बा, झ्याङखोर्ने भैंसी कहिले आउँछ?

0
27

आमा बरन्डामा मकै सुकाउँदै हुनुहुन्थ्यो। बा भैंसीलाई कुँडो खुवाउँदै हुनुहुन्छ। बा भैंसीलाई ज्यादै स्याहार गर्नुहुन्छ। मेरो आमाले मलाई माया गरे जस्तै बाले पनि भैंसीलाई खाने कुरा खुवाउनुहुन्छ।

कहिले घाँस ,कहिले कुँडो कहिले पराल त कहिले के दिनुहुन्छ। भैंसी पनि मोटाउँदै गएको छ भन्दै आमा पनि खुसी मान्नुहुन्छ। सेतो बाल्टी भरी दुध बोक्दै होसियारीपूर्वक भान्छामा लैजानुहुन्छ।

आमा पनि त्यही दुधबाट कहिले दहि, घ्यू बनाउनुहुन्छ। भैंसीको दुधको घ्यू धेरै लाग्छ भन्दै आमाले बेला बेला भनेको सुन्छु। एक दिन बिराई आमाले मदानीले मोही निकाल्न्मुहुन्छ। म पनि आमासँगै मदानीको डोरी तान्न मन लागेकाले मही मथेको बेला आमासँगै बस्थेँ।

त्यहाँबाट घ्यार्र घुर्र आवाज आइरहन्थ्यो। बा आमा दुवै भैंसीलाई ज्यादै माया गर्नुहुन्थ्यो। भैंसीलाई माया गर्ने भएकाले म पनि खुसी हुन्थेँ।

भैंसी पनि ज्यादै ठूलो जस्तो लाग्थ्यो। ठूलो दारपात भएको मेरो भैंसीको नाम बाआमाले झ्याङखोर्ने राखिदिनुभएको थियो। भैंसी बसेको ठाउँबाट हिँड्दा पछाडिको खुट्टा तन्काउने गर्थी। जाडो याममा त लामो समयसम्म ऊ हिँड्न सक्थिनँ।

त्यो भैंसीको पाडो सानो थियो। बाले डोरी खोलिदिने बित्तिकै बुरूक्क उफ्रेर आफ्नी आमाको दुध चुस्न जान्थ्यो। पाडोले दुध चुस्दा भैंसी पाडोलाई चाटेर सुम्सुमाउने गर्थी। त्यसले आफ्नी आमाको दुध खाएको मैले टुलुटुलु हेर्थेँ। पाडो मलाई म जस्तै लाग्थ्यो। त्यसले पनि मैले दुध मन पराए झैं उसलाई पनि दुध मन पर्थ्यो। म पनि पाडो र भैंसी दुवैसँग चल्ने गर्थे। आमाले मलाई ज्ञानी बाबु भन्ने बित्तिकै म गोठमा गएर पाडो र भैंसी दुवैलाई ज्ञानी भन्थेँ।

तर एक दिन गाउँको कान्छो भन्ने मान्छेले हाम्रो पाडो फुकाएर लग्न लाग्यो। भर्‍याङबाट आत्तिएर म तल ओर्लिँदा लडेर घुँडा काट्यो।

आमा म लडेको देखेर दौड्दै आएर काखमा लिनुभयो। मेरो घुँडाबाट रगत आइरहेको थियो। तर, मलाई त्यो भन्दा चिन्ता पाडोको थियो। पाडो खोलेर कान्छाले लग्न लाग्दा त्यसकी आमा झ्याङखोर्ने कराइराखेकी थिइन्।

आमाले मेरो घुँडामा पट्टि बाध्नुपरने भन्दै हुनहुन्थ्यो। तर म आमाको काखबाट जबर्जस्ति ओर्लेर पाडो भएकोमा दौडिएँ। कान्छोले अगाडिबाट पाडो घिस्सार्दै थियो। म भने रुँदै पछाडिबाट पाडो तान्न थालेँ।

आमा आएर मेरो हात तान्नुभयो। पाडो पनि जान मानिरहेको थिएन। सायद उसलाई पनि उसकी आमाको र उसको साथी मलाई छोड्न गाह्रो भएको थियो। सायद पाडो पनि रुँदै थियो होला। बिस्तारै आफ्नै आवाजमा आमालाई बोलाएको जस्तो लाग्यो। तर, त्यो कान्छाले केही मतलब नगरी पाडो लिएर गयो।

पाडोकी आमा यदि डोरीले नबाँधिएको भए पक्का पनि त्यो कान्छोबाट आफ्नो पाडो बचाउँथिन् होला जस्तो लाग्यो। म फेरि आमाबाट फुत्केर भैंसीको डोरी खोलिदिन भनि गएँ। तर, त्यो डोरी मैले खोल्न सकिनँ। म र भैंसी भने पाडो गएको बाटो हेरेर बस्यौँ।

केही छिनपछि म झ्याङखोर्ने भैंसीलाई भेट्न गएँ। उससँग चल्न खोजेँ। तर, उसले पटक्कै मलाई मन पराईनँ। म पनि रूदै घर तिर लाँगे।

यसरी दिन बित्दै थिए। म र भैंसीसँगै चल्छौँ। हामी खेलेको आमाले थाहा पाएपछि भने म लुकेर भैंसीलाई भेट्न जानुपर्थ्यो। भैंसीको गोबरले लुगा फोहर बनाएको भन्दै कहिले काँही पिटाइ पनि खान्थेँ।

आजकल भैंसीले एक छाक मात्र दुध दिन थालेको थियो। पहिला पहिला बा उसको धेरै ख्याल गर्नुहुन्थ्यो। बिहानै उठेर घाँस दाना पानी दिनुहुन्थ्यो। तर, आजकल बा भैंसीको कुरा मात्र काट्नुहुन्छ। त्यसलाई गाली गर्नुहुन्छ। मलाई भने भैंसीलाई गाली गरेको फिटिक्कै मन पर्थेन।

गोठबाट भैंसी बेस्सरी चिच्याएको सुनेर आमाले बालाई सोध्नुभयो, ‘आज भैंसीलाई घाँस हालिदिनुभएन क्या हो? खुब चिच्याइरहेको छ त ?’

‘हालेको होनी ज्यामराजलाई। जति खाएनी नपुग्ने त्यो। कराइराखोस्। दुध सुद दिनु छैन? न राँगो लिन्छ। खाना मात्र खोज्छ,’ बाले झर्किँदै भन्नुभयो।

मलाई बाको बिस्वास लाग्न छोडेको थियो। बा पहिला जस्तो भैंसीलाई मन पराएको जस्तो लाग्थेन।

‘आमा भैंसी अघाएको कसरी थाहा पाउने?’

‘बाबु त्यसको दुवै तिर पेटको माथि खाल्टो कत्रो छ त्यहि हेरेर थाहा पाउने।’

म भैंसीलाई हेर्न गएँ।

भैंसीको दुवै तिरको पेटको माथि खाल्टो थियो। त्यो पनि ठूलो खाल्टो थियो। मैले आएर बालाई भैंसी भोकै रहेको र घाँस पनि नभएको भनिदिएँ। बा अचम्म मानेर भैंसी भोकै कसरी भयो भनि उल्टै सोध्नुभयो। मैले पनि आमाले सिकाएको भनिदिएँ। बा खित्का छोडेर हास्नुभयो।

‘धेरै बाठो पो भएछ केटो त। त्यो खाल्टो त जति अघाए पनि पुरिँदैन। बुझिस्।’

मैले बालाई घाँस हाल्न भनेर ताने। बा बेन्चबाट उठ्नु भएन।

‘कति जिद्दी गर्छस्? भर्खर त घाँस हालेको। एक छिनपछि हालाम्लानि। जा त। मलाई एक छिन आनन्दले रेडियो सुन्न दे।’

म त्यहाँबाट भैंसी भएको ठाउँमा गएँ। बारीमा भएको दुबो घाँस हातले उखलेर भैंसीलाई दिएँ। मैले उखालेको घाँस भैंसीको मुखसम्म पुग्दा थोरै हुन्थ्यो। हरेक चोटी उखाल्दै मुठीको घाँस भैंसीलाई दिएँ। बेला बेलामा उसको पेटको माथिको खाल्टो पुरिन्छ कि नै भनेर हेर्न पनि थाँले।

मैले जति दुःख गरे पनि भैंसी अघाएन। भैंसीको खाल्टो पुरिएन।

यसरि बेलुका भयो। लुगाभरि माटो लागेको थियो। आमाले फेरी गालि गर्दै मेरो लुगा फेरीदिनुभयो। आमाले खाना खान बोलाउनुभयो। बालाई खाना पस्किनुभयो। मेरो खाना चाही जहिले आमाले मुछिदिनुहुन्थ्यो। आज पनि आमा मेरो खाना मुछ्दै हुनुहुन्छ।

त्यसपछि भने म आफैं खान्थेँ। जहिले दुध मेरो कुइनाबाट झरेर भुइँ र मेरा लुगामा लाग्थे। मैले माम खाँदा सुरुप सुरुप आवाज आउँथ्यो। पहिला पहिला दुई पटक नै भैंसीले दुध दिँदा बा ले पनि मैले जस्तै गरेर खानुहुन्थ्यो। तर, आजकल बालाई दुध नै पुग्दैन।

खाना खान मन नलागे झैं बा बोल्नुभयो। ‘ह्या यो भैसी त्यो कान्छालाई पठाईदिनुपर्‍यो। दुध पनि दिँदैन। बाली पनि जादैन। जति खुवाए पनि करैराख्छ। खर्च र दुःख मात्र। त्यसले बजार लगेर बेच्छ। हाम्रा आँखाले देख्नु पनि पर्दैन।।’

‘एक चोटी बाली गयो भनेत दुध त धेरै दिन्छ के गर्नु। घ्यू पनि मस्त लाग्छ। तर बाली नै गएन,’ आमाले थप्नुभयो।

म कराएँ, ‘मेरी झाङखोरी कसलाई दिने भन्नु भाको बा। त्यो कान्छाले हाम्रो पाडो लगेर ल्याइदिएन।’

आमा बा तिर हेर्दै चोर औला ले चुप चुप भन्दै हुनुहुन्थ्यो।

‘बाबु छिटो खाना खा। भैंसीलाई सन्चो भएन त्यै भएर कान्छाकोमा उपचार गर्न पठाउने भनेको नि। त्यहाँ लगेपछि सन्चो हुन्छ। बुझ्यौ?’

म आमाको कुरा बिश्वास गर्थेँ। आमाले कहिल्यै ढाट्नुहुन्न जस्तो लाग्थ्यो। भैंसीको शरीरभरी घाउ पनि थियो। त्यही भएर होला भन्ने सोचेँ।

मैले पनि टाउको हल्लाएर बुझेको संकेत गरेँ।

भोलिपल्ट बिहान मैले किनेको फिरफिरे लगेर भैंसीको पुच्छरमा बाँधिदिए। मेरो बालाई भैंसीले दुध नदिएर लात्ताले हानेर भुइमा लडाएको दिनदेखि मलाई भैंसीको नजिक नजान भन्नुहुन्थ्यो।

त्यो बेला बाले त्यसलाई दुध दुहुने बाल्टीले हानेर दुध दुहुने बाल्टी कुच्चिएको थियो। बाले त्यो भैंसीलाई पिट्दा मैले बाको सुरूवाल तानेर नपिट्नु भन्दा बाले धकेलेर गोबरमा म लडेँको थिएँ।

भैंसीलाई पिट्दा केही नबोल्नुभएको आमा मलाई धकेल्दा भने आमा बालाई कराउँदै हुनुहुन्थ्यो।

भैंसीको शरीरमा भएका बुझीहरूलाई आमाले जुम्रा किर्ना भन्नुहुन्थ्यो। मेरो टाउकोमा हुने भन्दा ठूला जुम्रा थिए। मैले भने भैंसीका ठूला जुम्रा टिप्थेँ र इट्टामा राखेर अर्को इट्टाले किचिक्क भन्दै मारिदिन्थेँ। कति पटक त जुम्रा मेरा साना औँलाबाट फुत्केर खस्थ्यो। भैंसीको गोठभरी गोबर र फोहर भएकाले जुम्रा खसेपछि हराउँथ्यो।

त्यसको जुम्रा कहिलेकाहीँ मलाई पनि सर्थ्यो। त्यसले टोकेको ठाउँमा धेरै दिन दुख्थ्यो। मेरो जुम्रा मार्दा मलाई आनन्द लागे जस्तै भैंसी पनि आनन्द मारेर आँखा चिम्लन्थ्यो। म भैंसीको सिग हल्लाउँथे। तर त्यसले मलाई कहिल्यै पनि हान्थेन।

कति पटक त्यसको आँखा मेरा हातले छोपिदीन्थे। मलाई झ्याङ्खोर्ने भैंसी ज्यादै मन पर्थ्यो। कहिलेकाहीँ त भैंसीको थुन निचोरेर दुधको सिर्का आफ्नो मुखमा पार्थेँ। बालाई दुध नदिने भैंसी मलाई भने दुध दिन्थ्यो। कति पटक त थुन तान्दा पनि दुध आउँथेन।

एक दिन दिउँसो बाले भनेको कान्छो हाम्रो घरमा आयो। झ्याङखोर्ने भैंसी पनि हेर्‍यो। बा र त्यो कान्छाको धेरै लामो छलफल भयो। कति कुरा मैले बुझ्नै सकिनँ। आँखा र कान ठूलो ठूलो पारेर सुने पनि बुझिनँ।

घरि घरि पैसाको कुरा पनि भएको थियो। अस्तिनै मलाई उपचार गर्दा पनि मेरो आमाले डाक्टरलाई पैसा दिएको देखेको थिएँ। त्यही कुरा होला भन्ने लाग्यो। तर, यहाँ त कान्छाले बालाई पैसा दिएको थियो।

यो कुरा भने मलाई अचम्म लाग्यो। झ्याङखोर्ने भैंसी बाले फुकाइदिनुभयो। कान्छोले भैंसी घिसार्न लाग्यो। तर, भैंसी जान मानेन। म भने भैंसीलाई सम्झाउदै थिएँ।

‘झ्याङखोर्ने तिमी जाउ न। तिमीलाई सन्चो छैन। यो कान्छो दाई तिम्रो डाक्टर हो। तिमीले औसो खाएपछि सन्चो हुन्छ। तिमीले आफ्नो पाडो पनि लिएर आउ है। यही कान्छा दाईले लगेको छ,’ मैले भैसीलाई सम्झाएँ।

तर भैंसी जान मानेन। बा आमा भने मलाई कतै नजान भनि खेतबारी तिर लाग्नुभयो। कान्छोले अर्को मान्छे पनि बोलायो। त्यो नयाँ मान्छेले मेरो घरको छेउमा रहेको बाँसको लट्ठी लिएर झ्याङखोर्नेलाई पिट्न थाल्यो। मलाई भने रिस उठ्यो।

‘झ्याङखोर्ने बिरामी छ भन्ने तपाईँलाई थाहा छैन। अझ पिट्ने?,’ मैले गाली गरेँ।

त्यो मान्छे भने मेरो कुरा नसुनी पिट्न थाल्यो। पिटाइ खाएपछि भैंसी अगाडि हिड्यो। म पनि तिनीहरुको पछि पछी लागेँ। ती मान्छेले मलाई फर्किन भन्दै थिए। तर, म भने मान्दै मानिनँ। केहि समयमा कान्छोको घर आयो।

कान्छाको आँगनमा त थुप्रै भैंसी थिए। तर, कान्छाले मलाई डाक्टरले जाँच गरेजस्तो भैंसीलाई केही पनि गरेन। उल्टै मेरो भझ्याङ्खोर्नेलाई पिटेर दुःख मात्र दिएको थियो। केही छिनमा एउटा गाडी आयो। सबै भैंसी त्यही गाडीमा हाले। अन्तिममा मेरो झ्याङखोर्ने अटेन।

कोही कता मुख फर्काएर कोही कता मुख फर्काएर गाडीमा बाँधेका थिए। कोहीलाई त खुट्टामा पनि बाँधेका थिए। मेरो झ्याङखोर्ने भैंसी पनि गाडीमा हाले। मेरी भैंसीलाई पनि टाउको हल्लाउन नमिल्ने गरेर बाँधे। मेरा बाबाट भन्दा पनि धेरै पिटाइ खाइसकेको झ्याङखोर्ने सास फेर्न गाह्रो भए जसरी स्या स्या गर्दै मुखबाट फिज अनि आँखाबाट आँसु निकालेको थियो।

म भने झ्याङखोर्ने सन्चो भएर आउँछ भन्ने सोचेर केही पनि बोलिनँ। केही समयमा गाडी हिड्यो। त्यो गाडीसँगै मेरो झ्याङखोर्ने पनि गयो। बिस्तारै गाडी देखिन छोड्यो। म पनि आफ्नो घरतिर लागेँ।

बा टोपीले पसिना पुछ्दै त्यै टोपीले हम्किदै हुनुहुन्थ्यो। मलाई देखेर कहाँ गएको भन्दै सोध्दै हुनहुन्थ्यो। म भने त्यसको उत्तर नै नदिई उल्टै बालाई प्रश्न सोधेँ।

‘बा हाम्रो झ्याङखोर्ने कहिले आउँछ? त्यो कान्छाले त गाडीमा अन्तै लग्यो।’

“केही दिनमा आउँछ बाबु। धेरै बिरामी भएछ। त्यही भएर राम्रो ठाउँमा उपचार गर्न पठाकोनी।”

“बा कति धेरै पिटेको त्यसले त झ्याङखोर्नेलाई। मलाई भने रिस उठेको थियो।”

“हो र ? केहि भानिनौता त्यसरी पिट्दा ?

“भनेकोनी सुन्दै सुनेनन्।”

म झ्याङखोर्ने बस्ने गोठ तिर गएँ। गोठ रित्तो थियो। मैले जुम्रा मार्ने इट्टा भने त्यँही थिए। आजदेखि मैले खेल्ने साथी थिएन। केहि दिन पछि झ्याङखोर्ने आउने आसमा म भने घर तिर फर्किएँ। तर थुप्रै दिन बित्दा पनि झ्याङखोर्ने आएन। झ्याङखोर्नेको पुछारमा बाँधेको फिरफिरेको पंखा जस्तो टुप्पो आँगनमा खसेको रहेछ।

त्यसलाई टिपेर भोलि झ्याङखोर्ने आएपछि बाँध्ने भनि सिरानी मुनि लगेर राखे। बा आमालाई झ्याङखोर्ने कहिले आउँछ भनि सोध्दा जहिले भोलि आउँछ भन्नुहुन्थ्यो। तर आमा बाले भनेजस्तो झ्यांगखोरने कहिल्यै आएन।

छिमेकी ठूलोबा हाम्रो घरमा आउनुभयो। बा र ठुलोबाको छलफल चल्यो।

“हेर्नुन दाइ मैले झ्याङखोर्ने बेचिदिए नि। बाली पनि गएन। दुध पनि एक साँझ मात्र दिन्थ्यो। मासुमा बेच्दा त घाटा लाग्यो।”

ठूलो बा ले भन्नुभयो, ‘मोरा भैंसी त्यसरी पालेपछि बाली जान्छाता? तेरो गोठ भुसुना र गोबरले भरिएको हुन्थ्यो। मन लागे खाने कुरा दिन्थिस् मन नलागे दिन्थिनस्। भैंसीलाई बाली जान त पौष्टिक आहारको आवश्यकता हुन्छ। शरीर जुम्रा ,किर्नाले ,लुतोले भरिएको थियो। धन्न बाँचेको थियो।

दुध दिएन भनेर आहारा घटाउने तै होस्। त्यसको पाप लाग्नुपर्ने तलाई त। त्यसको पनि त आत्मा हुन्छ नि। त्यसको आत्मा रुवाइस तैले। त्यसरी दुःख दिएर पाल्न भन्दा बेचेकै राम्रो।”

“अनि अर्को कुरा बच्चा बच्चीलाई झुट कहिले बोल्नुहुँदैन। एक दिन उनीहरुको तिमीहरुमाथि हुने बिश्वास उड्न सक्छ। उनीहरुलाई सानैदेखि मानसिक असर पर्न सक्छ। कमसेकम भैंसी कहिले पनि आउँदैन भनि भनिदिएको भए केहि दिन झगडा गर्थ्यो होला। पछि बिर्सी हाल्थ्यो नि। हेर त अझै मलाई पनि त्यै भैंसीको बारेमा सोध्दै थियो।”

मैले बल्ल बुझेकी झ्याङखोर्ने भैंसी कहिल्यै आउँदैन। त्यहाँबाट उठेर सिरान मुनिको फिरफिरे लगेर बाटोमा फालिदिएँ। मलाई मन भित्र पिँडा भैरह्यो। मैले आफूले सक्ने जति झ्याङखोर्नेलाई बचाउने प्रयास पनि नगरेको सम्झेर पेट पोलिरह्यो। त्यो कान्छालाई उल्टै झ्याङखोर्ने लैजान सहयोग गरेकोमा आफूलाई कहिल्यै माफी दिन सकिनँ।

प्रतिक्रिया दिनुहोस्