अनूदित कविता : बदला

0
46

~ताहा मुहम्मद अली~
अनुवाद : चन्द्र गुरुङ

कहिलेकाहीँ …म कामना गर्छु
भेट्न पाए हुन्थ्यो युद्धमा
त्यो मान्छे जसले मेरो बाबाको हत्या गरेको थियो
र हाम्रो घरलाई ध्वस्त पार्दै
निष्कासित गरिदिएको थियो मलाई
एउटा सानो देशमा
र यदि उसले मलाई मारिदियो भनेँ
म आराम पाउँथे अन्ततः
र यदि म तयार भए
म आफ्नो बदला लिने थिए ।

तर जब मेरो प्रतिद्वंदी प्रकट हुन्दा
यस्तो थाहा पायो भनेँ, कि
उसको एक आमा छ
उसको पखाईमा बस्ने
या एक बाबा छ जो राख्छ
आफ्नो दाहिने हात
आफ्नो छातिमा मुटु भएको त्यो ठाउँमाथि
भेट को लागि उनले तय गरेको समयमा
मात्रै केही पौने घण्टा जत्ति
जहिले उसको छोरो ढिलो आउँदा–
तेसो भए म उसको हत्या गर्दिन
मैले सक्ने भए पनि ।
यस्तै… म
उसको हत्या गर्ने छैन
यदि चाँडै यो प्रष्ट पारिन्छ भनेँ
कि उसको एक भाई वा बहिनीहरू छन्
जो उसलाई माया गर्छन् र निरन्तर भेट्ने आश गर्छन्
या उसलाई स्वागत गर्ने श्रीमती छिन्
र बच्चाहरू जो
उसको अनुपस्थितिलाई सहन सक्तैनन्
र जसलाई उसको उपहारले खुशी पार्ने गर्दछ
या यदि उसका छन्
साथी–सँगीहरू
छिमेकीहरू जसलाई ऊ चिन्दछ
या साथीहरू जेलका
या अस्पतलाको एकै कोठाका
या स्कूले दिनका सहपाठीहरू …
उसको बारेमा सोध्दै
र पठाउँछन् उसलाई सलाम ।
तर यदि ऊ
अगाडि पछाडि कोही नभएको–
रुखबाट काटिएको एउटा हाँगा जस्तो
आमा या बाबा नभएको
साथै भाई वा बहिनी पनि नभएको
पत्नीविहीन, निःसन्तान
र नभएको कुनै भाईबन्धु, छिमेकी या साथीहरू
सहयोगी या सहकर्मीहरू
तेसो भए म उसको दुःखमा केही थप्ने छैन
त्यस एक्लोपनमा–
मृत्युको कष्ट थप्ने छैन
र मरेर जानुको दुःख पनि ।
बरु म खुशी हुने छु
उसलाई बेवास्ता गर्दा, जब उसको छेउबाट हिँड्दा
गल्लीतिर– र म
आफैलाई शान्त पार्ने छु
कि उसलाई ध्यान नदिनु पनि
आफैमा एकप्रकारको बदला हो ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

प्रतिक्रिया दिनुहोस्