खोज्दै थियो ।

म एकाएक आत्तिएर लनमा हामफालेँ । कुकुर दैलो अगाडि बनाएको खुट्किलो अगाडिको डिलमै घुक्न खोज्दो मुद्रामा मलाई एकदमसँग घुर्दै र बूढोको हातको घिर्नीको डोरी तान्न खोज्दै टक्क उभ्भियो । वास्तवमा बूढोले घिर्नीको डोरी अलि बढी छोडेको भए त्यसले आफ्ना खुट्टाका नंग्रा मेरो छातीमा गाड्न आइपुग्थ्यो । तै बचेँ । मेरो यो काँतर स्वभाव देखेर बूढो रिसाउला भन्ने लागेको थियो मलाई । तर, डरले आत्तिएको मलाई बूढोले सम्झायो, ‘नो नो हि इज फ्रेन्ड्ली, डन्ट वोरी ।’

त्यही शैलीमा उसले कुकुरलाई पनि सुनायो, ‘हि इज गुड म्यान एन्ड आवर म्यान ।’
कुरो बुझे झैं त्यसले पुच्छर हल्लायो र बूढोको घुँडो सुँघ्न थाल्यो ।
म अझै लनमा डरकै मुद्रामा थिएँ । बूढोले मलाई आश्वस्त पार्न खोज्दै भन्यो, ‘कम अन, टच हिम ।’

त्यसोभन्दा बूढो दैलो अगाडिको चार खुड्किला सुस्त ओर्लिएर लन छेउको स्लेट ओछ्याएको बाटोमा आइसकेको थियो । कुकुर मतिर पुच्छर हल्लाउँदै के–के न गरुँला झैं गरेर हेर्दै थियो ।

बूढोले त्यसो भनेपछि मैले हिम्मत गरेँ । भित्रभित्र काम्दै कुकुर नजिक पुगेँ । बूढोले भने झैं कुकुर मप्रति फ्रेन्ड्ली देखियो । अक्सर कुकुरहरू यस्तो व्यवहार प्रकट गर्न पुच्छर हल्लाउँछन् । सुँघ्न थाल्छन् । चाट्न खोज्छन् । त्यसले पनि मलाई यस्तै गर्न थाल्यो । बूढोलाई देखाउन मैले त्यसको टाउको सुम्सुम्याएँ । गर्धन कन्याएँ । कुकुर सञ्चो मानेर मसँग ढेप्पिन थाल्यो । बूढोले भन्यो, ‘सि हाउ फ्रेन्ड्ली हि इज ।’

तर कुकुरसँग म अझै भित्रभित्र डराउँदै थिएँ । तै पनि भन्न बाध्य भएँ, ‘एस हि इज ।’
‘ओके लेट्स गो नाउ ।’ बूढोले भन्यो । र, मैले त्यही अनुरूप गति लिन खोजेँ । विशेषगरी मेरो कामकै प्रयोजनको लागि चाहिने प्लास्टिकको पातलो झोला हिँड्दै मतिर बढाउँदै बूढोले भन्यो, ‘किप इट ।’
मैले बूढोको हातको त्यो झोला लिएँ । र बोलें, ‘थ्यांक यु ।’

‘बाइ द वे हि इज गुन्टर ।’ कुनै विशेष मानिससँग परिचय गराए झैं बूढोले गर्वोक्त भावमा मलाई आफ्नु कुकुरको नाम भन्यो ।

मैले फेरि चिल्लो अभिनय गरेँ । त्यसको लागि कुकुरको ढ्याब्रे टाउको सुम्सुम्याएँ र भनेँ,
‘हाइ गुन्टर ।’

गुन्टरले मेरो हाइको उत्तर दिन पुच्छर हल्लायो । र, मेरो नाडी चाट्न खोज्यो । म झस्केँ । बूढोले थाहा पायो । र भन्यो, ‘यु डन्ट ह्याव टु स्केर, आई टोल्ड यु हि इज फ्रेन्ड्ली ।’

-बूढोले दाहिने हातले लठ्ठी अँठ्याएको थियो र देब्रे हातले कुकुर बाँधेको डोरीको घिर्नी कसेर समाएको थियो । ढोका खुल्नासाथ बूढोभन्दा पहिले मोटो, लाम्चो भ्यागुत्ते मुखको रात्कैले कुकुर निस्केको थियो ।

म लज्जित जस्तो भएँ । मलाई नमज्जा नै लाग्यो । त्यसकारण बूढोलाई खुसी पार्न हिम्मत गरेँ । र, गुन्टरलाई हत्केलो चाट्न दिएँ । तर, गुन्टरले सुँघ्योमात्र । चाटेन । त्यसले सुँघुन्जेल पनि क्याप्प पार्छ कि भनेर म भित्रभित्र कामिरहेको थिएँ । तर, बूढोले देखोस् भनेर मैले राम्रो अभिनयका साथ अनुहार कुकुरप्रेमी बनाइरहेको थिएँ । र, गुन्टरको थुतुनोतिर निर्भीक हात बढाइरहेको थिएँ ।

मेरो अभिनयले काम गर्‌यो । बूढोको अनुहारमा उसको गुन्टरप्रतिको मेरो व्यवहार राम्रो लागेको झल्क्यो । त्यही गतिको प्रसन्न मुद्रामा बूढोले भन्यो, ‘भेरी नाइस हि इज गुड फर यु, लेट्स मुम्भ नाउ ।’

अगाडि मैले के गर्नुपर्ने हो क्रेजलिस्टको विज्ञापनमा उल्लेख नै थियो । त्यसकारण बूढोले मलाई त्यसबारे सम्झाउन आवश्यक थिएन । त्यसको लागि मैले बूढो र उसको कुकुर पछि पछि हिँड्नुपथ्र्यो । म त्यही गर्दै थिएँ । यतिन्जेलमा हामी लन पार गरेर सडकको स्पर्शमा आइसकेका थियौं । बूढोको हिँडाइ सुस्त थियो । कुकुर उसको अघिअघि थियो । तर, कुकुर बूढोको हातको डोरीको नियन्त्रणमा थियो ।

त्यसकारण कुकुर बूढोले घिर्नीबाट छोडेजत्तिको डोरीभन्दा पर जान सक्ने शक्तिमा थिएन । कुकुर भुइँ सुँघ्दै हिँड्दै थियो । बेलाबेला कुकुर रोकिन्थ्यो । त्यस्तो बेला हामी पनि रोकिन्थ्यौं । कुकुर हिँड्न थालेपछि हामी पनि हिँड्न थाल्थ्यौं । एक किसिमले कुकुरको नियन्त्रणमा थियो हाम्रो गति । यही चालमा कुनै गर्वोक्त जातिवादीले झैं आफ्नु कुकुरको जातबारे बूढोले मलाई यस्तो सुनाएको थियो, ‘यो इटालियन नश्लको नेपोलियन मिस्टिफ हो ।’

मेरो लागि सबै कुकुर एकै हुन् । तीप्रति मेरो कुनै ममत्व छैन । यो मेरो यथार्थ हो । तर, म बूढोको अगाडि यथावत् कुकुरप्रेमी बनिरहेको थिएँ । बूढोले मसँग फोनमा सोधेको पनि थियो, ‘डु यु लभ डाग ? ‘
‘यस सर ।’

मैले ‘नो’ भनेको भए बूढोले बाँकी बक्यौता केही नभनी फोन विच्छेद गर्ने थियो । र, म यहाँ डाकिने थिइनँ । तर, त्यस्तो हुन पाएन । मैले ‘यस’ भनेँ र मेरो ‘यस’ ले काम गर्‌यो । किनभने बूढोले ‘यस’ सुन्नासाथ भनेको थियो, ‘भेरी गुड ।’
म, बूढो, उसको लठ्ठी र कुकुर यथावत् गतिमा अगाडि बढ्दै थियौं । कुकुर दायाँ, बायाँ आफ्नु चासोतिर तन्कने, त्यता भेटिएको कुरो र भुइँ सुँघ्ने गर्दै हिँडिरहेको थियो । जुन कुनै पनि कुकुरको स्वभाव यही हो ।

उसको मिस्टिफले पनि यही गर्दै थियो । एउटा रूखको फेदमा टांग फट्याएर उसले पिसाब तुक्र्याएको थियो । हिँडेको २० मिनेटपछि बल्ल त्यसले टांग उचालेको थियो । उसले यो पिसाब फेर्ने प्रयोजनको पोजिसन लिएको थियो । यसरी पिसाब गरेपछि अब उसले दिसा गर्नेछ भन्नेमा हामी ढुक्क थियौं । हामी त्यसैको प्रतीक्षामा टहल्दै थियौं । वास्तवमा हाम्रो त्यो टहल्याइ कुकुरलाई दिसापिसाब गराउने प्रयोजनकै लागि थियो । त्यसकारण हामी कुन बेला यसले आची गर्ला र फर्कन पाइएला भन्ने हार्दिक अभिलाषामा हिँडिरहेका थियौँ ।

त्यसरी हिँड्दै अरू केही अगाडि बढेपछि कुकुर कसैको घरअगाडिको लनछेउ अडेको थियो । कुकुर अडेपछि हामी पनि अडिएका थियौं । कुकुरले घाँस सुँघ्न थालेपछि बूढोले भनेको थियो, ‘अब यसले हग्छ ।’
त्यसकारण हामी गुन्टरतिर आशावादी भएर घुर्न थाल्यौं । यही बेला बूढोले फेरि मसँग सोधेको थियो, ‘त्यसो भए तिमी नेपाली ? ‘

मैले भनेको थिएँ, ‘यस ।’
‘भेरी गुड ।’

यसोभन्दा बूढोको अनुहार नस्टाल्जिक प्रवृत्तिले चम्केको थियो । मलाई बूढोको त्यो चमक बुझिहाल्न मन लाग्यो । मैले बूढोलाई विस्तार सोधेँ, ‘नेपालबारे थाहा छ के यहाँलाई ? ‘
बूढोले आफ्ना आँखा नचाउँदै र चम्काउँदै भन्यो, ‘ओ ! भेरि वेल ।’
म झन् उत्सुक भएँ । सोधेँ, ‘हाउ ? ‘
‘आई ह्याव बिन देर ।’
‘हो र ? ‘
‘यस ।’
‘कहिले ? ‘

‘इअर्स एगो, इट्स अ लंग स्टोरी, धेरै समय लाग्छ भन्न ।’
बूढो यस्तै भन्दै थियो गुन्टर घाँस सुँघ्न छोडेर पिचपट्टि फर्कियो । र, कम्मर र पछाडिका दुई खुट्टा खुम्च्यायो ।
बूढोले घोषणा गर्‌यो, ‘अब हग्छ ।’

म आशावादी भएँ । बूढोका पनि आँखा गुन्टरको पुच्छरमुनि घोप्टिए ।
कुकुरले विष्ट्याउन थाल्यो । उसले लिँड झारेको देख्नासाथ बूढोले भन्यो, ‘हेर यु गो ।’
तीन चार लिँड विष्ट्याएपछि गुन्टर सिधा भयो । त्यसपछि बूढोले खरो शैलीमा मलाई भन्यो, ‘पिक नाउ ।’
बूढोको यो अर्डर सुन्नासाथ स्वर बाहिर नआउने गरी मैले हठात् क्रोध थुकेँ, ‘फक यु ।’

वास्तवमा बूढोलाई मेरो आवश्यकता यही समयको लागि थियो । यही कामको लागि बूढोले मलाई दैनिक दुई घन्टाको दरले पचास डलर दिँदै थियो । म त्यही डलर टिप्न बूढाले अघि यही प्रयोजनको लागि दिएको आफ्नू मुठीको पोल्थिन ब्याग फोएँ । त्यसभित्र आफ्नु दाहिने हात पूरै घुसारेँ । कुकुरको लिँडतिर निहुरेँ । र, पोल्थिन ब्यागभित्र भएको आफ्नु हातले घाँसमा भएका सबै लिँड एकै चोटी समाएँ । लिँडहरू झोलाभित्रै पर्ने गरी आफ्नु हातबाट झोला उल्ट्याएँ । यसो गर्दा मेरो हात बाहिरियो । लिँडहरू पोल्थिन झोलाभित्र भए । त्यसपछि झोला गाँठो पारेँ । र, हातबाट तल तुर्लुङ पारेर झोला झुन्ड्याएँ । बूढोले भन्यो, ‘भेरी गुड ।’

गुन्टरले पनि पुच्छर हल्लायो मानौं ऊ आफ्ना गुका लिँड बोकेकोमा मलाई धन्यवाद भन्दै थियो । यथार्थमा म बूढो र गुन्टर दुवैसँग भित्रभित्र रुष्ट थिएँ । तर, कामको रक्षा हेतु प्रकट रूपमा यो रुष्ट्याईं निकाल्न हुने स्थिति थिएन । त्यसकारण सबै क्रोध दबाएर बूढोको ‘भेरी गुड’को प्रत्युत्तरमा मैले भनें, ‘थ्याङयु सर । ‘
त्यही गतिमा बूढोले पनि भनिहाल्यो, ‘यु भेरी वेलकम योंग म्यान ।’

विशेषतः प्रिय पाठकहरूको जानकारीको लागि यहाँ भन्दै छु, यता कुकुरलाई आची गराएर त्यत्तिकै हिँड्न पाइन्न । कसैले यस्तो गरेको देखिन्न पनि । त्यसकारण कुकुर हुने भद्र, विशिष्ट र शिष्टहरू आफ्ना कुकुरका लिँड यसैगरी टिप्छन् । र, नजिकको सार्वजनिक ट्रयास बिनमा लगेर फाल्छन् । नभए घरकै ट्रयासबिनमा फाल्न लैजान्छन् । यो आम भद्र अमेरिकीहरूको चलन हो । यो चलनमा कुकुरप्रेमी सबै अमेरिकीहरू गर्व गर्छन् र नारा ठोक्छन् – किप अमेरिका क्लिन ।
कुकुर हगाएर फर्किन थालेपछि मेरो हातमा झुन्डिरहेको झोलाभित्रको लिँडमा आँखा लाँदै बूढोले बिलौनाको स्वरमा भन्यो, ‘म झुक्न सक्ने भएको भए यो काम म आफैं गर्थें ।’
यो सुनेर म अनायास तरल भएँ । र, पोखिएँ, ‘के भयो र यहाँलाई ? ‘
‘भर्खरै मेरो ढाडको अप्रेसन भएको थियो ।’
‘ए ! के समस्या थियो ? ‘
‘ट्युमर पलाएको रहेछ, त्यो झिकेर फालेपछि सञ्चो भएको छ, त्यो नगरुन्जेल निकै पीडा खप्नु पर्‌योे, अहिले पीडा त खप्नु पर्दैन, तर म झुक्न सक्दिनँ र हुँदैन पनि ।’
मैले अफसोस व्यक्त गरेँ, ‘सरी ।’
चलनअनुसार बूढोले भन्यो, ‘थ्यांक यु ।’

कुकुर गुन्टर, बूढो, उसको लठ्ठी र म त्यही गतिमा हिँड्दै छौँ । मेरो हातमा कुकुरको लिँडको झोला यथावत् झुन्डिएकै छ । बूढोले सुरुमै मलाई भनेको थियो, ‘झुन्ड्याई राख, घर पुगेपछि बाहिर राखेको ट्रयास क्यानमा फाल्नु ।’
त्यसकारण मेरो हात कुकुरको लिँडको झोला झुन्ड्याइरहेको थियो । र, म अत्यन्त घिनाइरहेको थिएँ । मेरो नाक खुम्चिएको थियो । मलाई यताउता देखिएका झाडीतिर त्यो झोला हुर्‌याउन पाए हुन्थ्यो भन्ने भइरहेको थियो । तर, बूढोले त्यसो भनेपछि मैले भनेको थिएँ, ‘ओके ।’

र आज्ञावत् सादर झोला हल्लाउँदै बूढोको गतिमा सुस्त हिँडिरहेको थिएँ । बूढो अगाडिको सिलसिलामा भन्दै थियो, ‘म हिप्पी युगमा जवान भएको मान्छे हुँ, त्यस बेला काउन्टर कल्चर मुभमेन्टको धुम चलेको थियो, मोडर्न हिप्पी त्यै आन्दोलनको उपज हो ।’

बूढोले यसरी सुनाउन थालेपछि मेरो गिदीको उत्सुक किरो चल्मलाउन थालेको थियो । र, त्यसको प्रभावमा मेरा ओठ फ्याट्ट खुलेका थिए, ‘कहिलेको कुरो हो यो ? ‘
जवाफमा बूढोले मेरो जन्ममिति पो सोध्यो, ‘व्हेन यु बर्न ? ‘
‘नाइनटिन एटी नाइन ।’

‘ओके त्योभन्दा एक्काइस वर्षअगाडिको कुरा हो, म भर्खर एलबाट अन्डर ग्रयाजुएट भएको थिएँ, काउन्टर कल्चर मुभमेन्ट र बिटहरूको धुम चल्न थालेको थियो, तीप्रति म उत्सुक बनिरहेको थिएँ ।’

बूढो भन्दै थियो, गुन्टर फेरि अडियो । बूढोको लठ्ठी पनि अडियो । म पनि उही तालले उभ्भिएँ । गुन्टर वरिपरि सुँघ्न थाल्यो । फेरि त्यसले आची गर्ने हो कि भन्ने मलाई डर लागेको थियो । तर, गुन्टरले मलाई दया नै गर्‌यो । उसले आची गरेन । एकछिनपछि बूढोको डोरी तन्काउँदै अघि लाग्यो । म हर्षित भएँ । यो हर्षमा मेरो मुखबाट अनायास निस्क्यो, ‘नाइस डग ।’

बूढो दंग पर्‌यो । भनिहाल्यो, ‘ओ ! नो डाउट एबाउट द्याट ।’
मैले फेरि हौसिँदै भनेँ, ‘हि लुक्स सेन्सेटिभ एन्ड एलर्ट टु ।’
‘ओ ! यस हि इज भेरी ल्वाएल, प्रोटेक्टिभ, एलर्ट, सेन्सेटिभ, लभ्ली ।’

गुन्टरबारे बूढोले आदिआदि थुप्रै फत्फतायो । बूढोले छोराछोरीको पनि यत्तिको प्रशंसा गर्दैनथियो होला । वास्तवमा बूढो आफ्नु कुकुरको प्रशंसा सुनिरहन चाहने रहेछ । मैले ‘तिम्रो कुकुरको आची पनि राम्रो रहेछ’ भनेको भए पनि उसले मलाई धन्यवाद भन्ने थियो । बूढो यत्ति हदसम्मको कुकुरप्रेमी बुझिँदै थियो । गुन्टर अहिले दायाँबायाँ कतै नहेरी बूढोले समाएको डोरीको नियन्त्रणमा हिँड्दै थियो । मैले फेरि कुकुरको अर्को विशेषताको प्रशंसा गर्दिएँ । यसपटक मेरो प्रशंसा गराइ कुकुरको रङबारे थियो । मैले भनेको थिएँ, ‘मलाई यसको कैलो रङ पनि मन पर्‌यो ।’
फुल्दै बूढोले भन्यो, ‘थ्यांक यु ।’

यस उपरान्त कुकुर प्रसंग नतन्कियोस् भनेर मैले बूढोलाई अल्मलाउन सम्झाएँ, ‘अगिन हिप्पीबारे केही भन्दै हुनुहुन्थ्यो ।’
‘ओ ! यस, नाइन्टिन सिक्स्टी एटको कुरा हो, एलबाट निस्केपछि म हिप्पी भएँ, यसमा मेरो गर्ल फ्रेन्डको हात छ, ऊ फेमिनिस्ट हिप्पी थिई, बिट संगीत र साहित्यको फ्यान थिई, ज्याक केरुयाकको आख्यान र गिन्स्बर्गको कविताको मर्मज्ञ थिई ।’ भन्दै उसले मलाई सोध्यो, ‘गिन्स्बर्ग पढेको छौ ? ‘
‘छैन ।’

मैले छैन भने जसरी नै बूढोले बलात भन्यो, ‘पढ्न पनि हुँदैन, बेकार छ, तर त्यसबेला म गिन्स्बर्गिएनहरूको फ्यान थिएँ, मलाई तिनीहरूको जस्तो आर्टलेस नेकेड, बलन्ट, विद्रोही, आफूजस्तै अराजक कविता मनपथ्र्योे, समय नै त्यस्तै थियो, अमेरिका युद्धमा होमिँदै थियो, हामी जस्ता कतिपय युवा हिप्पी भएर देश बाहिर निस्केका थियौं, फिलिपिन्स, थाइल्यान्ड, इन्डिया र नेपालको हिपिस्टर एरिया अर्थात् हिप्पीका स्वर्गहरू खुब चाहार्‌यौं, गाँजा चरेसको खुब मस्ती लियौं, सबैभन्दा सस्तो गाँजा चरेस नेपालमै पाएका थियौं, काठमाडौंको फ्रिक स्ट्रिटमा हाम्रो बास थियो, धेरै सस्तो लज थियो त्यो, त्यस लजको नाम अहिलेसम्म मलाई याद छ, ड्य्रागन लज थियो त्यसको नाम, हामी एक महिना त्यसमा बसेका थियौं ।’
‘निकै बस्नु भएको रहेछ ।’

‘हो त, फिक्री केही थिएन, दिमागमा आनन्द लिनेबाहेक अरू केही रसाएको थिएन, बस गाँजा, चरेसका पफ तान्यो, त्यसमाथि रक्सी र बियर चढायो गजब लाइफ बिताइएको थियो ।’

बूढो भन्दै थियो, म सोच्दो थिएँ– ४८ वर्षअगाडि नेपाल पुगेर बूढोले यस्तो मस्ती लिएछ, त्यही फ्रिक स्ट्रिटमा जन्मिएको म त्यस्तै उमेरमा यहाँ आएर उसको गुन्टरको लिँड सोहोर्दै छु । मेरो भित्रभित्र यस्तै तरलतरल भावुक वाक्यहरू खेलिरहेका थिए । बूढो आफ्नु मस्तिको कुरा गर्दै थियो । म आफ्नु कष्ट सम्झँदै थिएँ । गुन्टर लुरुलुरु अगाडि लस्किरहेको थियो । मेरो हातमा उसको लिँड राखेको झोला झुन्डी नै रहेको थियो । घर आई पुगेपछि ग्यारेजको छेउमा राखेको कालो ट्रयासबिन देखाउँदै बूढोले भन्यो, ‘थ्रो देर ।’

मैले त्यसै गरेँ । लिँडको झोला त्यसको ढक्कनी खोलेर भित्र फालेँ । बूढोले भन्यो, ‘गुड ।’
मैले स्वभावतः भनें, ‘थ्यांक यु ।’
बूढोले फेरि भन्यो, ‘यसैगरी ल्याएर सधैं त्यै बिनमा फाल्नु ।’
‘हस् ।’

बूढो गुन्टरलाई लिँदै घरको ढोकातिर लाग्यो । म बाहिरै उभ्भिरहेको थिएँ । ढोका खोलेर गुन्टरलाई घरभित्र हुल्दै बूढोले मलाई भन्यो, ‘सि यु टुमरो एट सेम टाइम ।’
मैले भनेँ, ‘ओके, सर ह्याव अ गुड डे । ‘

चार महिना बित्यो । मेरो काम जारी छ । सिर्फ गुन्टरको लिँड टिप्ने बेलामा एक पटक नाक खुम्च्याउँछु ।

प्रतिक्रिया दिनुहोस्